काठमाण्डौं विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप !
उपकुलपति नियुक्तीमा शिक्षामन्त्रीको असहयोग बढ्यो
बनेपा ५, पुस । काठमाण्डौं विश्वविद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेपले केयुको भविष्य नै अन्यौलग्रस्त बन्न पुगेको छ । मंसिर २६ गते केयु उपकुलपति डा. रामकण्ठ माकजूको पदावधि सकिए पनि राजनीतिक खिचातानीले अहिलेसम्म नयाँ उपकुलपति नियुक्त हुन सकेको छैन ।
२०७३ मंसिर १३ को विश्वविद्यालय सभाबाट शिक्षामन्त्री धनीराम पौडेलसहित केयुका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, केयु बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगानासहितको तीनसदस्यीय उपकुलपति सर्च कमिटी गठन गरिएको थियो । कमिटीले डा. माकजू, प्राडा. मनप्रसाद वाग्ले र केयुका पूर्वरजिस्ट्रार भद्रमान तुलाधरको नाम उपकुलपति नियुक्तिका लागि प्रस्ताव गरेको थियो । यी तीनै नाममा शिक्षामन्त्री पौडेल सहमत छैनन् । केयुका सहकुलपति समेत रहेका शिक्षामन्त्री पौडेलले माओवादी निकट प्राध्यापक जनार्दन लामिछानेलाई उपकुलपति नियुक्त गर्नुपर्ने अडान लिएपछि उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेको हो । अहिले रजिस्ट्रार डा. भोला थापा केयुको कार्यवाहक उपकुलपति छन् ।
उपकुलपति नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपले केयुलाई ध्वस्त पार्ने भन्दै सरोकारवाला चिन्तित छन् । २५ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन भएको केयुमा विभिन्न बहाना बनाएर आफ्नो स्वार्थपूर्तिका लागि नेताहरूले हस्तक्षेप गर्नु दुर्भाग्यपूर्ण भएको उनीहरुको ठहर छ ।
२०६२/६३ पछि विकति भित्रियो
केयुमा जेजति विकृति देखिएका छन्, ती सबै २०६२/६३ सालपछि नै भित्रिएको केयुका अधिकारीहरुबताउँछन् । २०४६ सालपछि शिक्षा, स्वास्थ्य र सञ्चारमा उत्साहजनक प्रगति देखिए पनि पछिल्लो समय यी क्षेत्रमा व्यापक हस्तक्षेप बढ्न थालेको हो । २०६३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई सम्बन्ध दिलाउन त्यसबेलाका केयु उपकुलपति प्राडा. सुरेशराज शर्मामाथि दबाब दिइएको थियो । उपकुलपति हैसियतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालवाटारमै केयुको सिनेट बैठक डाकेर नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि केयुमा राजनीतिक हस्तक्षेपले प्रवेश पाएको जानकारको भनाइ छ ।
२०७० सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्षताको विश्वविद्यालय सभामा संस्थापक उपकुलपति प्राडा. शर्माले आफूमाथि अनावश्यक दबाब आएको भन्दै राजीनामा दिएका थिए । राजनीतिक दलका उच्च नेताबाट देवदह मेडिकल र विराट कलेजलाई सम्बन्धन दिन व्यापक दबाब आएको भन्दै डा. शर्माले उपकुलपतिबाट राजीनामा दिएका थिए ।
धुलिखेल अस्पताल केयु अस्पतालमा रुपान्तरण
१५ वर्षअघि समुदायले व्यवस्थापन गर्दै आएको धुलिखेल अस्पताललाई काठमाडौं विश्वविद्यालय अस्पतालमा रूपान्तरण गरिएको थियो । यससँगै केयुको मेडिकल शिक्षामा नयाँ आयाम सुरु भएको सरोकारवालाहरु बताउँछन् । रजतजयन्ती वर्ष मनाइरहेको केयुबाट उत्पादित सबै खाले दक्ष जनशक्तिको संख्या २३ हजार ३ सय ४० पुगेको छ । यसमध्ये आधा हाराहारी मेडिकल जनशक्ति छ । केयुले आफ्नै र सम्बन्धनप्रदत्त मेडिकल कलेजबाट ११ हजार ४७ जनालाई गुणस्तरीय मेडिकल शिक्षा दिइसकेको छ ।
अख्तियारले पनि आँखा लगायो
राजनीतिक दलका नेताको मात्र होइन, केयुमा अख्तियार दुरुपयोग अनसुन्धान आयोगले पनि चर्को हस्तक्षेप गर्दै आएको छ । दुई वर्षअघि देवदह मेडिकल कलेजको सम्बन्धनलाई लिएर अख्तियारले केयुका पदाधिकारी तथा कर्मचारीमाथि मुद्दा दायर गरेको थियो । १३ महिनासम्म उनीहरूले आरोपित भएर बस्नुर्पयो । केयुका परीक्षानियन्त्रक प्राडा. पन्ना थापासहित बेसिक साइन्सको अनुगमन गर्ने डा. जगदीश चटौत, क्लिनिकल साइन्सको अनुगमन गर्ने डा. रमेशप्रसाद सिंह र अस्पताल व्यवस्थापनको अनगुन जिम्मेवारी तोकिएका प्रद्युम्न श्रेष्ठमाथि अख्तियारले मुद्दा दायर गरेको थियो । पछि, विशेष अदालतले उनीहरू सबैलाई सफाइ दिएको थियो ।
अखिल क्रान्तिकारीद्धारा तोडफोड
अखिल (क्रान्तिकारी) ले पोस्ट ग्राजुएट तहको प्रवेश परीक्षामा भएको अनियमितताको विरोधमा केयु उपकुलपतिको कार्यालयमा तोडफोड र्गयो । केयु प्रशासनले आफ्ना मागप्रति बेवास्ता देखाएकाले बाध्य भएर तोडफोडमा उत्रिनुपरेको अखिल (क्रान्तिकारी) केयु समितिका संयोजक डा. अच्युतप्रसाद भट्टले बताए । उनले भने, ‘एमबिबिएस प्रवेश परीक्षा, शुल्कलगायत विभिन्न माग राखेर स्कुल अफ मेडिकल साइन्सेजमा तालाबन्दी र्गयौं । रजिस्ट्रारसमेतको उपस्थितिमा सहमति भएपछि ताला खोल्यौं तर पनि सहमति कार्यान्वयन नहुँदा तोडफोडमा उत्रन बाध्य भयौं,’ उनले थपे ।