स्वास्थ्य जनचेतनामा धामीझाँक्री
रसुवामा झाँक्रीहरुको तीन दिने सम्मेलन सम्पन्न
रसुवा २०, पुस । रसुवाका झाँक्रीहरुले मानव उपचारका लागि स्वास्थ्य केन्द्र र अस्पताल पहिलो प्राथमिकतामा राख्नु पर्ने विषयमा जनचेतना फैलाउने निर्णय गरेका छन् ।
रसुवाको स्याफ्रुमा आयोजित तीन दिने झाँक्री सम्मेलनले धामीझाँक्रीमाथि विश्वास हराउँदै गएको अवस्थामा जनचेतनामा आफुलाई प्रयोग गर्ने निर्णय गरेको हो ।
सँस्कृति जोगाउन भन्दै रसुवाको स्याफ्रुमा तीन दिने झाँक्री सम्मेलन आयोजना गरिएको छ । तामाङ समुदायको भाषा, धर्म, सँस्कृति तथा भेषभुषा हराउँदै जान थालेपछि रसुवाको स्याफ्रुमा रहको झोल्ताङ छुमी बम्बो संरक्षण समाजले झाँक्री, भेषभुषा तथा साँस्कृतिक कला प्रदर्शनी समेत गरेको थियो ।
तीन दिनसम्म भएको सम्मेलनमा दुई सय भन्दा बढी झाँक्रीको सहभागी भएका थिए । धामी झाँक्रीमाथिको विश्वास बिस्तारै हराउँदै गएपनि सँस्कृति संरक्षणका लागि सम्मेलन गरिएको आयोजकको भनाई छ ।
अहिले समाजमा तीन किसिमका झाँक्री रहेको विश्वास गरिन्छ । सिमेभुमे तथा देवीदेवतालाई पूजा गर्ने सङ्तुङ, कुलदेवतालाई मात्र पूजा गर्ने लवतावा र तिर्थयात्रा गर्ने तथा कुण्डमा गएर वर्षेनी पूजा गर्नेलाई सिङगारिएको अर्थात वास्तविक झाँक्री भनिन्छ । पुस १८ गतेदेखि भएको सम्मेलन आज सकिएको हो ।
-फाईल तस्वीर