केयुद्वारा नोबेलविरुद्ध प्रहरीमा उजुरी

काठमाण्डौं ४, पुस । विद्यार्थीलाई चिट चोराएको विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न काठमाण्डौं विश्वविद्यालयले प्रहरीमा उजुरी दिएको छ । एमबीबीएस र विडिएसको प्रवेश परीक्षामा भाग लिने विद्यार्थीलाई चिट चोराएको सार्वजनिक भएपछि काठमाडौँ विश्वविद्यालयले दोषी पत्ता लगाई कारवाही गर्न प्रहरीमा उजुरी दिएको हो ।
केयुले विराटनगरको नोवेल मेडिकल कलेजमा केन्द्र राखेर लिएको सो प्रवेश परिक्षामा मोबाइलबाट ‘ह्वाट्स एप’ मार्फत चिट चोराइएको शनिबार सार्वजनिक भएको थियो । केयुका रजिष्ट्रार भोला थापाले आइतबारै डिनले काभ्रे प्रहरीमा उजुर दिएको जानकारी दिए । ‘एमबीबीएस र विडिएसका लागि लिएको दोस्रो प्रवेश परिक्षामा ह्वाट्स एप मार्फत चिट चोराइएको भन्ने समाचार आए लगत्तै डिनले दोषिलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसक्नु भयो,’ रजिष्ट्रार थापाले भने ।
पास नहुने पक्का भएपछि चिटको सहारा
काठमाडौं विश्वविद्यालयले पहिलोपटक कात्तिक २२ गते लिएको एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट एक जनामात्र विद्यार्थी भर्नाका लागि योग्य छानिएपछि दोस्रो प्रवेश परीक्षा लिएको थियो । दोस्रो प्रवेश परीक्षामा पनि विद्यार्थी पास नहुने समस्या झेल्नु परेपछि नोबेलले चिट चोराएको बुझिएको छ । नोबेल कलेजमै तोकिएको परीक्षा केन्द्रमा परीक्षा सुरू भएको आधा घन्टाभित्रै प्रश्नपत्र बाहिरिएको थियो । परीक्षा सुरु भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर ‘ह्वाट्स एप’ मार्फत बिद्यार्थीको मोबाईलमा र्पुयाईएको थियो । प्रवेश परीक्षाका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको थियो । प्रवेश परीक्षाको केन्द्र र समय भने गोप्य राखी सीमित विद्यार्थीलाई मात्र सो परीक्षा केन्द्र तोकिएको थियो ।
कन्सलटेन्टले सार्वजनिक गरे चिट चोरेको कुरा
विद्यार्थी लिएर आएका एक कन्सलटेन्टले भर्नाको लेनदेनमा कुरा नमिलेपछि चिट चोरी सार्वजनिक गरेको बुझिएको छ । ती कन्सल्टेन्टले उपलब्ध गराएको ह्वाट्स एप च्याटमा परीक्षा सुरू भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर परीक्षा हलभित्र पुगेको देखिन्छ ।
सञ्चालक शर्मा प्रहरीको खोजीमा
नोबेलका संचालक सुनिल शर्मा आँफै नक्कली सर्टिफकेट काण्डमा पुछिएका छन् । उनलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाएकोमा प्रहरीले खोजि गरिरहेको छ । उनी सार्वजनिक स्थानमा देखा पर्दैनन् ।