जनकपुर अञ्चल अस्पतालमा शिक्षण सेवा संचालन हुने
जनकपुरधाम, ८ पौष । स्वास्थ्य मन्त्री गगन थापाले जनकपुर अंचल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न योजना अगाडि बढाईएको बताएका छन् । जनकपुर अंचल अस्पतालको अनुगमन गर्दै मन्त्री थापाले चिकित्सक तथा स्टाफ नर्सको अभावलाई पुरा गर्न जनकपुर अंचल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य सहित कार्य योजना अगाडि बढाइएको बताए ।.
देशभरका अस्पतालहरुमा देखिएको चिकित्सक तथा स्टाफ नर्सको अभावलाई न्युनीकरण गर्न जनकपुर अञ्चल अस्पता, कोशी, भेरी सहित देशभरका १८ अंचल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने स्वास्थ्य मन्त्रालयको लक्ष्य भएको उनले बताए । । अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउन जनकपुर सहित देशभर ६६ करोड बराबरको उपकरण खरिद गर्न लागिएको समेत जानकारी गराए ।
जनकपुर अंचल अस्पताललाई ५ सय शैयाको बनाउने गरी योजना अगाडि बढाइएको छ, मन्त्री थापाले भने–“अंचल अस्पतालमा विरामीहरुको भीडभाडलाई मध्य नजर गरी शैया थप गरिने योजना छ ।” उनले भने–“डा.रमेश कोइराला नेतृत्वमा गठित समितिको प्रतिवेदन अनुसार आवश्यक सेवाका लागि आवश्यक उपकरण तथा जनशक्ति समेत उपलब्ध गराएर अस्पतालाई सुविधा सम्पन्न बनाइनेछ ।”
मन्त्री थापाले जनकपुर अंचल अस्पतालमा विहान १० बजेदेखी सांझ ५ बजेसम्म ओपिडी सेवा संचालन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौराङ मिश्रालाई निर्देशन दिंदै भने– चिकित्सक तथा स्टाफ नर्सलाई करारमा राखेर भएपनि सेवा सुविधालाई प्रभावकारी रुपमा अगाडि बढाउनुस ।
सामान्य अवस्थाका विरामीलाई समेत बाहिर रेफर गर्ने प्रवृत्ति देखिएको छ, मंत्री थापाले भने–“अस्पतालको लागि आवश्यक पर्ने उपकरण सरकार उपलब्ध गराउन तयार छ तर सेवाग्राहीलाई प्रदान गरिने सेवा सुविधाको बारेमा कुनै प्रकारको सम्झौता हुंदैन ।”उनले भने–“चिकित्सकहरु विशेष रुपमा आफनो निजी क्लीनिकहरुमा समय दिने गरेको विभिन्न गुनासो सुनिएको छ ।”
ढिलोगरी आउने तथा चांडै फर्किने बानीमा सुधार गर्नुपर्छ, उनले भने–“डिउटीमा समयमा कुनै पनि निजी क्लीनिकमा काम गरेको पाइएमा प्रशासनिक कारवाही गरिनेछ ।” जनकपुर नगरमा अवैध रुपमा निजी क्लीनिक संचालनमा रहेको पाइएकोछ, मंत्री थापाले भने–अवैध रुपमा संचालित क्लिनिकहरुमा शिलबन्दी गरिनेछ ।
जनकपुर नगरमा संचालित क्लिनिक मध्ये ८ वटा क्लिनिक मात्र दर्ता रहेको पाइएको छ, उनले भने–“माघ मशान्तसम्म समेत दर्ता नगरेको पाइएमा अनुगमन गरी कारवाही प्रक्रिया अगाडि बढाइने छ । मंत्री थापाले अस्पताल परिसरमा २४ औं घण्टा फार्मेशी सेवा उपलब्ध गराउन निर्देशन समेत दिए ।
1 Comments
-
Yo kura sach ho ki ramro sang birami lai care garden yo hospital ma doctor haralai ramro song karbahi garnu parx ani birami harilai ramro care pau vane biswas dilaunu parnx
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>