आरोग्यका लागि आयुर्वेद 

आयुर्वेदको विकास र जडीबुटीको प्रवद्र्धनप्रति सरकार उदासिन 



Download our app to get more features

भारतीय योगसाधक रामदेवले नेपालमा अर्बौं लगानीका आर्युवेद उद्योग स्थापना गरिरहँदा नेपालमा सरकारी संयन्त्र आवश्यक सहयोगनिम्ति दिलोज्यानले जुटिरहेको देखिन्छ तर स्वदेशी आयुर्वेदिक उद्योगप्रति राज्यले सधै हेला गर्ने गरेको छ । सरकारी बेवास्ताकै परिणाम स्वदेशी जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गरी देश–विदेश पुर्याउन सकिएको छैन । अहिले स्वदेशमा रहेका आयुर्वेदिक उद्योगहरु निकै कठिन अवस्थामा रहेका छन् । प्रशस्त संभावना भएर पनि राज्यको सहयोग नपाउँदा स्वदेशी आयुर्वेदिक उद्योगहरु थप मारमा परेका छन् ।

 नुवाकोटमा जन्मिएका रामप्रसाद घिमिरे (५०) अमेरिकाको फ्लोरिडाका बासिन्दा हुन् । व्यवसायको सिलसिलामा उनी मस्तिष्क घात (स्ट्रोक) को सिकार हुन पुगे । अमेरिकामा दुईपटक उनको शल्यक्रिया भयो । शल्यक्रियापछि उनी प्यारालाइज्ड भए । पछिल्लो चार वर्षदेखि प्यारालाइसिसबाट ग्रसित घिमिरेलाई अमेरिकाका चिकित्सकले बाँच्दैनस्सम्म भने । तर, उनले हिम्मत हारेनन् र नेपाल आएर उपचार गर्ने सोचे । 
जेठदेखि उनी नेपालमै छन् । यहाँ नाम चलेकै अस्पताल र डाक्टरलाई देखाए । उपचार पनि गरे तर उनको समस्या समाधान भएन । अन्ततः उनी पुगे आयुर्वेदिक चिकित्सालय नरदेवी । त्यहाँ पुगेको एक सातामै चमत्कार भयो । उनी हात चलाउन सक्ने भए । उनी भन्छन्, ‘म निको हुन्छु भन्नेमा ढुक्क छु । निको भएर मलाई त्यो अमेरिकी चिकित्सकलाई देखाउनु छ ।’ घिमिरेलाई अहिले आयुर्वेदिक चिकित्सामा अपार विश्वास बढेको छ ।

तनहुँका २२ वर्षीय कमल थापा (२२) को १५ महिनाअघि पौडनेक्रममा एक्कासि स्पाइनमा समस्या देखियो । त्यही समस्याले शल्यक्रिया समेत गर्नुपर्ने अवस्था आयो । शल्यक्रियापछि उनी थला नै परे । उनले पोखरामा लामो समय उपचार पनि गरे । निको नभएपछि साथीको सल्लाहमा उनी नरदेवीमा तीन महिनादेखि उपचाररत छन् । उनले भने, ‘साथीको पनि मेरोजस्तै समस्या थियो, उसको निको भएको हँुदा विश्वासले आएको हुँ ।’ थापाको बिस्तारै स्वास्थ्यमा सुधार हुँदै आएको छ । थापाले नरदेवीमा अकुपन्चरको साथै आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गराइरहेका छन् । क्रमशः सुधार आएको बताउँदै उनले भने, ‘पूर्ण रूपमा ठीक हुने विश्वास लिएको छु ।’ 

केन्द्रीय आयुर्वेदिक चिकित्सालय नरदेवीका अनुसार अहिले उपचारका लागि आयुर्वेदिक अस्पताल पुग्नेको संख्या उल्लेख्य रूपमा बढेको छ । पछिल्ला दिनहरूमा आयुर्वेदिक अस्पतालमा दैनिक तीन सयजनासम्म उपचारका लागि आउने गरेको चिकित्सालय निर्देशक डा. रामदेव यादवले जनाए । यसमा बहिरंग र अन्तरंग सेवा लिने दुवै समावेश छन् ।

पछिल्लो समय नेपालमा आयुर्वेदिक औषधिको खपत बढेको छ । बढ्दो जनचेतना र रासायनिक औषधिको तुलनामा ‘साइड इफेक्ट’ कम हुने भएकाले आयुर्वेदिक औषधिको खपत बढ्दै गएको व्यवसायीहरू बताउँछन् । सिंहदरबार वैद्यखाना समितिका अनुसार हाल नेपालमा वार्षिक पाँच अर्ब रुपैयाँबराबरको आयुर्वेदिक औषधि खपत हुँदै आएको छ । सन् १९९९ मा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा डाबर इन्डियाका आयुर्वेदिक औषधिमात्र एक अर्ब १४ करोड रुपैयाँबराबरको आयात भएको देखाएको छ । उक्त अध्ययनअनुसार नेपालमा आयुर्वेदिक औषधिको वार्षिक खपतदर औसतमा २० प्रतिशतसम्मले बढ्दै गएको छ । तर, विश्वबजारमा भने हर्बल प्रडक्टको वृद्धिदर वार्षिक औसत १० देखि १५ प्रतिशत रहेको व्यवसायीहरू बताउँछन् । नेपाल सरकार आयुर्वेद विभागमातहतमा रहेका १४ अञ्चल आयुर्वेद औषधालय, ६१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ३०५ साधारण आयुर्वेद औषधालयको रिफरर संस्थाका रूपमा केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवी रहेको छ ।

के हो आयुर्वेद ?
आयु र वेद शब्दको योगले आयुर्वेद बन्छ । शरीर इन्द्रिय मन र आत्माको संयोगलाई आयु भनिन्छ । आयु भनेको जीवन हो । हिन्दुशास्त्र अनुसार सामाजिक, सांस्कृतिक तथा मानसिक रूपमा स्वस्थ आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । शरीरका सबै अंग सुन्दर, स्वस्थ र सबल रहेर व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक सबै पक्षमा आनन्दसाथ जीवनयापन गर्नु स्वस्थ आयु हो । स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आयुर्वेदको उद्देश्य हो । समष्टिगत रूपमा आयुर्वेदशास्त्रले मानव प्राणीको आयुमा बाधा पु¥याउने रोगका कारण, लक्षण र उपचारविधिको विस्तृत रूपले विवेचना गरेकोे छ ।

आयुर्वेदको इतिहास
आयुर्वेदको रचनाकाल ईसापूर्व ३ हजारदेखि ५ हजार वर्षपहिले भएको मान्यता छ । प्राचीन समयमा ऋषि अत्रेयले आयुर्वेदको विद्या आफ्ना ६ शिष्यलाई बाँडेका थिए भन्ने कथन छ । ती ६ शिष्यहरूमा– अग्निभेष, भेल, अतुकर्ण, पराशर, हारित र क्षारपाणी थिए । सुश्रुतसंहिताअनुसार भगवान् इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई दिएका थिए । अन्त्यमा धनवन्तरीले आयुर्वेदको ज्ञान आफ्ना सातजना शिष्य औषधेनव, वैतरण, उरभ गोप्ररक्षित, पौषकलावत, करविर्य र सुश्रुतलाई दिएका थिए । कश्यपसंहिता अनुसार इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान कश्यप वशिष्ठ भृगु अत्रीलाई दिएका थिए । यसरी बिभिन्न कालखण्डमा आयुर्वेदको ज्ञान एकबाट अर्कोमा हस्तान्तरण हुँदै आएको धर्मग्रन्थहरूमा उल्लेख छ ।

नेपालमा आयुर्वेद
परम्परागत चिकित्सापद्धति आयुर्वेदले जडीबुटी प्रयोग गरी गाउँघरमै विभिन्न रोगमा उपचार गरी स्वास्थ्यसेवा प्रदान गर्ने प्रचलन नेपालको अति प्राचीन परम्परा हो । संवत् १७९० को दशकमा राजा रणजित मल्लले पादरीमार्फत पश्चिमा संसारमा लोकप्रिय बन्दै गरेको औषधि तथा आधुनिक चिकित्साविधि नेपाल भित्र्याएको मानिन्छ । त्यसताका नेपालमा करिब ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा आयुर्वेद चिकित्सापद्धतिमार्फत जडीबुटीद्वारा उपचार गर्ने गर्थे । नेपालमा चार हजारभन्दा बढी प्रभावशाली जडीबुटी पाइन्छन् । नेपालको माटो दल्दामात्रै शरीरको ७५ थरीका रोग निको हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । विभिन्न हरिया वनस्पतिको धूवाँ सुँघाएर मात्रै १३ वटा रोग निको पार्न सकिन्छ ।

सिंहदरबार वैद्यखाना 
काठमाडौंको अनामनगरस्थित सिंहदरबार वैद्यखाना मुलुकको एकमात्र सरकारी आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योग हो । उसले आयुर्वेदसँग सम्बन्धित सम्पूर्ण परामर्श निःशुल्क दिने गरेको छ । सिंहदरबार वैद्यखानाका विकास समिति प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले पाँच वर्षभित्र सिंहदरबार वैद्यखानाले डब्लुएचओका मान्यताअनुरूप कुशल औषधि निर्माण अभ्यास जीएमपीमा जानेछ । त्यसका लागि अहिले भवन निर्माणकार्य भइरहेको छ । वैद्यखानालाई व्यवस्थित बनाउन औषधि व्यवस्था विभाग, आयुर्वेदिक विभाग तथा उत्पादक संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । अहिले सिंहदरबार वैद्यखाना मेनुअली प्रविधिमा चलेको छ । वैद्यखानाका आयुर्वेदिक औषधिको माग बजारमा अत्यधिक भए पनि वैद्यखानाले पूर्ति गर्न नसकेको सिंहदरबार वैद्यखानाका विकास समिति प्रबन्ध निर्देशक डा. गिरीले बताए ।

आयुर्वेद औषधि उद्योग बढ्दै 
आयुर्वेदिक औषधिको बढ्दो मागसँगै स्वदेशी कम्पनीको संख्या पनि बढिरहेको छ । नेपालमा हाल करिब ८० वटा आयुर्वेदिक औषधि कम्पनी उत्पादनका लागि दर्ता गरिसकेका छन् । यसमध्ये ४२ कम्पनीले आफ्नो उत्पादन बजारमा पठाएका छन् । केही वर्षअघिसम्म अधिकांश आयुवेर्दिक औषधि भारतबाट आयात हुँदै आएको थियो । तर, अहिले कुल मागको २५ प्रतिशत औषधि नेपाली कम्पनीबाटै उत्पादन हुन थालेको औषधि व्यवस्था विभागका आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवालीले बताए । शास्त्रीय प्रणाली (आयुर्वेदिक प्राचीन ग्रन्थमा दिइएको) बाट उत्पादित आयुर्वेदिक औषधिको माग नेपालमा मात्र नभई विश्व बजारमा समेत बढेको छ । तर, नेपाली कम्पनीले ठूलो मात्रामा औषधि उत्पादन गर्न सकेका छैनन् । हाल नेपालको कुल मागको करिब २५ प्रतिशत औषधि नेपाली कम्पनी उत्पादन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि माग बढ्दो 
अहिले पनि हामी आयुर्वेदिक औषधिका लागि भारतकै भर पर्नुपरेको छ । त्यसैले लगानीका लागि आयुर्वेद औषधि उत्पादन ठूलो सम्भावनाको क्षेत्रका रूपमा रहेको छ । एलोपेथिकका तुलनामा आयुर्वेदिक औषधिको ‘साइड इफेक्ट’ कम हुने भएकैले पछिल्लो समय युरोप तथा अमेरिकी मुलुकमा समेत आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गएको डा. ज्ञवालीको भनाइ छ । परम्परागत ढंगबाट सञ्चालन हुँदै आएका आयुर्वेदिक औषधि कम्पनीले पछिल्लो समय आधुनिक प्रणाली अपनाउन थालेसँगै विदेश निर्यात पनि बढेको छ । नेपालबाट युरोपका विभिन्न देशमा करिब ३० भन्दा बढी प्रकारका जडीबुटीजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात भइरहेको छ ।

कच्चा पदार्थको कठिनाइ 
आयर्वेदको तीन स्रोत रहेको छ । वनस्पतिजन्य, प्राणीजन्य र खनिजजन्य । नेपालमा स्थापित कतिपय आयुर्वेदिक औषधि उद्योगले अहिले पनि भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । उता, नेपालबाट भने ठूलो परिमाणमा जडीबुटी विदेश निर्यात भइरहेको छ । नेपालबाट सबैभन्दा बढी चीनमा जडीबुटी निर्यात हुने गरेको नेपाल हर्ब एन्ड हर्बल एसोसिएसन अध्यक्ष गोविन्द घिमिरेले बताए ।

 नेपालमा आयुर्वेदिक औषधि उत्पादनका लागि आन्तरिक कच्चा पदार्थ जडीबुटी कति खपत हुन्छ भन्ने कुनै तथ्यांक न सरकारसँग छ न निजी क्षेत्रसँगै छ । अध्यक्ष घिमिरेका अनुसार नेपालमा जति जडीबुटी संकलन हुन्छ, त्यसको ९० प्रतिशत विदेश निर्यात हुने र बाँकी १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । नेपालबाट विदेश खासगरी भारत र चीन वार्षिक करिब सात हजार पाँच सय मेट्रिक टन निर्यात हुने गर्छ । निर्यात हुने जडीबुटी ६५ देखि ७० प्रकारका छन्, जसमध्ये २० प्रकारको जडीबुटी माग एकदम उच्च छ । ‘सरकारले कच्चा पदार्थ खरिद गर्दा टेन्डर प्रक्रियामा जान्छ, जुन एकदम झन्झटिलो छ,’ अध्यक्ष घिमिरेले भने, ‘कच्चा पदार्थको गुणस्तरभन्दा पनि कसले बढी कमिसन दिन्छ कर्मचारी त्यतै लाग्छन् ।’ घिमिरेका अनुसार स्वदेशी गुणस्तरीय जडीबुटी विदेश निर्यात हुने र विदेशी कमसल जडीबुटी स्वदेश भित्रिने क्रम बढिरहेको छ ।

सिंहदरबार वैद्यखाना विकास समिति प्रबन्ध निर्देशक डा. गिरीले सरकारले आयुर्वेद औषधि उत्पादनमा प्रयोग हुने जडीबुटीको ओर्जिन प्लान्ट्सको नियमन गरी गुणस्तरीय कच्चा पदार्थका लागि नेपालमै व्यावसायिक खेती गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।

कच्चा पदार्थका लागि सरकारले के गर्यो  ?
आर्थिक वर्ष २०७३/०७४ को बजेटमा जडीबुटी एवम् गैरकाष्ठ प्रजातिको उत्पादन, प्रशोधन र बजारीकरणका लागि पकेट क्षेत्र निर्धारण गरिने, कर्णालीलगायतका विभिन्न भौगोलिक क्षेत्रमा पाइने टिमुर, लप्सी, लौठसल्ला, बोधिचित्त, रुद्राक्ष, तेजपात, अर्गेली, च्युरी, चिराइतो, श्रीखण्ड र मेन्थाजस्ता विशेषप्रकारका जडीबुटीको व्यावसायिक उत्पादन वृद्धि गर्न किसानलाई ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराइने र यी सबै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले घोषणा गरेका थिए । तर, अझैसम्म कर्णालीमा जडीबुटी कुहिरहेका छन् । प्राकृतिक जडीबुटीको अत्यधिक दोहन भइरहेको छ । उदाहरणकै लागि हेर्ने हो भने यार्सागुम्बाको चोरी निकासी तथा अव्यवस्थित संकलनलाई हेर्न सकिन्छ ।

उद्योगले जीएमपी अझै लिन सकेनन् 
आयुर्वेद स्वास्थ्य नीति २०५२ ले देशमा स्थापित वा स्थापना हुने सरकारी एवम् गैरसरकारी क्षेत्रका आयुर्वेद औषधि निर्माण कम्पनीलाई कुशल औषधि निर्माण अभ्यास (Good Manufacturing Practice GMP)
का आधारमा गुणस्तरयुक्त औषधि निर्माणमा प्राविधिक सहयोग एवम् प्रोत्साहित गरी आयातमा कमी गर्दै निर्यात प्रवद्र्धन गरिने उल्लेख छ । तर, अझैसम्म सरकारकै एक आयुर्वेद औषधि कम्पनी सिंहदरबार वैद्यखानालाई सरकारले कुशल औषधि निर्माण अभ्यास (GMP) मा लैजान सकेको छैन ।

दुई वर्ष अगाडि भाष्कर हर्बसिटिकल्स प्रालिले आयुर्वेदिकतर्फ नेपालमै पहिलोपटक डब्ल्युएचओ कुशल औषधि निर्माण अभ्यास ९न्ययम ःबलगाबअतगचष्लन एचबअतष्अभ न्ःए० सर्टिफिकेट पाएको थियो । २० कम्पनी डब्ल्युएचओ जीएमपीलाई अनुशरण गर्दै यसको तयारीमा रहेका छन् । सिंहदरबार वैद्यखाना विकास समिति प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले स्वास्थ्य नीति २०७१ र आयुर्वेद स्वास्थ्य नीति २०५२ अन्तर्गत रहेर सिंहदरबार वैद्यखानाले जीएमपीका लागि प्रक्रिया अघि बढाएको बताए । 

वर्तमान अवस्था 
आयुर्वेदको विकास र जडीबुटीको प्रवद्र्धन कागज र भाषणमा मात्र सीमित भइरहेको छ । जसबाट आयुर्वेद चिकित्सा क्षेत्रमा काम गरिरहेका निजी क्षेत्र समेतमा नैराश्य छाएको छ । देशबाट जडीबुटी अवैध रूपमा सस्तोमा बिदेसिन्छ र ती जडीबुटीबाटै बनेका औषधि ी महँगोमा विदेशबाट आयात गरी सेवन गर्न हामी बाध्य छौं । आमसर्वसाधारणको आयुर्वेदप्रति चासो छ तर सरकार, आयुर्वेद स्वास्थकर्मी, आयुर्वेदका क्षेत्रमा काम गर्ने संघ–संस्था जनताको चाहनाबमोजिम आयुर्वेदको क्षेत्रलाई फराकिलो बनाउन सकिरहेका छैनन् ।
अन्त्यमा, 

आयुर्वेदको उपचार आधुनिक चिकित्साविज्ञानभन्दा फरक छ । सबै औषधि जडीबुटीबाट बनाइन्छ । हरेक रोगको उपचारमा प्रयोग हुने औषधि, रोगका कारण र बिरामीको अवस्थाअनुसार फरक–फरक हुन्छन् । त्यसैले कुनै पनि आयुर्वेदिक उपचारका लागि आयुर्वेदका डाक्टरलाई जँचाएरमात्र उपचार गर्नुपर्ने केन्द्रीय आयुर्वेद विद्यापीठ दाङका द्रव्यगुण विज्ञान विशेषज्ञ प्रा.डा. श्याममणि अधिकारीले बताए । बजारमा पाइने तयारी आयुर्वेदिक औषधि आफूखुसी सेवन गर्नु हानिकारक हुने अधिकारीको जिकिर छ । त्यसैले जथाभावी आयुर्वेदिक नाम सुन्नेबित्तिकै औषधि सेवन नगरौं । चिकित्सकको सल्लाहमा मात्र आयुर्वेदिक औषधि सेवन आयोग्य जीवनका लागि लाभदायक हुने प्रा.डा. अधिकारीको ठहर छ ।

-हाम्रो डक्टर मासिक पत्रिकाबाट

Last modified on 2017-07-06 13:03:00

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. अहिले समय बदलिएसकेको छ किनकी रासायनिक औषधिबाट मानव स्वास्थ्य पर्ने हानिकारक असरहरुको कारणले विश्वभरीका बैज्ञानिकहरुले नेचुरल औषधिको अनुसन्धानमा लागि परेका छन।नेपालमा पनि केही डाक्टरहरु प्लान्ट मेडिसिनको रिसर्चमा लागिसकेको देखिन्छ।नेपालका थुप्रै नाम चलेका अस्पतालका अनुभवि सिनियर डाक्टरहरुले आयुर्वेदिक मेडिसिन सिफारिस गरेको देखिन्छ, रिजल्ट पनि धेरै राम्रो देखिन्छ।नेपालमा धेरै पनि धेरै राम्रा अनुसन्धान गर्ने चिकित्सकहरु भएकालेे राज्यले उनिहरुलाई रिसर्चमा लगाएर नयाँ नयाँ औषधिको आविष्कार गरि विभिन्न रोगहरुमा प्रयोग गर्नु राम्रो हुन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts