गाउँगाउँमा अझै सिटामोलको समेत अभाव, स्वास्थ्यमन्त्री भन्छन्ः औषधि किन्न ५० करोड निकासा भैसक्यो

What's This?


Download our app to get more features

काठमाण्डौं, २० माघ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले निःशुल्क औषधिको अभाव हुन नदिन सरकार सक्रिय रहेको बताइरहंदा देशका बिभिन्न जिल्लामा सामान्य औषधि सिटामोलकोसमेत चरम अभाव भएको खबर आउने क्रम जारी छ ।

बुधबार स्वास्थ्य मन्त्री थापाले ट्वीटरमार्फत निशुल्क औषधि खरिद प्रक्रियालाई सहज र तीब्र बनाएको जनाएका थिए उनले सरकारले निशुल्क औषधि खरिद गर्न जिल्लास्तरमै अधिकार र रकम दिएको बताउँदै औषधि अभाव नहुने बताएका थिए । सरकारले निःशुल्क औषधिका लागि छुट्याएको डेढ अरब मध्ये ५० करोड निकासा भैसकेकाले देशमा कतै औषधिको अभाव नहुने मन्त्री थापाको दावी थियो । उनले औषधि अभाव हुन नदिन मातहतका निकायलाई पटकपटक अपिल गरेपनि औाष्धि अभाव हुने क्रम भने उस्तै छ ।  आजमात्रै सोलुखुम्बु, दाङ लगायत देशका विभिन्न जिल्लाहरुमा सामान्य औषधि सिटामोलको समेत चरम अभाव भएको खबर आएको छ ।

रासस संवाददाता भोजराज कार्कीले सोलुखुम्बुका अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीले गुनासो गरेको समाचार सम्प्रेशण गरेका छन् ।

घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्किएका स्थानीय श्याम विश्वकर्माले बताए । 

यतिबेला जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा सेवाग्राही चरम मारमा परेको गुनासा आइरहेका छन् । सम्बन्धित निकायले समयमा ध्यान नदिँदा आफूहरुले निःशुल्क पाउने औषधि पनि मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको मुक्लिका मिलन कार्कीले गुनासो गरे । 

एक महिनादेखि स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो । दुई पटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भए पनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या भएको  छ। -मासिका राई, देउसा स्वास्थ्य चौकी , सोलुखुम्बु


जिल्लाको ३४ स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य औषधि सिटामोल, एमोक्सिलिन, परिवार नियोजनका साधनलगायतका औषधि अभाव भएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भर्ना छ । 

देउसा स्वास्थ्य चौकी देउसाकी मासिका रामकुमारी राईका अनुसार एक महिनादेखि स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो । दुई पटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भए पनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या भएको मासिका राईले बताइन् । 

औषधि माग गरिएको भएपनि जिल्लाबाट आपूर्ति नहुँदा स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी पवन लामाका अनुसार बजेट अभावका कारण समयमा नै औषधि पूर्ति नसकेको हो । 

औषधि अभाव सुरु भएसँगै १५ दिन अगाडि नै क्षेत्रिय मेडिकल स्टोर विराटनगरमा आवश्यकताअनुसार औषधि माग गरिएको भए पनि ढुवानीका कारण औषधि ल्याउन ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

दाङमा पनि औषधिको अभाव
जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ ।

“कति भयो कति औषधि माग गरेको, पाँच महिनादेखि यस्तै अवस्था छ, । -पशुपतिराज केसी,पञ्चकुले स्वास्थ्यचौकी ,दाङ

निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताए । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । “कति भयो कति औषधि माग गरेको, पाँच महिनादेखि यस्तै अवस्था छ, इन्चार्ज केसीले भने ।

दक्षिण दाङको विकट कोइलावास स्वास्थ्यचौकीमा पनि न्यूनतम औषधि पनि छैनन् । सामान्य जरो आएको बच्चालाई दिइने सिटामोल र कफसिरप पनि नभएको त्यहाँका स्वास्थ्यचौकी प्रमुख पप्पु यादवले बताए । जति औषधि माग गरे पनि अझैसम्म अत्यावश्यक औषधि स्वास्थ्यचौकीमा नभएको उनको गुनासो छ । 

माग गरेको धेरै भो, अहिले हाम्रो स्वास्थ्यचौकीका लागि आएको औषधि बाघमारेमा थन्किएको भन्ने सुनेको छु, खै कहिले आउने हो ।”-पप्पु यादव, कोइलावास स्वास्थ्यचौकी, दाङ
 

नवजात शिशुलाई सामान्य जरो आएको अवस्थामा पनि सिटामोल बितरण गर्ने अवस्था नहुँदा बिरामीलाई भारतको बालारामपुरसम्म पुग्नुपर्ने बाध्यता छ । त्यस्तै पश्चिम दाङको मुख्य बजारमा रहेको पुरन्धारा स्वास्थ्यचौकीमा पनि आवश्यक औषधि नभएको स्थानीयवासीको गुनासो छ । तर स्वास्थ्यचौकीले भने केही औषधिमात्र रहेको जनाएको छ । 

हाल सो संस्थामा निःशुल्क उपलब्ध गराइनुपर्ने ३५ थरी औषधिमध्ये, बढीमा १० थरी औषधि मात्रै छन् । “माग गरेको धेरै भो, अहिले हाम्रो स्वास्थ्यचौकीका लागि आएको औषधि बाघमारेमा थन्किएको भन्ने सुनेको छु, खै कहिले आउने हो ।” 

त्यसैगरी स्युजामा पनि अत्यावश्यक औषधिबाहेक सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका सबै औषधि छैनन् । यसले गाउँवासीलाई सामान्य रोगको उपचारका लागि पनि सहरी क्षेत्र जानुपर्ने बाध्यता छ । यो अवस्था करिब छ महिनादेखि देखिँदै आएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयले यसैसाता सबै स्वास्थ्य संस्थामा निःशुल्करुपमा उपलब्ध गराउने सबै औषधि पठाइने बताएपनि स्वास्थ्य मन्त्रालयले नै सम्बन्धित निकायमा पर्याप्त औषधि पठाउन नसकेपछि मुलुकका धेरै जिल्लाका स्वास्थ्यचौकी तथा उपस्वास्थ्यचौकीमा औषधि अभावको अवस्था चरमरुपमा देखिएको हो ।

औषधि पठाउने काम भइरहेको छ केही दिन नै सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने छ ।- धनश्याम पोख्रल, प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धनश्याम पोख्रलले औषधि पठाउने काम भइरहेको र अबको एक सातामा सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने जानकारी दिए । जिल्लाका पाँच वटा स्वास्थ्य संस्थाबाहेक सबै स्वास्थ्य संस्थामा औषधि पठाइ सकिएको छ । पठाउन बाँकी रहेका स्वास्थ्य संस्थामा पनि छिट्टै नै औषधि पठाइने जनस्वास्थ्य प्रमुख पोख्रेलले बताए  । 

उनले भने “औषधि पठाउने काम भइरहेको छ केही दिन नै सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने छ ।” 

अहिले पठाएको औषधि स्वास्थ्य संस्थामा करिब तीन महिनासम्म पुग्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ । 

कार्यालयले हाल ३१ प्रकारको औषधि खरिद गरेको र थप औषधि खरिदका लागि फेरि ठेक्का गरिने जनाएको छ भने जिल्लामा केन्द्रबाट पाँच प्रकारका औषधि मात्र आएको जानकारी दिएको छ ।

राससको सहयोगमा

Last modified on 2017-06-29 13:33:41

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts