३५ वटा अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त
काठमाडौँ, २५ पुस । स्वास्थ्य मन्त्रालयले ३५ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ ।
मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये ३५ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ । यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आजै ३५ अस्पतालमा पदाधिकारी नियुक्त गरेको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो । अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाएको थियो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति एव्म मनोनयनसम्बन्धी मापदण्डलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्री थापाले पेस गरेको मापदण्डलाई सरकारले मङ्सिर १६ गते नै स्वीकृत गरेको थियो । त्यसैगरी मन्त्रालयले खाली रहेका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पदाधिकारी नियुक्तका लागि २७ गतेसम्मको सूचना पनि निकाली सकेको छ । प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि इच्छुक व्यक्तिले यही पुस २७ गतेभित्र कार्ययोजनासहित मन्त्रालयको चिकित्सा सेवा महाशाखामा दरखास्त बुझाउन अनुरोध गरेको छ । उपकुलपतिको दरखास्त हाल्नेले १० पेजमा नबढाइ कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।
मापदण्डअनुसार जिल्ला अस्पतालको अध्यक्षका लागि स्नातक तथा केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पतालका अध्यक्षका लागि स्नातकोत्तर पास हुनुपर्नेछ । समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिबद्धतासहित कार्यसम्पादन करार गर्नुपर्नेछ । रासस
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।