बागेश्वरी माविका छात्राहरु भकाभक बेहोस
जाजरकोट २२, पुस । जाजरकोटको पजारु स्थित बागेश्वरी माध्यमिक विद्यालयका छात्राहरु एक्कासि बेहोस हुन थालेपछि पढाई प्रभावित भएको छ । पछिल्लो पाँच दिनदेखि छात्राहरुमा काम्ने र बेहोस हुने समस्या देखिएपछि बागेश्वरी माविको पढाई प्रभावित भएको हो ।
गएको आईतबार ३ जना छात्राहरु काम्दै बेहोस भएका थिए । त्यस लगतै दैनिक लगातार ३, ४ जना बिद्यार्थीहरु बिरामी हुन थालेका छन् । बिद्यार्थीहरुमा बेहोस हुने, रिँगटा लाग्ने, बान्ता हुने, टाउको दुख्ने, घाँटी दुख्ने, अचेत हुने, बर्बराउने, छिनमै सञ्चो हुने, छिनमै बिरामी हुने लगायतका समस्या देखिने गरेको विद्यालयका प्रधानध्यापक गोरखबहादुर बुढा क्षेत्रीले जानकारी दिए । छात्राहरु बेहोस हुन थालेपछि पढाईमा समेत बाधा पुगेको बिद्यालयले जनाएको छ । बिद्यालयमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा बिरामी ठिक भईसक्ने गरेकोले अस्पतालले समेत समस्या पहिचान गर्न नसकेको बिद्यालयले जनाएको छ ।