‘एचआइभी एड्स न्यूनीकरणमा सरकारी लगानी पुगेन’
काठमाण्डौं, १४ पुष । एचआइभी तथा एड्स न्युनिकरणका लागि देशभित्रै अनुदान र सहयोग बढाउन पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
एड्स तथा एचआईभी क्षेत्रमा क्रियाशिल संस्था एड्स हेल्थ फाउण्डेसन नेपालले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागीले आन्तरिक अनुदान वृद्धि गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा संसदको महिला, बालबालिक, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले नयाँ संविधान बनेसँगै निर्माण हुने कानुनमा एड्स तथा एचआइभी न्युनिकरण गर्ने किसिमका प्रभावकारी कानुन बनाउन दबाब दिने बताइन् ।
त्यस्तै सांसद लक्ष्मण राजवंशीले सरकारले २०३० सम्म एड्स समाप्त पार्ने लक्ष्य हचुवाका भरमा भएको बताएका छन् । ‘सरकारको यो कदम कुनै पनि हालतमा सम्भव छैन’ उनले भने ‘सरकारले विदेशमा गएर घोषणा पत्रमा हस्तारक्षर गर्ने र नेपालको एयरपोर्टमा आउँदा बिर्सन्छन् ।’
अन्तराष्ट्रिय मापदण्ड अनुसार हरेक देशमा स्वास्थ्यमा कुल बजेटको ११ प्रतिशत छ्ट्याउनु पर्नेमा नेपालमा ५ प्रतिशतमात्र छुट्याइएकोमा त्यसबाट पनि एचआइभी लक्षित कार्यक्रममा एकदमै न्यून बजेट राखेकोमा सभासद एवं सरोकारवालाहरुले आपत्ति प्रकट गरेका छन् । सांसद राजवंशीले न्यून बजेटले गर्दा एड्स तथा एचआइभी संक्रमणमा कमि ल्याउन कठिनाइ हुने धारणा राखे ।
त्यसैगरी आयोजक एड्स हेल्थ फाउण्डेशनका नेपाल प्रमुख दिपक ढुंगेलले सरकारले एचआइभी एड्स न्यूनिकरणका लागि आन्तरिक रुपमा बजेट एवं अनुदान बढाउनुपर्ने तर्फ ध्यानाकर्षण गराए । उनले सरकारसँग इच्छाशक्ति भएरपनि बजेट अपुग भएमा दातृ निकायहरुले सहयोग गर्ने बताए ।
कार्यक्रममा २० जना भन्दा बढी सांसदहरुका साथै दर्जनौं सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।
1 Comments
-
hiv सङ्क्रमित हरुको लगि पनि सरकार्ले सोरोजगार बनाउन प्राथमिक दिन पर्यो
Reporter
View Other Stories by Author >>