नक्कली डाक्टरले चलाएको बझाङस्थित मेडिकलमा छापा
बझाङ २६, माघ । पछिल्लो समय नक्कली डाक्टरको चर्चा सेलाएको थियो । सर्टिफिकेटका विषयमा छानविन सुरु भएपछि डाक्टरहरुको स्वंय सचेत भएसंगै चर्चा सेलाएको हो । तर फेरि बझाङमा एक नक्कली डाक्टर भेटिएका छन् । उनले सञ्चालन गरेको मेडिकलमा स्थानीय प्रशासनले छापा मारेको छ ।
बझाङमा नक्कली डाक्टरले सञ्चानल गरेको मेडिकलमा प्रशासनले छापा मारेको छ । गएको १० वर्षदेखि सदरमुकाम चैनपुरमा मेडिकल सञ्चालन गरेका प्रणय मण्डल डाक्टर नभइ नक्कली डाक्टर रहेको खुलेको हो ।
मण्डलले सञ्चालन गरेको मेडिकलमा मंगलबार जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले छापा मारेको हो । मण्डल भारतीय नागरिक हुन् । भारत कलकत्ता घर भएका मण्डलले भगवती हेल्थ क्लिनिक नाम दिएर गैरकानुनी रुपमा मेडीकल सञ्चालन गर्दै आएका छन् ।
अध्यायनको कुनै पनि प्रमाण पत्र नभएका मण्डलको औषधि व्यवस्थापन विभागमा समेत मेडिकल दर्ता भएको छैन । मण्डलले नक्कली प्रमाण पत्र बनाई आफू डाक्टर भएको भ्रम गरेर उपचार तथा औषधि बेच्नेगरेका थिए ।
मण्डलमाथि अनुसन्धान सुरु भएको र कारवाही गरिने बझाङका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए ।