साहित्यकार कमलमणि रहेनन्
ललितपुर १४ पुस । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान २ बजेर ४५ मिनेटमा ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।
केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो । श्वासप्रश्वाससम्बन्धी समस्या र छातीमा देखिएको ‘इन्फेक्सन’का कारण झण्डै ३ महिनादेखि बी एण्ड बी अस्पतालमा उपचाररत दीक्षितलाई पछिल्लो सातामा निमोनिया समेतले ग्रसित बनाएको उनका छोरा कनकमणिले बताए । पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी (सन् १९२९ अगस्त २) का दिन काठमाडौंको गैरीधारामा उनको जन्म भएको थियो।
दीक्षित २०१२ सालमा स्थापित मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको संस्थापक हुन् । दीक्षितका दुई छोरा र एक छोरी छन् ।