३९ दिन लगातार व्यस्त डाक्टर सामाजिक सञ्जालमा भाइरल
एजेन्सी । अर्जेन्टिनाका ५६ वर्षीय डक्टर लुइस डेनियल रेको ‘डाक्टरको एप्रोनमै मर्ने अवस्थामा पुगेँ’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अर्जेन्टिनाको एक अस्पतालमा लगातार ३९ दिनसम्म काम गरेपछि डा. रेले ‘डाक्टरको एप्रोनमै मर्ने अवस्थामा पुगेँ’ भन्ने भनाइ व्यक्त गरेका थिए । उनी खटिएको स्थानमा अन्य कोही पनि डाक्टर नभएपछि लगातार ३९ दिनसम्म उनी बिरामीको सेवामा व्यस्त थिए ।
उक्त भनाइ सहितको समाचार प्रकाशित भए लगत्तै उनको विषयमा सामाजिक सञ्जालमा ठुलो बहस भएको थियो । जसका कारण उनी अर्जेन्टिनामात्र नभई विश्वभर भाइरल बन्न पुगेका छन् । उनले भने, ‘लगातार काम गरेको यो पहिलो पटक होइन तर उक्त समाचार इन्टरनेटका कारण विश्वव्यापी भएछ ।’
उनको समाचार भाइरल भए लगत्तै अर्जेन्टिनाका राष्ट्रपति मारिसियो मकरीले डा. लुइसलाई फोन गर्दै बधाई दिएका छन् । राष्ट्रपतिले उक्त स्थानमा थप डाक्टर पठाउने बताएका थिए । नभन्दै डा. लुइस कार्यरत स्थानमा अहिले अर्का एक डाक्टर थपिएका छन् । तर, यसबाट डा. लुइस खुसी छैनन् । भन्छन् । ‘तीन जना आवश्यक पर्ने ठाँउमा अझै दुई जना मात्र भयौँ । यहाँ मात्र होइन डाक्टर नपुगेका अन्य स्थानमा पनि डाक्टरको व्यवस्था हुनुपर्छ ।’
३९ दिनसम्म डा. लुइसले अस्पतामला दैनिक १८ घण्टा काम गर्नुपर्ने बाध्यता थियो । उनले आफ्नो बुबा मेकानिक भएको र उनकै मिहिनेतबाट आफूले पनि कडा मिहिनेत गर्न सिकेको बताए ।
लुइसले डाक्टर बन्न पनि निकै संघर्ष गर्नु परेको थियो । अर्जेन्टिनाको कोरडोबा सहरमा डाक्टरी पढ्न उनले खर्च जुटाउनका लागि रातको समयमा वेटरको काम गरेका थिए । डाक्टर बनेपछि उनको पोस्टिङ ग्रामीण भेगमा भएको थियो । जनशक्ति अभाव र धेरै बिरामी भएका कारण उनीमाथि कामको बोझ थपिएको हो । उनी उक्त अस्पतामा १८ वर्षदेखि कार्यरत छन्।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>