खुल्यो आइओएमको ताला
काठमाडौं, ११ पुस । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा तीन सातादेखि लागेको ताला आज खुलेको छ ।
डा. गोविन्द केसीको अनसनपछि आइओएमको डिन नियुक्त भएका डा। जगदीश अग्रवाल र आन्दोलनरत प्राध्यापकहरुबीच हिजो ताला खोल्ने सहमति भएको थियो । हिजोको वार्तामा सहमति नभए पनि वार्ता सकारात्मक भएकाले आज लिखित सहमति गरी आन्दोलन टुंग्याइएको आन्दोलनरत पक्षले जनाएको छ ।
वार्तामा यसअघि डा। रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसमा केही संशोधन गरी आइओएमका डिन, निर्देशक, क्याम्पस चिफ विभागीय प्रमुख लगायत नियुक्तिको आधार तयार गरि त्रिवि सभाबाट पारित गराउने र फेरि फेरि नियुक्ति हुँदा विवाद नआउने व्यवस्था गर्ने सहमति हुने बताइएको छ । डिन अग्रवालले यो व्यवस्था त्रिवि सभाबाट पारित गर्ने लिखित प्रतिवद्धता जनाउने बताएको र त्यसलाई आज औपचारिकता दिएर आन्दोलन टुंग्याइने जनाइएको छ । प्राध्यापकको आन्दोलनका कारण आइओएमको डिनमा नियुक्त अग्रवालले कामै गर्न पाएका छैनन् भने तीन सातादेखि पठनपाठनपनि ठप्प भएको छ ।
यस्तो छ डिन डा. अग्रवालसँग गरिएको ६ बुदेँ सहमती
१. यस अध्ययन संस्थानको डीन नियुक्तिका लागि प्राडा रमेश कान्त अधिकारीको प्रतिवेदनलाई खुल्ला छलफलमा ल्याई आवश्यक परिमार्जन सहित अविलम्व त्रिवि सिनेटबाट पारित गराउने। आगामी दिनमा त्यहि प्रक्रिया अन्तरगर्त डीन नियुक्ति हुनुपर्ने ।
२. प्रक्रियागत र विधि सम्मत तरिकाले नियुक्ति भएका पदाधिकारीहरुको नियुक्ति प्रति असहमति राख्ने अधिकार यथावत राख्दै बन्द, हडताल जस्ता कार्यक्रम गरि काम नै गर्न नदिने र मान मर्दन गर्ने प्रथा सदाका लागि अन्त्य गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गर्ने ।
३. यस अध्ययन संस्थानको भविस्यमा असर पर्ने खालका कुनै पनि नीतिगत निर्णय पारदर्शी र सबै सरोकारवालाहरुसंग छलफल पश्चात गर्ने परम्परा स्थापित गर्ने । यस संस्थानको हितका कुरामा कसैसंग स्वार्थको द्धन्द भएमा एकताबद्ध भई संस्थानका पक्षमा उभिने ।
४. यस संस्थानका अन्य पदाधिकारीको नियुक्ति गर्दा बरिष्ठताका साथै योग्यता, क्षमता, कार्यदक्षता, तथा संस्थान प्रतिको लगावलाई उचित ध्यान दिने । आगामी दिनमा नियुक्ति गर्नको लागि पारदर्शी रुपमा मापदण्ड निर्धारण गर्ने सहमति बनाउने ।
५. त्रिवि प्राध्यापक संघ क्याम्पस ईकाई समिति महाराजगञ्जलाई विद्या परिषदको सदस्यमा राख्ने पहल गर्ने र विद्या परिषदको बैठकमा अनिवार्य आमन्त्रण गर्ने ।
६. माथि उल्लेखित निर्णयहरुलाई पदाधिकारी तथा विभागीय प्रमुख तथा यस संघर्ष समितिको संयुक्त बैठकबाट पारित गराई अभिलेख राख्ने ।