क्यान्सर अस्पताललाई सहयोग
भरतपुर (चितवन), ५ पुस । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चीन सरकारले ३१ करोडका विभिन्न उपकरण सहयोग गरेको छ । एक वर्षमा क्यान्सर बिरामीको उपचारका लागि आवश्यक ‘सीटीस्यान’ लगायतका महत्वपूर्ण उपकरण सहयोग गरेको हो । भरतपुर क्यान्सर अस्पतालका उपकरण पुराना भएकाले सेवा अवरुद्ध थियो । नयाँ उपकरण जडान र पुराना मर्मतपछि बिरामीलाई राहत मिलेको छ ।
दुई महिनाअघि चीनको सहयोगमा प्राप्त ८० लाख मूल्य पर्ने सीटीस्क्यान मेसिन जडान गरिएको छ । ‘यो उपकरण क्यान्सर बिरामीका लागि निकै महत्वपूर्ण हो,’ अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले भने, ‘अहिलेसम्म चीन सरकारले ३१ करोड ७६ लाखका उपकरण सहयोग गरेको छ ।’ चीनले मेमोग्राफी, लेजर सर्जरी मेसिन, सघनकक्षको उपकरण, भिडियो एक्स रे जस्ता ४० वटा महँगा उपकरण सहयोग गरेको उनले बताए । यसरी प्राप्त उपकरणले क्यान्सर पत्ता लगाउनदेखि उपचारसम्ममा प्रयोग हुन्छ ।
क्यान्सर सम्बन्धी उच्च स्तरीय अध्ययन, अनुसन्धान, आवश्यक परीक्षण, निदान, उपचार, रोकथाम तथा नियन्त्रण गर्न २०४८ चैत ५ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनीयाँ प्रधानमन्त्री फेङबीच अस्पताल स्थापना गर्ने सम्झौता भएदेखि निरन्तर सहयोग उपलब्ध हुँदै आएको छ । २०५२ असार ३० गते तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले चीन भ्रमणका क्रममा कोबाल्ट–६० सिमुलाटोर लगायत थप उपकरण अनुदान दिन सम्झौता भएको थियो । सम्झौता अनुसारका उपकरण आइसकेको अस्पतालले जनायो ।
अस्पतालमा पर्याप्त उपकरण हुँदाहुँदै सेवा खस्कदो भन्दै स्थानीय स्तरबाट चर्को आलोचना हुने गरेको छ । भरतपुर अस्पतालमा दैनिक ५ सयको हाराहारीमा क्यान्सरको पहिचान र उपचारका लागि बिरामी आउँने गर्छन् ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>