झापामा हुने पहिलो स्वास्थ्य महोत्सवको तयारी पूरा
काँकडभिट्टा (झापा), ७ माघ । नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ ।
यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएका छन् । महोत्सवमा बिरामीको निःशुल्क उपचार र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच प्यानल छलफलसमेत गरिने भएको छ ।
महोत्सवको आयोजना नेपाली काँग्रेस, मेचीनगरले गरेको हो । महोत्सव अवधिभरमा २५ हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिइएको आयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।
महोत्सवस्थलमा प्रवेशद्वार, पूर्जी काट्ने ठाउँ, बिरामी जाँच्ने ठाउँ, प्रयोगशाला, औषधि बाँड्ने ठाउँ, प्यानल डिस्कसन हुने मञ्च, सवारी पार्किङलगायतको छुट्टाछुट्टै व्यवस्थाका लागि अस्थायी संरचना निर्माण गरिएको छ ।
महोत्सवमा रु २५ लाख खर्च हुने मूल समिति संयोजक एवम् नेपाली काँग्रेस, मेचीनगरका सभापति ईन्द्र बुढाथोकीले बताए । सबै खर्च स्थानीय सहयोगबाट जुटाइने र सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उनको भनाई छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>