पत्रकारको निशुल्क मिर्गौला जाँच
काठमाण्डौ, ११ पुस । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मिर्गौला परिक्षण गर्न सवैलाई आह्वान गरेका छन् ।
नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मिर्गौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गरेका हुन्। हरेक ६÷६ महिनामा मिर्गौला परीक्षण गर्नु पर्ने भएपनि नेपालमा धेरैले परीक्षण नगरेकाले गाँउ गाँउमा परिक्षणको व्यवस्था गरिएको मन्त्री थापाको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाएको छ । आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाई छ । चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मिर्गौला परिक्षण गर्न सकिने व्यवस्था गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यक्ता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिए । गाँउ गाँउमा निःशुल्क मिर्गौला परिक्षणको व्यवस्थाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि आज नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मिर्गौला परिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा १३२ जना पत्रकारको मृगौला परीक्षण गरिएकोमा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिईएको थियो । प्रेस युनियनको रजत उत्सवका अवसरमा स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा मिर्गौला परिक्षण कार्यक्रम आयोजना गरिएको हो । मिर्गौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक सहयोग गरेका थिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।