केयुको उपकुलपतिका लागि चलखेल तिब्र

माकाजुका पक्षधर नेताको घर घरमा

What's This?


Download our app to get more features

काभ्रे ११, पुस । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तीका लागि चलखेल तिब्र भएको छ । नेताका घर घरमा धाएर केयुका निर्वतमान उपकुलपति डा. रामकण्ठ माकाजुलाई दोस्रो पटक सोही पदमा नियुक्ति दिलाउन लबिइङ समेत सुरु भएको छ ।

उपकुलपति छनोट समितिका सदस्यहरू सुरेशराज शर्मा र दमननाथ ढुंगाना माकाजुको पक्षमा भए पनि शिक्षामन्त्री धनीराम पौडेलले विकल्प खोजेपछि काभ्रेका राजनीतिक दलका नेता तथा प्राध्यापक संघका पदाधिकारीसहित माकाजु लबिइङमा जुटेका हुन् । यो टोलीले कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरूलाई भेटेको छ । आइतबार टोली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेको थियो ।

यसअघि पनि धुलिखेलका विभिन्न दलका नेता, अस्पतालका निर्देशकसहितको टोलीले देउवालाई भेटेको थियो । देउवासँगको भेटपछि संयुक्त फोटो खिचेर सामाजिक सञ्जालमा समेत राखिएको छ । टोलीले माकाजुलाई उपकुलपति बनाउन एमाले अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायतलाई भेटेको छ । लोभलालचमा नपर्ने र विश्वविद्यालयको अहित हुने कुनै पनि सम्झौता नगर्ने भएकाले माकाजु नै चाहिने टोलीको दावी छ । केयुका लागि माकाजु नै उपयुक्त हुने टोलीको भनाई छ ।

माकाजु पनि चोखा छैनन्
माकाजुले उपकुलपति हुनेबित्तिकै पूर्वाधार नपुगेका विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएका थिए । स्थानीयले माकाजुको यो कामलाई तत्कालीन माओवादी सरकारको दबाबले दिएको भन्दै संरक्षण गरेका छन् ।

मेडिकल क्षेत्रका सफल व्यक्ति भए पनि विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सलाई माकाजुले विवादित बनाए । यसले सिंगो विश्वविद्यालयकै साख गिर्न पुगेको छ ।स्थानीयले विश्वविद्यालयमा माओवादीले राजनीति छिराएको आरोप लगाउँछन् ।

तेस्रो व्यक्तिको खोजी
प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले सबैलाई सहमति गराएर योग्य व्यक्तिलाई चाँडै उपकुलपति नियुक्ति गर्ने बताएका छन् । उपकुलपति छनोट समितिका तीन जनाले उपकुलपतिको उम्मेदवार टुंग्याउन नसकेपछि दाहालले चासो देखाउँदै शनिबार समितिका सदस्य शिक्षामन्त्री धनीराम पौडेल र सुरेशराज शर्मासँग छलफल गरेका थिए ।

शिक्षामन्त्री पौडेलले उपकुलपतिमा रजिस्टार भोला थापा र प्रा. जनार्दन लामिछानेलाई पनि सिफारिस गर्नुपर्ने अडान लिएका छन् । शर्मा र अर्का सदस्य दमननाथ ढुंगाना माकाजुको मात्रै नाम सिफारिस गर्नुपर्ने अडानमा छन् । तीनैजनाले अघि सारेको भन्दा अन्य विकल्प रोज्नुपर्ने विश्वविद्यालयका प्राध्यापकहरूको भनाइ छ ।

Last modified on 2017-07-07 17:22:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts