सात महिनामै जुम्ल्याहा, आमा शिशु तीनैजना स्वस्थ
विराटनगर १३, पुस । भारत बिहार राज्य सुपौल फुलकाहाकी अनितादेवी दास अहिले दंग छिन् । गर्भवती भएको सात महिनामा नै जटिलता देखिएपछि उनको शल्यक्रिया गरियो र उनले जुम्ल्याहा बच्चा पाइन् । दुबै बच्चा र आफु स्वस्थ्य भएको कारण २४ वर्षकी अनिता दंग परेकी हुन् ।
गर्भवती भएको ७ महिनामै ‘जटिलता’ देखिएपछि आमालाई सुरक्षित राख्न विराटनगरस्थित गोल्डेन हस्पिटलमा अनिताको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि जन्मिएको जुम्ल्याहा बच्चाको अवस्था अहिले स्वस्थ्य छ । गर्भमा अत्याधिक पानी जमेकाले गर्भवती महिलाको स्वास्थ्य स्थिति बिग्रन थालेपछि शल्यक्रिया गर्दा कम तौलको बच्चा जन्मिएको थियो । दासको गर्भमा रहेका जुम्ल्याहा बच्चामध्ये एउटा बसेको ठाउँमा अत्याधिक पानी जमेको थियो। अर्को बच्चा बसेको ठाउँमा भने पानी नै थिएन । ‘निकै नै जटिल समस्या थियो,’ स्त्रीरोग विशेषज्ञ डाक्टर केएम गुड्डीले भनिन्, ‘पानी अत्याधिक जमेकाले भिडियो एक्सरे गर्दा पनि बच्चाको अवस्था थाह भएन ।’
गर्भवती भएको २६ हप्ता ५ दिनमै अनिता उपचारकालागि विराटनगरको गोल्डेन अस्पताल पुगिन् । गर्भमा पानी निकै जमेकाले अनितालाई सास फेर्न पनि समस्या भएपछि उनी उपचारका अस्पताल पुगेकी हुन् ।
जुम्ल्याहा मध्ये एक बच्चाको तौल थोरै
शल्यक्रिया गरेर जन्मिएको जुम्ल्याहा बच्चा मध्ये एउटाको तौल सारै कम थियो । ७ सय ५० ग्राम तौल भएको एउटा बच्चा झण्डै मुसाकै जत्रो थियो । बच्चा जन्मिदा समान्य २ किलो ५० ग्रामको हुनुपर्छ । एक किलोसम्म तौल भएको बच्चाको हुर्किने सम्भावना बढी हुन्छ । त्यस भन्दा मुनिको तौल भएको बच्चा हजारौंमा एकजना बाँच्छ । जुम्ल्याहामध्ये अर्को बच्चाको तौल १ हजार ५० ग्राम थियो । तर, उनको स्वास्थ्यमा पनि समस्या थियो ।
गोल्डेन अस्पतालकै डाक्टर मनोज श्रीवास्तवले आइसियूमा राखेर दुबै बच्चाको उपचार गर्न थाले । ‘७ सय ५० ग्राम तौल भएको बच्चा जन्मिदा रुँदै रोएन,’ बच्चाका डाक्टर श्रीवास्तवले भने, ‘त्यो बाच्ला भने लागेकै थिएन, त्यसैले १ हजार ५० तौल भएको बच्चालाई बचाउन बढी ध्यान दिए ।’ उनका अनुसार ७ सय ५० ग्राम तौल भएको बच्चालाई सुम्सुम्याउँदा रुन थालेपछि उनको उपचारलाई पनि प्राथमिकतामा राखियो । ३० दिन लामो सघन उपचारपछि ७ सय ५० तौल भएका बच्चाको तौल अहिले १ हजार ५० ग्राम र १ हजार ५० ग्राम तौल भएका बच्चाको तौल १ हजार २ सय ग्राम पुगेको छ । ‘दुबै बच्चाको हुर्किने बृद्धि आश्चर्यजनकरुपमा बढेको छ,’ डा. श्रीवास्तवले भने, ‘बिरामीका परिवार पनि सहयोगी भूमिका निर्वाह गरेकाले बच्चा र आमा दुबैलाई जोगाउन सकियो ।’ सफल उपचारपछि आमा र जुम्ल्याहा बच्चा घर फर्किएका छन् ।
अनितादेवी दास