सार्वजनिक शौचालय फोहोर
काठमाडौँ, २० पुस । लगनखेल बसपार्कस्थित सार्वजनिक शौचालय प्रयोग गर्न भित्र गएकी गोदावरीकी मैना सिलवाल उल्टी गर्दै बाहिर निस्निइन् ।
शौचालय फोहोर र दुर्गन्धित भएकाले प्रयोग गर्नै सास्ती भएको उनले बताइन् । पर्याप्त पानी नभएकाले शौच गर्न अप्ठ्यारो भएको उनले बताइन् । ‘भित्र चुरोटको धुवाँले सास फेर्नै सकिनँ, गनहाएर उस्तै, वान्ता नै भयो’ उनले भनिन् ।
दैनिक लगनखेल आउजाउ गर्ने सिलवालले यो शौचालय सधैँ फोहोर रहने बताइन् । शुल्क भने ५ रुपैयाँ लिने, फिनेल नहालिने, पानी नहुने, ढोकामा चुकुल नभएकाले आपत पर्दा प्रयोग गर्न नसकिने उनले गुनासो गरिन् ।
लुभुका शैलेश महर्जनले पनि यो सार्वजनिक शौचालय सधैँ फोहोर हुने बताए । नाकमुख बन्द गरी शौचालय प्रयोग गर्नुपरेको उनले बताए । ‘कम्तीमा फिनेल पानी मात्रै हालिदिए दुर्गन्ध कम हुन्थ्यो,’ उनले भने । शौचालय वरपर गाडी कुरेर बस्ने प्रायः सबैले नाकमुख थुनेर उभिएको भेटिन्छन् । यो प्रयोग गर्नुभन्दा नजिकैको होटलमा चिया खाएर त्यहीको शौचालय प्रयोग गर्ने गरेको केहि यात्रुले बताए ।
ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेका अनुसार सार्वजनिक शौचालयको हेरचाह र अनुगमनको जिम्मा केही ठेकेदारलाई दिइएको छ । ती ठेकेदारहरुको व्यवस्थापनका कारण शौचालय फोहोर बनेका हुन् । आजभोलि नै ठेकेदार खटाएर सफाई गर्ने उनले बताए ।
बागबजारस्थित भक्तपुर बसपार्कमा रहेको शौचालयको अवस्था पनि उस्तै छ । शौचालयभित्र धारा नभएकाले बाहिरबाट पानी ल्याएर प्रयोग गर्नुपर्ने बसका चालक तिलक महर्जनले गुनासो गरे । सर्वसाधारणले शौचालय वरपर शौच गर्न थालेपछि बसपार्कको वातावरण दुर्गन्धित भएको स्थानीय व्यापारी बताउँछन् ।
नेपाल चिकित्सक संघका महासचिव महासचिव डा.लोचन कार्की सरुवा रोगको प्रमुख स्रोत फोहोर शौचालय हुने बताउँछन् । फोहोर शौचालय प्रयोग गर्नेलाई टाइफाइड, जन्डिसलगायत रोगको संक्रमण हुने उनी बताउँछन् । काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ सार्वजनिक शौचालय व्यवस्थित नहुनुमा सर्वसाधारण पनि जिम्मेवार रहेको मान्छन् ।
सार्वजनिक शौचालयबाट दिनहुँ साबुन, टाबेल धाराका टुटीहरु चोरी हुने गरेको उनले बताए । सार्वजनिक शौचालयमा साबुन, न्याप्किन सकिएको भेटिए मागेर प्रयोग गर्न सकिने उनले बताए ।
(आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>