जलवायु परिवर्तनका कारण पखालाका रोगी बढे
काठमाडौँ, ६ पुस । नेपालमा जलवायुमा आएको परिवर्तनले पछिल्लो १२ वर्षमा पखालाका बिरामी बढेको अनुसन्धानले देखाएको छ ।
सन् २००२ देखि २०१४ सम्म जलवायु परिवर्तन र पखालाको प्रवृत्ति तुलना गरेर हेर्दा ४.३९ प्रतिशतले यो रोग बढेको देखाएको हो । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले छ महिना लगाएर ७५ जिल्लामा गरेको अनुसन्धानमा दूषित पानीका कारणले पनि यसलाई बढाइरहेको देखिएको छ ।
परिषद्का सदस्य सचिव डा खेम कार्कीले खासगरी पश्चिम नेपालका जिल्ला जहाँ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ती क्षेत्रमा अझ बढी यो रोग देखिएको बताए ।
यस्तै, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बढाएको तापक्रमले पनि यो रोग ती क्षेत्रमा पनि देखिएको बढी देखिएको छ । उनले भने “सरकारले ७३ प्रतिशतलाई पानीको पहुँचमा पु¥याएको भनिरहेपनि त्यसको गुणस्तर कायम गर्न नसक्दा यो रोग नियन्त्रण हुनुको साटो बढिरहेको छ ।
त्यसैगरी, हतारमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा ती क्षेत्रमा पनि अझै खुला स्थानमा दिसा गर्ने र सो दिसा पानीमा मिसिँदा त्यसको असरले पखालाका बिरामी बढ्दै गएका छन् । मुहानकै पानीमा दिसामा भेटिने किरा कोलिफर्म भेटिएकाले पानीको शुद्धताको काम गर्नुपर्ने अनुसन्धानबाट देखिएको छ । परिषद्का अनुसार काठमाडौँका ८३ प्रतिशतले यस्तो दिसा मिसिएको पानी खाने गरेका छन् ।
केही समयअघि मात्र पनि ललितपुर जिल्लामा यस्तै दूषित पानी खाँदा पखालाबाट केही व्यक्तिको मृत्यु पनि भएको थियो । त्यहाँका जनताले खानेपानीको मुहानको पानी जाँच गर्दा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुहानकै पानीमा दिसा मिसिएको पुष्टि गरेको थियो । डा कार्कीले पानी उमालेर मात्र प्रयोग गर्न र दिसालाई निश्चित स्थानमा विसर्जन गर्ने परम्परा बसाल्नुपर्ने बताए । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>