घटेनन् कुष्ठरोगी
काठमाण्डौं १६, माघ । पछिल्लो ६ महिनामा चितवन र कैलालीमा कुष्ठरोगीहरु बढेका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चितवनमा २४ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । त्यस्तै कैलालीमा ६ महिनामा ४७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
‘समयमै कुष्ठरोगको उपचार गरौँं, अपाङ्गता हुनबाट बचौँ’ भन्ने नारासहित जनस्वास्थ्य कार्यालय चितवनले भरतपुरमा ६४ औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा कुष्ठरोगी बढेको जानकारी दिइएको हो । चितवनमा अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ७१ जनामा देखिएको यो रोग आर्थिक वर्ष २०७२/७३ मा तीनजना थपिएर ७४ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षय तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले जानकारी दिए ।
तीमध्ये ३८ जना नयाँ बिरामी फेला परेका छन् । चितवनका कुल कुष्ठरोगीमध्ये ६३ जनामा सर्ने खालका र ११ जनामा नसर्ने खालका रोग देखिएको जनाइएको छ । सर्ने खालका रोग देखिएका धेरै भएकाले जोखिम पनि बढ्दो छ । प्रति एक हजार जनामध्ये एकजना भन्दा तल कुष्ठरोग देखियो भने त्यसलाई निवारण मानिन्छ । तर चितवनमा प्रति एक हजारमा १ दशमलव १२ रहेको छ । चितवनको आठ वटा पहाडी गाविसमा कुष्ठरोगीको सङ्ख्या शून्य रहेको तर भरतपुर उपमहानगरमा सबैभन्दा धेरै रोगी फेला परेको जनाएको छ । भरतपुरमा प्रति १० हजारमा दुई जना रोगी भेटिएका छन् ।
यसैगरी कैलालीमा पछिल्ले ६ महिनामा ४७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार, जिल्लाको धनगढी उपमहानगरपालिका र पथरैया गाविसमा बढी सङ्ख्यामा कुष्ठरोगी फेला परेका हुन् । पहिलेको तुलनामा जिल्लामा यो रोगका बिरामी रहने दर घट्दै गएको भए पनि अरु जिल्लाको तुलनामा यहाँ कुष्ठरोगीको सङ्ख्या भने घट्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षय तथा कुष्ठरोग सहायक प्राविधिक दीपेन्द्र जोशीले बताए । उनले नयाँ फेला परेका र पहिलेका बिरामीसमेत गरी हाल ९० जना उपचारमा रहेको जानकारी दिए ।
पत्ता लाग्ने रोगीमध्ये कम सर्ने खालका ५१ प्रतिशत र बढी सर्ने खालका ४९ प्रतिशत रहेका छन् । राष्ट्रिय रुपमा प्रति दश हजार जनसङ्ख्यामा शून्य दशमलव शून्य आठ जनामा यो रोग भेटिने गरेको रोग निवारणमा संलग्न नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनका डा कृष्णप्रसाद ढकालले बताए । कुष्ठरोगलाई पूर्णरुपमा निवारण गर्ने सरकारको लक्ष्य छ । आर्थिक वर्ष २०७२/७३ को तथ्याङ्क अनुसार नेपालको ५० जिल्लामा प्रति १० हजारमा एकजना भन्दा कम बिरामी छन् । तर तराईका १८ जिल्लामा सबैभन्दा बढी बिरामी छन् भने डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुरमा रोग फेला परेको छैन ।
समयमै उपचार गरे रोग सजिलै निको हुने र यो रोगका लागि एक मात्रा औषधिले ९९ प्रतिशत काम गर्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जानकारी दिए ।
यो रोगको उपचार निःशुल्क मात्रै छैन उपचारमा आएकालाई सरकारले यातायात खर्च समेत दिँदै आएका छन् । किटाणुबाट रोग लाग्ने भएकाले ‘पूर्व जन्मको पाप’ भनेर भ्रम नफैलाउन सबैमा कार्यालयले अनुरोधसमेत गरेको छ । यो रोग पूर्ण निको पार्न बढीमा १२ महिनासम्म औषधि लिनुपर्छ । नेपालमा अहिले दुई हजार ५६३ जना रोगी नियमित उपचारमा छन् ।