बालबालिकाले छुटाए अभिभावकको कुलत
बेनी (म्याग्दी), ९ माघ । घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी व्यवहारमा परिवर्तन ल्याई समाजका लागि सकारात्मक सन्देश दिएका छन् ।
म्याग्दी जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन् । उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले बताए ।
प्रअ कार्कीका अनुसार आफ्ना छोराछोरीको करले गर्दा अभिभावकहरु धूमपान, मद्यपानलगायतका दुव्र्यसनी त्याग्नुका साथै पारिवारिक जिम्मेवारी पनि सम्हाल्न थालेका छन् । आफ्ना बाबुआमालाई चर्पीमा दिसापिसाब गर्न र साबुनले हात धुन पनि सिकाएका छन् ।
“बालबालिकामा आएको परिवर्तन देख्दा आश्चर्य लाग्छ”, प्रअ कार्कीले भने – “सामाजिक कार्यका लागि जनश्रमदान गर्न, फाल्तु खर्च कम गरी बचत गर्न र आफूजस्तै बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गराउनसमेत कर गर्छन् यी बालबालिकाहरु ।”
त्यसैगरी गाउँ बाल कल्याण समिति ज्यामरुककोटका संयोजक टीकाबहादुर कार्कीले बाल विकास केन्द्रमा अध्ययन गर्ने ६ देखि १५ वर्षसम्मका बालबालिकाले आफ्ना अभिभावकलाई सुधार्न सफल भएका बताए । “आफ्नै छोराछोरीले सिकाउन थालेपछि अभिभावकलाई पनि लाज लाग्दो रहेछ र उनीहरु सुध्रन बाध्य हुँदा रहेछन” – कार्कीले भने ।
बालबालिकालाई घरायसी वातावरणमा अक्षर चिनाउनुका साथै दैनिक गर्नुपर्ने व्यक्तिगत र घरायसी सरसफाइसम्बन्धी आवश्यक विषय बाल विकास केन्द्रद्वारा सञ्चालित बाल कक्षामा सिकाइने गरिएको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>