थुनेलो रोग निको पार्ने औषधि पहिचान

पशु स्वास्थ्य

What's This?


Download our app to get more features

चितवन, १४ पुस । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गर्दा यो औषधि उपयुक्त ठहरिएको कार्यक्रम प्रमुख डा माधवप्रसाद आचार्यले बताए । 

अनुसन्धानले अन्य औषधिहरू जस्तै टेटरासाइक्लिन, क्लोरामफेनिकोल, इन्रोफ्लोक्सासिन पनि प्रभावकारी नै देखिए पनि पेनिसिलिन भने न्यून प्रभावकारी देखिएको उनले बताए । 

दुहुना पशुको कल्चौडो र थुनमा समस्या भइ दूध उत्पादनमा कमी गराउने रोगलाई थुनेलो भनिन्छ्र । थुनेलो रोग दुहाना पशुमा आर्थिक नोक्सान गर्ने रोगमध्ये एउटा प्रमुख रोग हो । 

परिषद्की अनुसन्धानकर्ता डा गीता पाण्डेका अनुसार थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुुन्छन् । थुनेलो भएमा थुन, कल्चौडो सुनिने, दूधमा रगत देखिने, साना साना चोक्टा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा निकै कमी आउने र समयमा उपयुक्त औषधि उपचार नगरे थुन कानो हुने र थुन झर्न पनि सक्ने उनले बताइन् । लक्षण नदेखिने थुनेलो भएमा कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने उनले बताइन । थुनेलो रोग विभिन्न किटाणुबाट लाग्दछ्र । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमद्वारा आव २०७२÷७३ मा चितवनको माडी र कास्कीका १ सय २० गाईका ४ सय ८० दूधका नमुना परीक्षणमा गर्दा ५०.४ प्रतिशत लक्षण नदेखाउने किसिमको थुनेलोको प्रकोप देखिएको प्रमुख आचार्यले बताए । जसमध्ये स्टाफाइलोकोकसले ३४ प्रतिशत, इकोलाइले २२.८ प्रतिशत, इस्ट्रेप्टोकोकसले ११.४ प्रतिशत, सिउडोमोनसले चार प्रतिशत, स्टाफाइलोकोकस र इकोलाईको संयुक्त १५.२ प्रतिशत र अन्य किटाणुद्वारा ११.४ प्रतिशत थुनेलोको सङ्क्रमण गराइएको पाइएको उनले  बताए । 

रोग लाग्न नदिनका लागि गाई, गोठ र काम गर्ने मान्छेको सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बतनए । दूध सुकाउने बेलामा थुनभित्र एन्टिबायोटिक औषधि राखेर छोड्नु राम्रो हुने परिषद्का डा शिवहरि घिमिरेको भनार्इ छ । 

दूध दुहिसकेपछि थुनलाई पोभिडिन आयोडिन र गिलसरिन मिश्रित झोलमा डुबाउने गर्नाले पनि थुनेलो रोगको प्रकोपमा कमी ल्याउन सकिने घिमिरेले बताउनुभयो ।

-रासस 
 

Last modified on 2017-07-06 15:31:20

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts