शौचालयविहीन मुसहर गाउँ
मोरङ, ५ पुस । पुरानो सदरमुकाम रङ्गेली नगरपालिकाको एउटा मुसहर गाउँका कसैका घरमा पनि शौचालय छैन ।
नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि रङ्गेली – ९ स्थित भङ्गिटोलमा शौचालयका लागि कुनै पहल नगरिएको स्थानीयवासीको गुनासो छ ।
सो गाउँमा मुसहर समुदायका एक सय ११ परिवार बस्दै आएका छन् । उनीहरुको बसोवासका लागि २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा प्लानको सहयोगमा ५८ घर निर्माण गरिएको थियो ।
ती परिवार अहिले पनि प्लानले बनाएको घरमा बस्दै आएका छन् । अतिविपन्न वर्गका मुसहर समुदाय सोझा र इमान्दार मानिन्छन् । कुनै संस्थाले शौचालय निर्माण नगरेपछि आफूहरु शौचका लागि नजिकैको घागी खोला जाने गरेको मानिकचन्द्र ऋषिदेवले बताए ।
नगरपालिकालाई पटक पटक आग्रह गरिए पनि त्यहाँका कर्मचारीले प्लानले बनाएको घरमा प्लानले नै शौचालय बनाउँछ भन्दै आफूहरुलाई फर्काउने गरेको उनको गुनासो छ । शौचालय नभएपछि महिला र पुरुषलाई शौच गर्न समस्या हुनुका साथै कुनै पनि बेला महामाहरी फैलिने संम्भावना रहेको ऋषिदेव बताउंछन् ।
शौचालय नहुँदा सरसफाइमा समेत समस्या हुने गरेको विशेश्वर ऋषिदेवको भनाइ छ । यसरी जथाभाबी शौच गर्दा रोग फैलन सक्ने भएकाले चाँडै शौचालय निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् ।
रासस / फाईल तस्वीर
1 Comments
-
गरिव लक्ष्यित कार्यक्रम नल्याउँदा यस्तो अवस्था आएको हो ।जसलाई एक छाक खान को लागि धो-धो पर्छ,अनि उसले कसरी शोचालयलाई प्राथिमिकता राख्न सक्दछ भने कुरालाई हामी सबैले चिन्तण गर्ने समय अाएको छ ,होइन र........हजुर
Reporter
View Other Stories by Author >>