के हो मानव अंग प्रत्यारोपण ? के छ नेपालमा व्यवस्था ?
नेपालमा अहिलेसम्म मानव अंग प्रत्यारोपण ऐन भए पनि नियमावली अभावमा नातेदारले मात्र अंग दिन पाउने व्यवस्था थियो । तर, ‘ब्रेनडेथ’ भएकाको अंग पुनः प्रयोगमा ल्याउन पाइने व्यवस्था भने थिएन । सरकारले मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली–०७३ पारित गरेसँगै नेपालमा ‘ब्रेनडेथ’ भएका मानिसबाट विभिन्न अंग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपणको बाटो खुलेको हो । नियमावली पारितसँगै दुर्घटना तथा अन्य कारण हुने ‘ब्रेनडेथ’ (मस्तिष्क मृत्यु) मानिसको अंग प्रत्यारोपण गर्न पाइने भएको छ ।
विभिन्न तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै हरेक वर्ष १ हजारभन्दा बढीको ‘ब्रेनडेथ’ पछि मृत्यु हुने गरेको छ । ‘ब्रेनडेथ’ पछि मृत्यु भएकाबाट दुईवटा मिर्गौला, दुई फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, आँखालगायत आठवटा मानव अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ । ‘ब्रेनडेथ भएकामध्येबाट २० प्रतिशतको मात्र अंग निकाल्न सकियो भने पनि करिब ४ सयजनाको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
मानव अंग प्रत्यारोपक केन्द्रले ‘ब्रेनडेथ’ भएकाको अंग सुरक्षित तवरले निकाल्ने र तत्काल प्रत्यारोपण गर्न स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरिसकेको छ ।
के हो मानव अंग प्रत्यारोपण ?
मानव अंग प्रत्यारोपण भनेको जीवित व्यक्ति वा मस्तिष्क मृत्यु भएको निश्चित समयभित्र शरीरभित्र सक्रिय र स्वस्थ रहेकोे अंगहरू दान गरी अर्को रोगीको शरीरमा काम नलाग्ने अंगको सट्टामा विशेष प्रविधिमार्फत विशेषज्ञ चिकित्सकले प्रत्यारोपण गर्नु हो ।
मानव शरीरको अंगदान वा प्रत्यारोपणले हरेक वर्ष हजारौं मानिसलाई नयाँ जीवन दिइरहेको छ । एउटा स्वस्थ व्यक्तिले वा मस्तिष्क मृत्युपछि आफ्ना शरीरबाट खेर जाने अंगहरू दान गरेर अर्को रोगी व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग विभिन्न रोगबाट ग्रस्त बिरामीलाई प्रत्यारोपण गरी उनीहरूको ज्यान बचाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९५४ डिसेम्बर २३ का दिन अमेरिकाको बोस्टन सहरमा रहेको बहिगंम हस्पिटलका डा. जोसेफ मुर्रे र डेभिड ह्युमले पहिलोपटक सफल मिर्गाैला प्रत्यारोपण गरेपछि मानव अंग प्रत्यारोपणको इतिहास सुरु भएको थियो । त्यसपछि क्रमशः सन् १९६३ मा फोक्सो, १९६६ मा प्याङक्रियाज, १९६७ मा कलेजो मुटुलगायतका मानव अंग सफलतापूर्वक प्रत्यारोपण गर्न डक्टरहरू सफल भएका थिए ।
नेपालमा मानव अंग प्रत्यारोपणको सुरुवात
संवत् २०५५ सालमा तत्कालीन राजा वीरेन्द्रले नेपालमा मानव अंग प्रत्यारोपणका लागि कानुनको आवश्यकता महसुस गरी मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ जारी गरेका थिए । तर, विभिन्न बाधा अवरोध र स्पष्ट कार्यनीति बनाउन नसकेपछि यो ऐन निष्क्रियजस्तै भयो ।
नेपालमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएपछि निष्क्रिय रहेको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई २०७२ फागुन १३ गते संसद्ले संशोधन गर्न बनेको विधेयक पारित गरेपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको थियो ।
त्यसलगत्तै २०६७ मा तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र स्वास्थ्य सचिव प्रा.डा. प्रवीण मिश्रको नेतृत्वमा न्याम्सका अध्यक्ष प्रा.डा विनयकुमार शर्मासहितको टोलीले नेपालमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्न सरकारलाई सुझाव दिएको थियो ।
२०६८ मा सुझावअनुसार स्वास्थ्यमन्त्री राजेन्द्र महतो र स्वास्थ्य सचिव प्रा. डा. प्रवीण मिश्र र वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलगायतको टोलीले भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गरेको थियो ।
नेपालमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएपछि निष्क्रिय रहेको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई २०७२ फागुन १३ गते संसद्ले संशोधन गर्न बनेको विधेयक पारित गरेपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको थियो ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नयाँ विधेयकमा मस्तिष्क मृत्युबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था गरिए पनि केही अप्ठ्यारा रहेका थिए । डा. श्रेष्ठले त्यतिखेरै सरकारले जतिसक्यो चाँडै नियमावली बनाएर प्रत्यारोपण गर्नुपर्ने बताएका थिए
संयोगवश स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्यमन्त्री गगनकुमार थापाले तीन महिनाभित्र नियमावली बनाई कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।
के छ नियमावलीमा ?
नेपालमा अहिले मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पारित भइसकेको छ । यस नियमावली आएपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको कलेजोसहित आठ मानव अंग प्रत्यारोपण गर्ने कानुनी बाटो खुलेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट नियमावली पारित भएपछि अब नेपालमा दुवै मिर्गौला, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा र आँखा दान तथा प्रत्यारोपण गर्न कानुनी बाटो खुला भएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट नियमावली पारित भएपछि अब नेपालमा दुवै मिर्गौला, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा र आँखा दान तथा प्रत्यारोपण गर्न कानुनी बाटो खुला भएको छ ।
नयाँ नियमावलीकोे व्यवस्थाअनुसार अंगदान गर्ने व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक प्रत्यारोपण गर्ने कार्यमा संलग्न हुन पाउँदैनन् । त्यस्तै यदि मृतकले जीवित छँदै आफ्नो शरीरको अंगदान नगर्ने लिखित इच्छा व्यक्त गरेमा परिवारका सदस्यले उसको शरीरको अंगदान गर्न नसक्ने व्यवस्थासमेत नयाँ नियमावलीमा गरिएको छ ।
नेपालमा मानव अंग प्रत्यारोपण गर्नका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस चितवन तोकिएको छ । तर, अहिलेसम्म भक्तपुरबाहेक अन्य अस्पतालमा मिर्गौलाबाहेक अन्य अंग प्रत्यारोपण हुन सकेको छैन ।
कसले गर्न सक्छन् अंगदान ?
नयाँ ऐनले अंगदान गर्न इच्छुक र अंग ग्रहण गर्ने व्यक्ति वा नातेदारको परिभाषित गरेको छ । जसमा परिवारका सदस्य, नजिकको नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैले सजिलै अंगदान गर्न सकिनेछ ।
परिवारका सदस्य, नजिकको नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैले सजिलै अंगदान गर्न सकिनेछ ।
ऐन अनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासूससुरा तोकिएको छ ।
त्यस्तै नजिकको नातेदारअन्तर्गत अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठान समेटिएका छन् ।
तर, धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तीमा २ वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । त्यस्तै नयाँ संशोधित ऐनअनुसार दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदारले समेत आपसमा मिलेर अंगदान (आपसमा साट्न) गर्न पाउनेछन् । साथै कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषण गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिनेछ ।
के हो मस्तिष्क मृत्यु ?
संशोधित विधेयक २०७२ ले मस्तिष्क मृत्युको अर्थ मस्तिष्क स्टेम अर्थात् ब्रेन स्टेमको मृत्यु भनी परिभाषित गरेको छ । जसको अर्थ मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा पुनः काममा आउन नसक्नेगरी अपरिवर्तनीय क्षति भएको अवस्था हो ।
ऐनमा गरिएको व्यवस्थाअनुसार मस्तिष्क मृत्युको घोषणा बिरामीको स्वास्थ्य परीक्षणमार्फत गरिनुपर्छ ।
स्वास्थ्य परीक्षणका लागि बिरामीको शरीरमा प्राकृतिक रूपमा श्वासप्रश्वास नरहेको हुनुपर्छ । साथै बिरामीको परिवारको सदस्यको अनुमनि लिनुपर्ने यदि परिवार सदस्य सम्पर्कमा नभएमा सम्बन्धित स्वास्थ्य संस्था प्रमुख वा जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको कर्मचारीबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
तर रोग निदान नभएको, शरीरको न्यूनतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम भएको, न्यूनतम रक्तचाप सिस्टोलिक ९० मिलिलिटर मर्करीभन्दा कम भए, आन्तरिक ग्रन्थीमा असन्तुलन भए, बिरामी लठ्ठ पार्ने औषधिको प्रयोगबाट मुच्र्छा परेको अवस्थामा चिकित्सकले बिरामीको मस्तिष्क मृत्यु भए नभएको परीक्षण गर्न पाउँदैनन् ।
अंगदानमा चेतनाको कमी
मानव अंगदान गर्ने व्यक्ति कमजोर र मरेपछि स्वर्ग जान पाइँदैन भन्ने पुरातनवादी अन्धविश्वास सोच हाम्रो समाजमा रहेको पाइन्छ । अंगदान गरेमा अर्को जन्ममा दान गरेको अंगविना जन्मने, आफ्नो अंग प्रत्यारोपण गरेको मान्छेले पाप गरे पापको हिस्सेदार बन्नुपर्ने जस्ता अन्धविश्वास अझै रहेको छ । तर हिन्दु, बुद्धिस्ट, मुस्लिम, क्रिश्चियन, इस्लाम धर्मग्रन्थमा अंगदान गर्न हुँदैन भन्ने कतै उल्लेख नभएको डा. श्रेष्ठ बताउँछन् ।
डा. श्रेष्ठका अनुसार अझै नेपाली जनमानसमा अंगदानबारे चेतनाको स्तर कम भएकाले सरकारले तुरुन्त चेतनामूलक कार्यक्रम अगाडि ल्याउनुपर्ने बताउँछन् । कसैको ज्यान बचाउन अंगदान गर्नु त पुण्य काम हो तर यसबारे धेरै भ्रम रहेकाले यो हटोस् भन्ने मेरो चाहना हो ।
अंगदान गरेका व्यक्तिहरूको दान नगरेको तुलनामा अझ स्वस्थ्य हुने र आयु धेरै हुने विभिन्न अध्ययनहरूले प्रमाणित गरिसकेकोले सबैमा ढुक्क भएर खेर जाने अंगदान गर्न डा. श्रेष्ठको अनुरोध छ ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका अनुसार एकजना मस्तिष्क मृत्यु भएकाहरूको अंगबाट १० जना बिरामीलाई बचाउन सकिन्छ । जसमा २ मिर्गौला, २ फोक्सो, २ आँखाका नानी, १ कलेजो, १ मुटु, १ प्याङक्रियाज र १ सानो आन्द्रा आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
डा. श्रेष्ठले मानव अंगदान तथा प्रत्यारोपणबारे जनचेतनामूलक कार्यक्रम अघि बढाउन अध्ययनपत्रसहित आवश्यक सुझावसमेत सरकारलाई प्रस्ताव पठाइसकेको बताएका छन् ।
मरेर खेर जाने एउटा मानव शरीरले बाँकी १० जनालाई बँचाउन सकिन्छ । आफू मरेर अरूलाई बचाउनु ठूलो पुण्यको काम हो भन्ने कुरा विभिन्न धर्मग्रन्थमा उल्लेख भएको छ । यही कुरा बुझाउन आफू ग्रामीण क्षेत्रमा समेत गएर जनचेतना अभिवृद्धि गरेको डा. श्रेष्ठ बताउँछन् ।
अंगदान गर्ने व्यक्तिहरूको संख्या कति छन् ?
नेपालमा मानव अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू कति छन् भन्ने आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग मिलेर काम गरिरहेको आरोग्य प्रतिष्ठानले नेपालमा मानव अंग प्रत्यारोपणका सम्बन्धमा विभिन्न अध्ययन गरिरहेको छ । आरोग्य प्रतिष्ठानका अधिकृत दिनेश थापाका अनुसार नेपालमा अहिलेसम्म १२ सयजनाले मात्रै मस्तिष्क मृत्युपश्चात् मिर्गाैला दान गर्न आफ्नो नाम दर्ता गरेका छन् भने तत्काल करिब ४ सय जनालाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनीहरू आफ्नो पालो कुरेर बसिरहेका छन् । तर, अन्य अंगदान गर्ने र प्रत्यारोपण गर्न पालो कुरेर बस्नेको यकिन तथ्यांक नभएको उनले बताए ।
के हो कलेजो प्रत्यारोपण
कलेजो मानव शरीरकोे छातीको माथिल्लोपट्टि दाहिने भागमा हुन्छ । कलेजोले पाचनका लागि आवश्यक पित्तको निर्माण, रगत सफा गर्नेलगायत शरीरका लागि आवश्यक पाँच सयभन्दा बढी फरक–फरक काम गर्छ । साथै यसको महत्वपूर्ण कार्य भनेको शरीरमा भएको ऊर्जालाई ग्लाइकोजिनको रूपमा समेत सुरक्षित गरेर राख्नु हो ।
डा. श्रेष्ठका अनुसार यो मानव शरीरको एकमात्र त्यस्तो अंग हो, जसले आफ्नो पुनर्निर्माण आफैं गर्छ । साथै यसले शरीरमा रहेको विषाक्तताको मात्रा कम (डिटक्सिफिकेसन) गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । हाल नेपालमा बर्सेनि एक हजारभन्दा बढी व्यक्तिको कलेजो बिग्रिने गर्छ । यही डरलाग्दो विकराल समस्यालाई समाधान गर्न मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले विदेशी विशेषज्ञको सहयोगमा गत मंसिर २२ गतेबाट मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ । पाँचजना अन्तर्राष्ट्रिय चिकित्सकसहित नेपाली चिकित्सक टोलीले करिब १० घन्टा लगाएर भक्तपुरका ३६ वर्षीय बलराम नागाजूको पहिलोपटक सफल कलेजो प्रत्यारोपण भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको यो सफलतामा बधाइसमेत आएको छ । यसको प्रत्यारोपण अत्यन्त खर्चिलो र जटिल मानिन्छ । साथै यो सहज पनि छैन ।
(फोटो - पाँचजना अन्तर्राष्ट्रिय चिकित्सकसहित नेपाली चिकित्सक टोल)
कलेजो रोगलाई लिभर सिरोसिस भनिन्छ । हाम्रो मुलुकमा बर्सेनि कलेजो फेल हुनेमध्ये ९५ प्रतिशत कारण दीर्घकालीन कलेजो रोग हो । दीर्घकालीन कलेजो रोगका मुख्य कारणचाहिँ अत्यधिक मद्यपानका हो ।
वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माका अनुसार हेपाटाइटिस ‘बी’, ‘सी’ का कारण हुने एक्युट लिभर सिरोसिस तथा हेपाटाइटिस ‘इ’ का कारण हुने क्रोनिक लिभर सिरोसिस र कलेजोको क्यान्सरसमेत प्रमुख कारण हो । यी सबै कारणबाट हुने विल्सन डिजिज, अटोइम्युन डिजिजले एक्कासि कलेजो फेल (एक्युट लिभर सिरोसिस) र क्रोनिक लिभर सिरोसिस हुने गर्छ ।
डा. श्रेष्ठका अनुसार कलेजो प्रत्यारोपण रोग वा चोटपटक लागेको कलेजोलाई पूरै वा प्रभावित भागलाई मात्र हटाएर प्रतिस्थापित गरिने एकप्रकारको जटिल शल्यक्रिया हो । यसले कलेजो फेल भएकाका लागि जीवन बचाउने उपाय पनि हो । उनका अनुसार ९५ प्रतिशत शल्यक्रिया सफल हुने गर्छ ।
(फोटो -नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने व्यक्ति ३६ वर्षिया बलराम नागाजू)
कलेजो प्रत्यारोपण शल्यक्रिया जटिल हुने भएकाले १२ घन्टासम्म लाग्ने र प्रत्यारोपण गरेको बिरामी करिब १५ दिन प्रत्यक्ष विशेषज्ञको निगरानीमा अस्पतालमै रहनुपर्ने हुन्छ । साथै कलेजो दिने जीवित दाताले समेत शल्यक्रियापछि करिब एक सातासम्म अस्पतालमै बस्नुपर्ने हुन्छ ।
डा. श्रेष्ठका अनुसार कलेजो प्रत्यारोपण गरिसकेपछि पनि केही जटिलतासमेत देखिन सक्छ । जस्तो पित्तनली क्षतिग्रस्त हुने, रक्तश्राव हुने नयाँ कलेजोलाई शरीरको प्रतिरोधी प्रणालीले अस्वीकार गर्ने, संक्रमण हुने, कलेजोमा रगत जम्ने, औषधिको साइड इफेक्ट देखिनेलगायतका समस्या देखिन सक्छ ।
डा. शर्माका अनुसार कलेजो फेल भएमा जन्डिस, थकाइ, कमजोरी, खानामा अरूचि, वाकवाकी, तौलमा कमी, मांसपेशीमा हानि, चिलाउनु, सजिलै रगत बग्ने, पेटमा रक्तस्राव हुने, रगतको बान्ता आउने, दिसा कालो हुने, पेटमा पानी जम्ने आदि लक्षणहरू देखापर्छ ।
‘मानव अंग किनबेच हुन सक्दैन’
अहिले नेपालमा मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०७२ (संशोधित) र नियमावली २०७३ कार्यान्वयनमा आइसकेको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नियमावली भनेजस्तै आएकाले अंग किनबेच हुने सम्भावना नभएको बताए । तर पनि यसबारे सरकार सर्तक हुनुपर्ने उनी बताउँछन् ।
सरकारले मानव अंग किनबेच रोकथामलगायतका विषयमा भन्दा अंगदान तथा प्रत्यारोपणबारे बेलैमा जनचेतनालगायत, आवश्यक भौतिक पूर्वाधार र जनशक्ति विकासतर्फ ध्यान दिनुपर्छ । साथै अंगदानका लागि प्रचुर सुविधा, अंग प्रत्यारोपणका लागि विभिन्न केन्द्रहरू स्थापना गर्नुपर्छ । सबैलाई अंग प्रत्यारोपणमा सहज पहुँचको व्यवस्था गर्नुपर्छ । यी सबै कार्य गरे अंग किनबेच आफैं निरुत्साहित हुने उनी बताउँछन् ।
उनका अनुसार नियमावली नरम भएकाले क्रमशः फोक्सो र मुटुको प्रत्यारोपण गर्न आवश्यकताअनुसार थप्दै जान सकिन्छ । तर, अहिलेनै फोक्सो र मुटुको प्रत्यारोपणको व्यवस्था गर्न समय भइसकेको छैन ।
मानव अंगको विकल्पबारे के–कस्ता अनुसन्धान भइरहेका छन् विश्वमा ?
बीबीसी समाचारका अनुसार गत वर्ष अमेरिकाको द टिम फ्रम युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले मानव अंग प्रत्यारोपणका लागि आवश्यक पर्ने अंग सुँगुरभित्र विकास गर्न प्रयास गरिरहेका छन् । उनीहरूले किमिर नाम गरेको सुँगुर मानव भ्रुण उत्पादनका लागि मानव स्टिम सेल इन्जेक्ट गरेका छन् ।
अनुसन्धानमा संलग्न डेभिसका अनुसार सुँगर भ्रुणबाट त्यस्तै मानव अंगको विकास हुन सक्ने देखिएपछि अनुसन्धान भइरहेको बताइसकेका छन् । उनको अनुसार गर्भधारणको २८ दिनअघि उक्त मानव–सुँगुर किमिर भु्रणलाई विकास गर्न अनुमति दिइएको थियो । बीबीसी प्यानारोमालाई उक्त अनुसन्धानको निरीक्षणका लागि अनुमति प्रदान गरिएको छ ।
मिनिसोटा विश्वविद्यालयका न्युरो सर्जरी डिपार्टमेन्टका प्रा. वाल्टर लोले सँुंगुरहरू एक मानव अंगको विकासमा लागि जैविक इन्क्युबेटर भएकाले यसको प्रयोग पेङ्क्रियाज विकासका लागि मात्र नभई मुटु, कलेजो, मिर्गाैलाजस्ता अन्य अंगको विकासमा पनि गरिनुपर्ने उल्लेख गरेका छन् ।
९० को दशकको मध्यमा सुँगुरहरूको माध्यमबाट बिरामीहरूको लागि आवश्यक अंग उपलब्ध गराइने आशा गरिएको थियो । तर सो समयमा मानवमा जनावर कीटाणुले संक्रमण गर्ने भय उत्पन्न भएपछि त्यो स्थगित भएको थियो ।
हाम्रो डक्टर मासिक पत्रिकाबाट
Reporter
View Other Stories by Author >>