आवश्यक जनशक्ति बिनै कान्तिमा ५२ शैय्याको सघन उपचार कक्ष सञ्चालन
काठमाण्डौं २२, पुस । आवश्यक जनशक्ति बिनै कान्ति बाल अस्पतालमा ५२ शय्याको विस्तारित एकीकृत सघन उपचार कक्ष आइसीयु सञ्चालन गरिएको छ । कान्ति बाल अस्पतालको ५५ औ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले कक्षको उदघाटन गरेका हुन् ।
कान्ति बाल अस्पतालमा ५२ शय्याको विस्तारित एकीकृत सघन उपचार कक्षको सञ्चालनका लागि १ सय ५० जनशक्तिको आवश्यक पर्नेछ । त्यसमध्ये हाल अस्पतालमा ७९ जनामात्र नर्स लगायतका कर्मचारीहरु रहेका छन् । विस्तारित एकीकृत सघन उपचार कक्षको उदघाटन भएपनि यसमा औषधिको प्रयोग गरी स्वच्छ तथा संक्रमणरहित बनाउनु पर्ने भएकाले केही समय लाग्ने अस्पतालका कार्यकारी निर्देशक डा. अजित रायमाझीले बताए । ‘यस कक्षको पूर्ण सञ्चालन भने अर्को साताबाट हुनेछ ।’ रायमाझीले भने ।
एकीकृत सघन उपचार कक्ष सञ्चालनमा आएसँगै अब कान्ति बाल अस्पतालमा २५ शय्याको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), १५ शय्याको बालबालिका सघन उपचार कक्ष (पिआईसीयू), १० शय्याको सर्जिकल सघन उपचार कक्ष र २ शय्या संक्रमक विरामीको उपचारका लागि आइसोलेसन कक्षका सुविधा रहनेछन् । त्यसैगरी, उक्त कक्षमा ल्याबसहित फार्मेसी, स्टोर, क्यास काउण्टर र सोधपुछ कक्षको समेत व्यवस्था हुने अस्पतालको दावी छ ।
यस अघिसम्म कान्तिमा १८ शय्याको सघन उपचार कक्ष सञ्चालनमा थियो । ५२ शय्याको आइसीयू कक्ष सञ्चालनमा आएसँगै नवजात शिशु तथा अन्य बालबालिका आइसीयू अभावमा अन्यत्र जानु नपर्ने अस्पतालको दावी छ ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले सघन उपचार कक्षमा पहिलो पटक दिइने औषधिको मात्रा निशुल्क सेवासमेत शुरु गरेको छ ।
विक्रम संवत् २०१९ सालमा ५० शय्याको जनरल अस्पतालबाट सञ्चालनमा आएको कान्ति बाल अस्पतालमा हाल ३ सय २७ शय्या छ ।