एउटा अस्पतालमा कम्तीमा तीन जना रेडियोग्राफरको दरबन्दी व्यवस्था गरिनुपर्ने



Download our app to get more features

काठमाण्डौ, ६ माघ । सरकारी स्वास्थ्य निकायहरुमा रेडियोलोजीको दरबन्दी कम भएको र भएकोलाई व्यवस्थित नबनाएको भन्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रतिनिधिमण्डलले स्वास्थमन्त्री गगन कुमार थापालाई भेटी नौ बुदे ज्ञापनपत्र बुझाएको छ।

नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष मुकेश कुमार झाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा सोसाइटीका पदाधिकारी,केन्द्रिय सदस्यहरु एवं आजिवन सदस्यहरुको सहभागीता रहेको थियो। भेटका क्रममा उनीहरुले ज्ञापनपत्र बुझाउँदै रेडियोग्राफी स्वास्थ्यकर्मीको उचित व्यवस्थापन, पदस्थापना गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । उनीहरुले रेडियोविकिरणले स्वास्थ्यकर्मीको आफ्नै स्वास्थ्यमा असर गर्ने भन्दै विकिरण भत्ताको माग पनि गरेका छन् ।  भेटका क्रममा मन्त्री थापाले उपचार प्रकृयामा महत्वपूर्ण भूमिका रहने रेडियोग्राफीका विषयलाई समाधान गर्न आफुले अध्ययन गर्ने बताएको प्रतिनिधिमण्डलका संयोजक मुकेशकुमार झाले बताए । 

ज्ञापनपत्र यस्तो छ । 

माननीय स्वास्थमन्त्री ज्यु, स्वास्थ्य मन्त्रालय, रामशाहपथ,काठमाडौ। विषय: रेडियोग्राफी सम्बन्धि पद तथा दरबन्दी एवं विकिरण जोखिम भत्ताका सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा यस नेपाल रेडियोलोजीकल सोसाइटीले विभिन्न समयमा विभिन्न कार्यक्रम,ज्ञापनपत्र,निवेदन एवं छलफल मार्फत नेपालमा रेडियोग्राफी क्षेत्रको दयनीय अवस्था, सरकारी स्वास्थ्य सेवामा रेडियोग्राफीसम्बन्धि पद तथा दरबन्दीको अवस्था र आवश्यकता एवं रेडियोग्राफी स्वास्थ्यकर्मी र सेवाग्राही दुवै पक्षका पिर मर्का र समस्याका सम्बन्धमा यस मन्त्रालयलाई बारम्बार अनुरोध गर्दै आएकोमा मन्त्रालयको तर्फबाट कुनै सुधारमुखी कदम नचालिएको र रेडियोग्राफी स्वास्थ्यकर्मीलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिएको प्रति नेपाल रेडियोलोजीकल सोसाइटी गम्भीर आपत्ति प्रकट गर्दछ। नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ देखि नै नेपाल स्वास्थ्य सेवा,रेडियोग्राफी समुह अन्तर्गत डार्करुम असिस्टेन्ट(चौथो तह) देखी प्रमुख रेडियोग्राफी टेक्नोलोजीष्ट(एघारौं तह) सम्मका पद तथा दरबन्दीको व्यवस्था गरिएको भएतापनि रेडियोग्राफी समुहलाई अझसम्म पनि बदनियतपुर्ण तरिकाले रेडियोग्राफर (पाँचौ तह) सम्म सिमित राखिएको, रेडियोग्राफरको विद्यमान दरबन्दी पनि अत्यन्त न्युन रहेको,जिल्ला तथा अञ्चल अस्पतालहरुमा एउटै रेडियोग्राफी स्वास्थ्यकर्मीले थप सेवा सुविधा र प्रोत्साहन विना २४ सै घन्टा सातै दिन विकिरण जस्तो जोखिमपुर्ण क्षेत्रमा काम गर्नु परेको, सरकारी स्वास्थ्य सेवा मै विद्यमान ऐन,नियम र कानुन विपरीत अदक्ष र अयोग्य व्यक्ति कार्यरत रहेको,सरकार र स्वास्थ्य मन्त्रालयको लापरबाहीका कारण सरकारी अस्पतालहरुमा स्तरीय रेडियोलोजी उपकरण हुँदाहुँदै दक्ष रेडियोग्राफि स्वास्थ्यकर्मीको अभावमा आमजनता गुणस्तरीय रेडियोलोजी सेवाबाट बन्चित हुनु परेको र देश मै उत्पादित दक्ष रेडियोग्राफि स्वास्थ्यकर्मीहरु शैक्षिक बेरोजगार भइ पलायन हुनुपर्ने विडम्बनापुर्ण अवस्था सिर्जना भएको प्रति यस सोसाइटी यहाँको गम्भीर ध्यानाकर्षण गराउदछ। यस वर्ष लोकसेवा आयोग मार्फत नेपाल स्वास्थ सेवा अन्तर्गत रेडियोग्राफी टेक्नोलोजीष्टको दरबन्दी खुलाइनु स्वागतयोग्य कदम भएतापनि सो पदलाई विविध समुहमा राखिनु र देशभरिका लागी जम्मा एउटा मात्र दरबन्दी सिर्जना गरिनुले रेडियोग्राफी क्षेत्रको व्यावसायिकता र महत्त्वलाई नजरअन्दाज गरिएको र झारा टार्ने प्रयास मात्र गरिएको प्रतीत भएको छ।अर्कोतर्फ,स्वास्थ्य मन्त्रालय आफैले तयार पारेको "स्वास्थ्य संस्था दर्ता,संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०" तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन,नियमावली र आचारसंहिताहरु स्वास्थ्य मन्त्रालय स्वयं र मातहतका निकाय तथा स्वास्थ्य संस्थाहरुद्वारा उलंघन गरिएको व्यहोरा यहाँ समक्ष निवेदन गर्न चाहन्छौ। स्वास्थ्य सेवा जस्तो जीवनमरण संग जोडिएको क्षेत्र भित्रको विकिरण जोखिमपुर्ण रेडियोग्राफी व्यवसायका आधारभूत मापदण्ड र दरबन्दी पूरा गर्ने सवालमा समेत संघियता लगाएतका विभिन्न बहाना बनाउदै यो व्यवसायलाई थप बेथितिको सिकार बनाउने र सम्बन्धित दक्ष प्राविधिक स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित गराउने गरि गरिएको क्रियाकलापहरुको यस सोसाइटी कडा शब्दमा निन्दा गर्दछ। साथै,यथाशीघ्र O&M Survey गरि नेपाल स्वास्थ्य सेवा ऐन तथा नियमावली, नेपाल स्वास्थ्य व्यवसाय परिषद ऐन,नियमावली तथा आचारसंहिता एवं स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड अनुसार रेडियोग्राफी सम्बन्धि पद तथा दरबन्दी सिर्जना हुने वातावरण सिर्जना गरिदिनुहुन यस सोसाइटी हार्दिक अनुरोध गर्दछ। यस नेपाल रेडियोलोजीकल सोसाइटीले पेश गरेका रेडियोग्राफी व्यवसाय,रेडियोग्राफी स्वास्थ्यकर्मी एवं सेवाग्राहीहरुको हकहित र सुरक्षासंग सम्बन्धित तपसिलका मागहरू यथाशीघ्र सम्बोधन गरिदिनुहुन अनुरोध गर्दै मन्त्रालयको तर्फबाट फेरि पनि गरैजिम्मेवारीपुर्ण व्यवहार प्रदर्शन गरिए आफुहरु कडा कदम चाल्न बाध्य हुने व्यहोरा विनम्रताका साथ निवेदन गर्दछौं। 

                                                                                                                                                                                       मुकेश कुमार झा अध्यक्ष नेपाल रेडियोलोजीकल                                                                                                                                                                                                                                    सोसाइटी

तपसिल मागहरू

१. रेडियोग्राफर (नेपाल स्वास्थ्य सेवा,रेडियोग्राफी,पाचौं तह,PCL Radiography)को दरबन्दी वृद्धि गरियोस्।साविकका हरेक जिल्ला अस्पतालमा प्रत्येक सिफ्टमा कम्ती १ जना रेडियोग्राफरका दरले प्रति अस्पताल कम्तीमा तीन जना रेडियोग्राफरको दरबन्दीको व्यवस्था गरियोस्। २. रेडियोग्राफी टेक्नोलोजीष्ट/रेडियोग्राफिक अधिकृत( रेडियोग्राफी,सातौं तह,BSc.MIT or Equivalent)को उचित दरबन्दी कायम गरियोस्। नेपाल स्वास्थ्य व्यवसायी परिषदको व्यावसायिक आचारसंहिता एवं कार्यविभाजन तथा स्वास्थ्य मन्त्रालयको "स्वास्थ्य संस्था स्थापना,संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०" अनुसार हुने गरि दरबन्दी सिर्जना गरियोस्। ३. उपप्रमुख रेडियोग्राफी टेक्नोलोजीष्ट/सिनियर रेडियोग्राफिक टेक्नोलोजीष्ट (रेडियोग्राफी,नवौं तह,MSc.MIT)को पद तथा दरबन्दी सिर्जना हुने व्यवस्था मिलाइयोस्। ४. सम्पूर्ण सरकारी रेडियोग्राफी स्वास्थ्यकर्मीहरुका लागि उचित विकिरण जोखिम भत्ता तथा विकिरण अनुगमन उपकरण (TLD Batch) उपलब्ध गराइयोस।विकिरणका असरहरु दीर्घकालीन हुने र पछि पनि देखिने सक्ने भएकाले विकिरण जोखिम भत्ता सेवा निवृत्ती पश्चात् निवृत्तिभरणमा पनि समावेश गरियोस्। ५. नेपाल स्वास्थ्य सेवा तथा विभिन्न सरकारी प्रतिष्ठान अन्तर्गत कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुलाई रेडियोग्राफी सम्बन्धि थप उच्च शिक्षाको लागि छात्रवृत्ति तथा अध्ययन विदाको व्यवस्था गरियोस्।

६. निजि क्षेत्रमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको श्रमशोषण रोक्न मापदण्डको विकास गरियोस्।निजि क्षेत्रमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीको तलव सुविधा कम्तिमा सरकारी तलवस्केल बराबर हुनुपर्ने र उचित विकिरण जोखिम भत्ता एवं विकिरण अनुगमन उपकरण(TLD Batch) अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइयोस्। ७. निजि स्वास्थ्य संस्थाहरुको हकमा स्वास्थ्य मन्त्रालयले जारी गरेको "स्वास्थ्य संस्था स्थापना,संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०"मा व्यवस्था गरिएका मापदण्ड अनुसारका रेडियोलोजी/रेडियोग्राफी जनशक्ति कायम गर्नैपर्ने प्रबन्ध मिलाइयोस्।सो मापदण्ड विपरीत संचालित स्वास्थ्य संस्थाहरु तथा मापदण्ड विपरीत दर्ता तथा संचालनको अनुमति प्रदान गर्ने अधिकारीहरुलाई कारबाही गरियोस् । ८. सरकारी तथा निजि क्षेत्रमा कार्यरत अदक्ष व्यक्तिहरुलाई रेडियोग्राफी सम्बन्धि काम गर्न रोक लगाइयोस्।मापदण्ड विपरीत अदक्ष व्यक्तिलाई काम लगाउने व्यक्ति तथा स्वास्थ्य संस्थाहरुमाथि कारबाही गरियोस् । ९. रेडियोलोजी तथा रेडियोग्राफी क्षेत्रलाई हेर्ने गरि स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा विभाग तहमा एउटा छुट्टै संरचनाको विकास गरियोस्। रेडियोलोजी सेवाहरुको गुणस्तर मापन तथा अनुगमन गर्न गुणस्तर नियन्त्रक र विकिरण सुरक्षाको अनुगमन गर्न विकिरण सुरक्षा अधिकारीहरुको व्यवस्था गरियोस् ।

 

 

Last modified on 2017-07-04 14:45:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. We want +2 equivalent certificate too after completing our 3years course because we spend 3years for only this course with combine study of both 11 and 12 science in first year and other countries accept this course as +2 equivalent, why our country only needs equivalent course? I think this is the only ways to collect money from innocent students because if we can't study this course, how can we pass this tough course of Radiography?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts