द्वन्द्वका घाइतेको निःशुल्क उपचारको व्यवस्था
नेपालगन्ज (बाँके), १८ पुस । सशस्त्र द्वन्द्वमा घाइते भएकाहरुको अबदेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।
शान्ति कोष सचिवालयको आर्थिक सहयोगमा द्वन्द्वपीडित अपाङ्ग व्यक्तिलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
सो अस्पतालका छाला रोग विशेषज्ञ डा बद्री चापागाईंले कार्यक्रमअन्तर्गत बिरामीको उपचारका साथै निजका सहयोगीलाई यातायात खर्च, आवासको व्यवस्थासमेत गरिएको छ । मध्य तथा सुदूरपश्चिमका करिब पाँच हजार त्यस्ता पीडितलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अस्पतालका वीरेन्द्रबहादुर चन्दले बताए ।
कुहिएको चामल बरामद
कुहिने अवस्थामा पुगेको चामललाई पालिस लगाएर नयाँ जस्तो बनाई बिक्री गर्न ठिक्क पारेको करिब २५ बोरा चामल आइतबार जिल्लास्तरीय अनुगमन टोलीले बरामद गरेको छ ।
अनुगमन समितिका सदस्य अच्युत खरेलका अनुसार स्थानीय अमर राइस मिलको गोदामबाट बरामद गरिएको सो चामललाई अनुगमन टोलीले सिल गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
यसअघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत नेतृत्वको अनुगमन टोलीले नेपालगन्जका विभिन्न पसलको अनुगमन गरेको थियो । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>