सरकारी स्वास्थ्यकर्मीको समयतालिका परिवर्तन, अब ओभरटाइभ भत्तापनि !
कस्तो छ कार्यतालिका ?
काठमाण्डौ, ७ माघ । सरकारले आफु मातहतका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ओभरटाइम बापतको भत्ता दिने भएको छ ।
बिहीवार स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रिपरिषदको बैठकमा पेस गरिएको यस सम्बन्धी निर्देशिका पारित भएपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ओभरटाइम भत्ता दिने व्यवस्था भएको हो ।
मन्त्रालयले पेस गरेको ‘नेपाल सरकारको स्वामित्वका स्वास्थ्य संस्थामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवा शर्तहरु सम्बन्धमा जारी निर्देशन, २०७३’ पारित भएको हो ।
मन्त्रालयका अनुसार सरकारले तोकेको बिहान १० देखि ५ बजेसम्मको कार्यालय समयलाई परिमार्जन गरी नयाँ व्यवस्था गरिएको छ । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्र विशेष एवं संवेदनशील भएको हुँदा बिहान ८ बजे देखि ५ बजेसम्म खुला राखी सेवा प्रवाहको व्यवस्था मिलाउन सरकारले नयाँ नियम ल्याएको बताएका छन् ।
नयाँ व्यवस्था अनुसार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित समय हुनेछ । तर दिउँसो ३ बजेदेखि कम्तिमा साँझ ५ बजेसम्म अनिवार्य विस्तारित स्वास्थ्य सेवा वा ओभरटाइम सेवा सञ्चालन गर्नुपर्ने भएको हो । नयाँ व्यवस्था कार्यन्वयनका लागी अस्पतालले दैनिक कार्यतालिका बनाउनुपर्ने छ ।
कस्तो छ कार्यतालिका ?
निर्देशिका अनुसार सरकारी स्वास्थ्य संस्थाले विहान ८ देखि ९ सम्म विभिन्न बैठक तथा छलफल सक्नुपर्ने हुन्छ । त्यस्तै विहान ९ देखि १० सम्ममा बेडसाइड डिस्कसन, शल्यक्रियाका लागि टिम तयार, भिडियो एक्सरे, इन्डोस्कोपी लगायतका आवश्यकता अनुसारको क्रियाकलाप शुरु गरीसक्नुपर्ने हुन्छ ।
त्यस्तै विहान १० देखि १२ सम्ममा ओपिडी, शल्यक्रिया, इन्डोर राउन्ड, इमरजेन्सी राउन्ड तथा आवश्यकता अनुसार अन्य क्रियाकपाल सञ्चालन गरीसक्नुपर्ने छ ।
त्यस्तै दिउँसो १२ देखि १२ः४५ सम्मः खाना खानको लागी ४५ मिनेट समय छुट्याउनुपर्नेछ र दिउँसो १२ः४५ देखि ३ बजेसम्म पुनः ओपिडी, शल्यक्रिया, इन्डोर राउन्ड, इमरजेन्सी राउन्ड तथा आवश्यकता अनुसार क्रियाकपालहरु सञ्चालन भइसक्नुपर्ने छ । माथिको सबै तालिका नियमित समयभित्र सम्पन्न गरीसक्नुपर्ने छ ।
यसपछि दिउँसो ३ देखि साँझ ५ सम्मः ओभरटाइम भक्ता पाउने गरी अनिवार्य विस्तारित स्वास्थ्य सेवा वा ओभरटाइम सेवा सञ्चालन गर्नुपर्ने हुन्छ ।तर नयाँ निर्देशिका अनुसार बर्थिङ सेन्टर तथा सञ्चालन नभएका स्वास्थ्य चौकी र व्यवस्था नभएका प्राथमिक स्वास्थ्य केन्द्रले अनिवार्य रुपमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नुपर्नेछ ।
त्यस्तै बर्थिङ सेन्टर सञ्चालन भएका एवं बिरामी भर्ना गर्न पर्ने स्वास्थ्य चौकीले अतिरिक्त अन ड्युटी तथा अनकलजस्ता व्यवस्थाहरु अवलम्बन गरी थप समय सेवा प्रवाह गर्नुपर्नेछ ।
त्यस्तै सरकारी अस्पतालका सम्बन्धित विभागमा तीन जनासम्म चिकित्सक भएमा सबै दिन सबै विभागबाट दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म बिस्तारित वा ओभरटाइम सेवामा खटिनु पर्नेछ ।
त्यस्तै सम्बन्धित विभागमा ३ जना भन्दा कम चिकित्सक भएमा ५ बजेसम्म अस्पताल खुला रहने सुनिश्चित गरी प्रत्येक विभागले हप्तामा कम्तिमा दुई दिन सेवामा खटिनु पर्नेछ ।
कति पाउँछन भत्ता ?
अनकल ड्युटी गर्नुपर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले ड्युटीमा रहेको दिन आधा दिन बराबरको ओभरटाइम भत्ता पाउनेछन् । तर एक जना मात्र चिकित्सक, नर्स वा स्वास्थ्यकर्मी रही सेवा सञ्चालन हुने स्वास्थ्य संस्थामा ओभरटाइम निजले प्राप्त गर्ने तलब स्केलको ७५ प्रतिशतसम्म हुनेछ ।
उल्लघंन तथा दुरुपयोग भए कस्तो हुन्छ कार्वाही ?
स्वास्थ्य संस्था प्रमुखले कल ड्युटी गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा ड्युटी रोस्टर स्वीकृत गराई लागू गर्नुपर्ने हुन्छ । जालसाँझी गरी वा नक्कली विवरण पेश गरी अतिरिक्त सुविधा लिएमा त्यस्ता व्यक्तिलाई भुक्तान भएको सुबिधाको दोब्बर रकम जरिवाना र अन्य कानुन अनुसार दण्ड हुने व्यवस्था गरीएको छ ।
त्यस्तै गतल विवरण प्रमाणित गर्ने अधिकारीबाट समेत सम्बन्धित कर्मचारीलाई भुक्तान भएको रकम असुल गरी कारबाही हुने व्यवस्था गरीएको छ ।
कसरी गर्ने कार्यान्वयन ?
सबै सरकारी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टले साप्ताहिक चक्रीय आधारमा ड्युटी अफिसर छनौट गर्न सक्नेछन् । अस्पतालका सबै स्टाफहरु र मेडिकल सुपेरिटेन्डेन्टसमेतले कार्यालय समयपछि वा अत्यावश्यक कामका लागि अस्पताल बाहिर जानुपर्ने अवस्थामा अनिबार्य ड्युटी अफिसरलाई जानकारी वा अनुमति माग्नुपर्नेछ ।
अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले नियमअनुसार पाउने विदा यथावथ रहने छ । तर काम विशेषले स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा अवरुद्ध हुन पुगेमा त्यस्ता बिदाहरुमासमेत अनिवार्य विस्तारित स्वास्थ्य सेवा वा ओभरटाइम सेवा सञ्चालन गर्नुपर्ने हुन्छ ।
त्यस्तै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा अवरुद्ध नहुने अबस्थामा मात्रै प्रचलित नियम अनुसार पाउने सट्टा बिदा उपभोग वा व्यवस्थापन गर्न पाउने छन् ।
चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी काज वा बिदामा बसेमा उक्त अवधीमा ओभरटाइम सुबिधा भने पाउने छैनन्
Reporter
View Other Stories by Author >>