६० प्रतिशत नर्स पेशागत दक्षता अभिवृद्धि तालिमबाट बञ्चित
काठमाण्डौं, २३ माघ । नर्सहरुका लागि आवश्यक पेशागत दक्षता अभिवद्धि तालिम अर्थात कन्टिन्यु प्रोफेसनल डेभलपमेण्ट(सिपीडी)बाट ६० प्रतिशत नर्स बञ्चित भएको तथ्य सार्वजनिक भएको छ ।
बेलायतको लिभरपुल जोन मोरेज युनिभर्सिटी, बर्नमाउथ युनिभर्सिटी तथा नेपालको मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् र नेपाल नर्सिग् काउन्सिलले गरेको संयुक्त अध्ययनले यस्तो तथ्यांक प्रस्तुत गरेको हो ।
आइतबार नर्सिङ्ग संगमा प्रतिवेदन सार्वजनिक गरिएको हो । अध्ययनमा डा. विभा सिम्खडा, डा. सियन मास्के, रोज खत्री, चन्द्रकला शर्मा, तारा पोख्रेल, डा. सुजन मरहठ्ठा संलग्न रहेका थिए ।
तीन वर्षदेखि नर्सिङ्ग पेशामा क्रियाशिल पाँच सय नर्समा गरिएको सर्वेक्षणमा ६० प्रतिशत नर्सहरुले सिपीडी तालिमका बारेमा थाहा नभएको बताएका थिए । थाहा पाउनेमा सरकारी स्वास्थ्य संस्थासँग आवद्ध भएका धेरै रहेको अध्ययनको दाबी छ ।
प्रतिवेदन प्रस्तुत गर्र्दै एक जना अध्ययनकर्ता डा.विभा सिम्खडाले ५० प्रतिशत नर्सले मात्र कुनै न कुनै किसिमको तालिम लिएको पाइएको जानकरी दिइन् । दक्षता अभिवृद्धि तालिम नपाउनुमा उपयुक्त समयमा विदा नपाउने, तालिममा सहभागिताको लागि पैसाको अभाव हुने गरेको पाइएको अध्ययनले देखाएको छ ।
तालिम लिएका मध्ये धेरैले दक्ष प्रसूतिकर्मी तालिम (एसबिए) लिएको पाइएको जानकारी गराउँदै अध्ययन प्रकृयामा संलग्न डा. सुजन मरहठ्ठाले पेशागत दक्षता अभिवृद्धि तालिम लिन नेपालमा अनिवार्य नगरिएको कारणले नर्सको ध्यान नपुगेको बताए ।
अनुसन्धानमा संलग्न नेपाल नर्सिङ्ग काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले काउन्सिलमा नर्सको नविकरण गर्दा पेशागत अभिवृद्धि तालिम लिएको हुनुपर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।
नेपाल नर्सिङ्ग संघकी उपाध्यक्ष अप्सरा पाण्डेले पेशागत अभिवृद्धि तालिममा सरकारले लगानी गर्नु पर्ने बताइन् । पैसा तिरेर तालिम लिन चाहनेको लागि पनि तालिम लिनसक्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
Reporter
View Other Stories by Author >>