दृष्टिविहीन विद्यार्थीका लागि ‘क्वीज ब्याटल’ हुने
काठमाण्डौं १८, पुस । माध्यमिक तहमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको लागि ‘क्वीज ब्याटल’ नामक अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगिता आयोजना हुने भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको लिभ एण्ड लिड इन्टरनेशनलले सोमवार काठमाण्डौंमा पत्रकार सम्मेलन गरी हाजिर जवाफ प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो ।
५५ जिल्लामा रहेका ७२ विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको अडिसन लिइने कार्यक्रम संयोजक प्रकास कर्णले बताए । ति विद्यालयमा छनोट भएका दृष्टिविहीन बालबालिकाको ५४ वटा समुह बनाइ काठमाण्डौंमा हाजिर जवाफ प्रतियोगिता गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा विजयी हुनेलाई माध्यमिक तहमा अध्ययनका लागि छात्रवृतिका साथै नगद पुरस्कार दिइने छ । साथै ५ मेघावी एवम् आर्थिक अवस्था कमजोर भएका दृष्टिविहिनलाई उप्राविधिक शिक्षा तथा तालिम तर्फ छात्रवृति दिने अध्यक्ष नविन यादवले बताए ।
प्रतियोगीताका लागि एक महिनाभित्र अडिसन लिन सुरु गरिने बताइएको छ । अडिसन लगत्तै क्वीज ब्याटल नेपाल टेलिभिजनबाट प्रशारण गरिने छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>