स्वास्थ्य शिविरमा एक हजार दुई सयले सेवा लिए
भीमदत्तनगर (कञ्चनपुर), १० पुस । रोटरी क्लब अफ धनगढीले शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझँगाउँमा आयोजना गरेको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले सेवा लिएका छन् ।
नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर ब्यारेकको व्यवस्थापन भएको स्वास्थ्य शिविरमा जिल्लाभरबाट महिला, वृद्धवृद्धा, बालबालिका गरी एक हजार दुई सयभन्दा बढीले सेवा लिएको आयोजकले जनाएको छ ।
१५ विशेषज्ञ चिकित्सक र चारजना मेडिकल अफिसर खटिएको उक्त शिविरमा नाक, कान, घाँटी, स्त्रीरोग, बालरोग, महिला तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा दिइएको नेपाली सेनाको सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी जयराम थापाले जानकारी दिए ।
नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम शाखा, नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखा, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, कञ्चनपुर निर्माण व्यवसायी सङ्घ, बस समिति लगायतका स्थानीय सङ्घसंस्थाले पनि शिविर आयोजना गर्न सहयोग पु¥याएका थिए ।
स्वास्थ्य परीक्षणमा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा गणेशबहादुर सिंह, डा खगेन्द्रप्रसाद भट्ट, डा हेमराज पाण्डेय, प्रतीक्षा सिंह राठौर लगायतको चिकित्सवको टोली खटिएको थियो । शिविरमा निःशुल्क औषधिका साथै ल्याब परीक्षणसमेत गरिएको थियो ।
रोटरी क्लब अफ धनगढीले यसअघि पनि कैलालीका दुईवटा स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>