कुष्ठरोग दिवस आज, नेपालमा वर्षेनी ३ हजार नयाँ कुष्ठरोगी
‘समयमा नै कुष्ठरोगको उपचार गरौँ, अपाङ्गता हुनबाट बचौँ’ भन्ने मूलनाराका साथ आज ६४ औँ विश्व कुष्टरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँछ ।
अंग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा मात्र प्रत्येक वर्ष तीन हजार मानिसमा नयाँ रोग देखिने गरेको तथ्याकंले देखाएको छ । नेपालमा वि.सं.२०६५ मा कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि यसले सार्थकता भने पाउन सकेको छैन । विश्वभरि एक लाख ७५ हजार कुष्ठरोगीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र दुई हजार पाँच सयको उपचार भइरहेको जनाइएको छ ।
संसारभरि कुष्ठरोगीको संख्या सुस्त ढंगले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिदैँन । नेपालमा तीन हजार व्यक्ति बहुऔषधि उपचारले कुष्ठरोगबाट मुक्त भएको तथ्याकंले देखाएको छ ।
स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा.वासुदेव पाण्डेका अनुसार दक्षिण एसियाली देशमा कुष्ठरोगीको संख्या अधिक रहेको छ । छिमेकी मुलुक भारतमा मात्र एक लाख ३७ हजार कुष्ठरोगीका बिरामी रहेको उनको भनाइ छ । भौगोलिक रुपले नेपालको तराई क्षेत्रमा यो रोगको प्रकोप अत्यधिक देखिएको उनले बताए । उनका अनुसार बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको संख्या अधिक रहेको छ ।
‘खोपमुक्त गाउँ जस्तै कुष्ठरोग मुक्त’ गाउँ बनाउनेउ अभियान अन्र्तगत सप्तरी जिल्लाबाट कार्यक्रम सुरु गरिने उनले बताए । कुष्ठरोग निवारण हुन बाँकी रहेका अछाम, मुगु, सुर्खेत, बर्दिया, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, सर्लाही, महोत्तरी, धुनषा, सिरहा, मोरङ र झापा गरी १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको कुष्ठरोग नियन्त्रक महाशाखा प्रमुख डा.पाण्डेले बताए ।
उनका अनुसार ५० वटा जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । डोल्पा, मुस्ताङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुर गरी सात वटा जिल्लाका कुष्ठरोग निवारण क्षेत्र रहेको पनि उनले बताए ।
कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने पुरानै रोग भएको ‘द लेप्रोसी मिसन’ नेपालद्वारा सञ्चालित आनन्दवन अस्पतालका मेडिकल निर्देशक डाक्टर ईन्द्रबहादुर नापितले बताए । यो अस्पताल कुष्ठरोगीको सेवा गर्ने नेपालकै एक मात्र अस्पताल भएको उनले बताए ।
नेपालमा पछिल्लो तीन वर्षको तथ्याकं अनुसार कुष्ठरोगीको संख्यामा वृद्धि भइरहेको समेत प्रमुख पाण्डेले बताए ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>