उमेर बढेसँगै किन झर्छ दाँत ? कसरी गर्ने स्याहार ?



Download our app to get more features

फ्नो मुखको मायाकसलाई लाग्दैन र ? मुखलाई स्वस्थ राख्न बालबालिका हुन् या वृद्धवृद्धाआफ्नो दाँत र गिजा स्वास्थ्य राख्न सचेत हुनुपर्छ ।

मुख तथा दाँतको स्वास्थ्यमा ख्यालगर्नु सुन्दर हुनलाई मात्र होइन । तन्दुरुस्त हुन पनि आवश्यक छ । मानिसहरुमा एउटा गलत धारणा छ, उमेर बृद्धी हुँदै जाँदा दाँत झर्नु, गीजा सर्नु स्वभाविक हो तर यो सब दाँत र मुखको उचित स्याहार गरेमा रोकथाम गर्न सकिन्छ । उमेर पुग्यो भन्दै नक्कली दाँत लगाएरै हिंड्नु पर्दैन ।

तर यति भनिरहँदा उमेर बढेसँगै मुख एवं दातमा केहि अपरिहर्य परिवर्तनहरु पनि आउने गर्छन । यि मध्येमा मुख सुक्खा हुने समस्या पनि एक हो । मुखमा र्यालको ग्रन्थिबाट र्याल कम आएपछि मुख सुक्ने गर्छ । सामान्य अवस्थामा एउटा मनिसले दिनमा एकदेखी दुई लिटर जती र्यालको उत्पादन गर्छ । सुतेको अवस्थामा मुखबाट र्याल को उत्पादन शुन्यमा झर्ने गर्छ । यो मुख सुक्खा हुने समस्या धेरैलाई सानो लग्न सक्छ । नियमित रुपमा यसबारेमा कसैले पनि सोच्ने गर्दैनन् । सुक्खा मुख हुन सक्ने कारण बढ्दो उमेरमा लाग्ने विभिन्न रोगहरुको औषधि सेवन गर्नु पनि एक हो । मुख सुक्खा हुँदा दाँतमा कीरा लाग्ने समस्याका साथै गिजाका रोगहरु लाग्न सक्छ ।

बढ्दो उमेरसँगै दाँत झर्ने समस्या पनि नेपाली समाजमा सामान्य जस्तो भैसकेको छ ।  तर अझ पनि दाँत नै त हो, झरिहाल्यो भनेर दाँत र मुख स्वास्थ्यलाई बेवास्ता गर्ने मानसिकता पनि विद्यमान छ । 

दाँत नहुनाले मुख्य असर पर्ने भनेको मानिसको सौन्दर्यमा हो । मुख वरिपरीको छालालाई सहायता गर्ने दाँत नभए पछी मुख वरिपरीको छालाचाउरी पर्ने, गाला डुबेको देखिने र मानिस आफ्नो उमेर भन्दा पाको देखिने गर्छ । दाँतको अभावमा मानिसहरुको बोली प्रस्ट नहुने समस्या देखा पर्न सक्छ । विशेष गरी अगाडीको दाँत नहुनाले मानिसहरुलाई केहि शब्दहरुको उच्चारणमा समस्या आउनुका साथ साथै हरेक पल्ट बोल्दाखेरि  सुसेली बजाएको जस्तो आवाज निस्किने हुन सक्छ ।
खाना टोक्न र राम्रोसँग चपाएर खान नसक्नाले प्रायजसो मानिसहरु कि कम खान थाल्छन कि भने केवल नरम खानेकुराहरु खाने गर्छन । यस कारण मानिसको शरिरमा पौष्टिक आहाराको कमी हुनजान्छ । यसरी दाँत नहुनाले केवल मुखलाई मात्र नभएर पूर्ण शरीरलाई हानी गर्न सक्छ ।  

उमेर बढ्दै जाँदा जिब्रोमा रहने स्वादक इन्द«यहरु कम संवेदनशिल हुँदै जान्छन । यस कारण उनिहरुलाई खानाको स्वाद नआउने र चाहिने भन्दा बढी नुनिलो वा पिरो खानुपर्ने हुन सक्छ । यस बाहेक हड्डी खिइँदै जाने र चपाउन प्रयोग हुने मांसपेशीहरु पनि कमजोर र शिथिल हुँदै जान्छन । यसले गर्दा कडा खानेकुरा खान गाह्रो हुने गर्छ । यस बाहेक अन्य समस्याहरुमा मुख स्वास्थ्यको उचित हेरचाह गर्न नसकेर गीजा सुन्निने, गीजा सरेर दाँतको जरा देखिने, दाँत हल्लिने, सास गन्हाउने, दाँत कालो हुँदै जाने, दाँतको जरामा किरा लाग्ने दाँत सजिलै भाँचिने आदि समस्याहरु पनि देखा पर्न सक्छन ।

यस कारण उमेर पाको जाँदा आफ्नो दाँत र मुखको पनि खास ख्याल राख्नु जरुरी छ । यसको निम्ति फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्ने,  चुरोट्, खैनी र अन्य सुर्ति जन्यवस्तुको प्रयोग त्याग्ने, प्रशस्त पानी पिउने, चिनी रहित गुँद्को प्रयोग गर्ने, दाँत माझ्न अल्छी नगर्ने, सुक्ष्म जीवाणु विरुद्ध काम गर्ने मुख कुल्ला गर्ने औषधिको प्रयोग गर्ने, नक्कली दाँत लगाउनेले त्यसको सरसफाईमा विशेष ध्यान दिनुका साथसाथै केहि समस्या नभए पनि नियमित रुपमा दाँत परीक्षण गराउनु जरुरी हुन्छ ।

(डा.भट्टराई कान्तिपुर डेण्टल हस्पिटलमा कार्यरत छिन् ।)

Last modified on 2017-07-02 13:17:21

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts