चितवनका अस्पतालहरुमा छापा : ६ जना पक्राउ, १ फार्मेसी बन्द गर्न निर्देशन
चितवन, २१ माघ । जिल्ला प्रशासन कार्यालय चितवनले अवैध तरिकाले क्लिनिक चलाउने ६ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार गरेको अनुगमनमा डाक्टर सहित बिभिन्न ६ व्यक्ति पक्राउ गरेको हो ।
एकै संचालकद्धारा संचालित दुई फरक फरक क्लिनिकबाट ६ जनालाई नियन्त्रणमा लिएको हो । भरतपुरको सिनर्जी रोडमा रहेको क्लिनिक अनमोल आरोग्य केन्द्र र नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट ति व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
अनमोल आरोग्य केन्द्रबाट डा. रिमा कर्ण, रमा पौडेल, बबिता ढकाल र अनमोल उपचार सेवा केन्द्रबाट डा. अमित सहनी, हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
कानुन विपरीत काम गरेको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए । आरोपितलाई कानुन अनुसार कारबाही अघि बढाइने चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।
म्याद नाघेको औषधि बरामद
प्रशासनले गरेको अनुगमनमा भरतपुरको अनमोल आरोग्य केन्द्रबाट २ कार्टुन म्याद नागेको औषधि बरामद गरेको छ । त्यस्तै, बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रमा पनि ५ कार्टुन म्याद कटेको औषधि फेला परेका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले बताए ।
औषधि पसल बन्द गर्न निर्देशन
अनुगमन टोलीले नारायणगढको वैैदिक आयुर्वेदिक औषधालयलाई पनि प्रक्रिया पूरा नगरी औषधि खरिद बिक्रि गरेको भन्दै बन्द गर्न निर्देशन दिएको छ । अबैध रुपमा सञ्चालन गरेको पाइएकाले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताए ।
ठूला अस्पताल पनि अनुगमनमा
टोलीले भरतपुर जिल्ला अस्पताल र भरतपुर सामुदायिक अस्पताल पनि अनुगमन तथा निरीक्षण गरेको छ ।
अनुगमनपछि भरतपुर जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रुद्र मरासिनीलाई भेटेर प्रशासनले विशेषज्ञ डाक्टरको सेवा प्रभावकारी बनाउन र बिरामीलाई मनोसामाजिक परामर्शको व्यबस्था गर्न निर्देशनसमेत दिएको छ ।
त्यस्तै, टोलीले भरतपुर सामुदायिक अस्पतालको सेवा सुविधाका बारेमा जानकारी लिएको छ । अनुगमन टोलिले चितवन जिल्लाका आधा दर्जन आयुर्वेदिक र होमियोप्याथिक किल्निकहरुको पनि अनुगमन गरेको छ ।
जिल्ला जनस्वास्थ्य अधिकृत लक्ष्मि महतोका अनुसार जिल्लामा अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ चितवनको प्रतिनिधि रहने गरी बजार अनुगमन टोली पनि तयार गरिएको छ ।
अनुगमन टोलीले हरेक महिनाको दास्रो बिहिबार बजार अनुगमन गर्नेछ ।
को को थिए अनुगमन टोलीमा ?
अनुगमन टोलिमा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतो, उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष विष्णु भुसाल, सचिव प्रकाश सिग्देल, प्रहरी सहायक निरीक्षक जितेन्द्र घामी लगायत थिए ।
Reporter
View Other Stories by Author >>