अझै सात महिना पोलियो सुईको अभाव हुने
काठमाण्डौं २३, माघ । मुलुकभर पोलियोको सुईको अभाव भएको छ । यो अभाव अझै सात महिनासम्म जारी रहने स्वास्थ् मन्त्रालयले जनाएको छ ।
विश्वभर पोलियो सुईको अभाव रहेकोले त्यसको असर नेपालमा पनि परेको स्वास्थ्य सेवा विभागले स्वीकारेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले विश्वभर नै पोलियोको सुई अभाव भएकाले नेपालमा पनि अभाव भएको तर सुईको साटो थोपा खुवाइने हुँदा आत्तिनु नपर्ने बताए ।
उनका अनुसार पोलियोको खोप भने आउँदो सेप्टेम्बर महिनापछि मात्र आपूर्ति हुनेछ । एउटा मात्रै कम्पनीले पोलियो विरुद्धको सुई उत्पादन गर्ने र माग धेरै हुँदा उत्पादनले धान्न नसकिएको पन्तले बताए ।
सुईको अभाव भएपनि सरकारले पोलियो विरुद्ध थोपा खुवाउने अभियान चलाइरहेकाले बालबालिकालाई थोपा खुवाउन सरकारको आग्रह छ ।