मानसिक रोग छ ? घरपालुवा जनावर पाल्नुहोस्
एजेन्सी । यदि तपाईं मानसिक समस्याबाट ग्रसित हुनुहन्छ भने घरपालुवा जनावर पाल्नुहोस् । त्यसले तपाईंको मानिसक तनाव र एक्लोपनालाई कम गर्न सहयोग गर्नेछ । बेलायतमा भएको एउटा अध्ययनले यस्तै तथ्य बाहिर ल्याएको छ ।
घरपालुवा कुकुर, बिरालो वा सुगा जस्ता पशुपन्छीले तपाईंको तनाव र अन्य सामाजिक असंगतिहरुलाई कम गर्न मानसिक थेरापी प्रदान गर्छ । बेलायतको म्यान्चेष्टर विश्वविद्यालयका अध्ययता हेलेक ब्रूक्सका अनुसार मानसिक समस्या भएर एक्लोपना महशुस गर्नेहरुले घरपालुवा जनावरसँग खेल्नु लाभप्रद हुन्छ ।
अध्ययनमा समावेश गरिएका ६० प्रतिशत मानिसमा घरपालुवा जनावरले लामो समय मानिसक समस्याले गुज्रिएका मानिसलाई सामाजिक बनाउन धेरै भूमिका खेलेको पाइएको थियो । उनीहरुमा घरपालुवा जनावरले पारिवारिक वा सामाजिक व्यवहार प्रदर्शन गर्ने गरेको पाइएको र त्यसले मानसिक समस्या भएकाहरुलाई सामाजिक बनाउन सहयोग गरेको बताइएको छ ।
अध्ययन अनुसार घरपालुवा जनावरसँग समय व्यतित गर्ने बिरामीहरुमा एकांकीपना, पीडा र आत्महत्या गर्ने सोचसम्म कम गराएको देखिएको छ । बीएमसी साइक्याट्री नामक जर्नलमा प्रकाशति अध्ययनमा ५४ जना १८ वर्षभन्दा माथिका मानसिक समस्या भएका मानिससँग अन्तर्वाता गरिएको थियो । जसले घरपालुवा जनावरसँगको दिनचर्याका बारेमा सकरात्मक टिप्पणीहरु गरेका थिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।