४ बजेसम्म ओपीडी- सरकारले भन्यो, अस्पतालले टेरेनन्



Download our app to get more features

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसद्मा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै स्वास्थ्योपचारका लागि महत्त्वपूर्ण कुरा उठाए । उनको सम्बोधनको बुँदा नम्बर १९ मा अस्पतालहरूमा साँझसम्म बहिरंग सेवा ९ओपीडी० सञ्चालन गर्ने प्रतिबद्धता थियो । १० देखि २ बजेसम्म सञ्चालन हुँदै आएको सेवा ५ बजेसम्म सञ्चालन हुने उल्लेख थियो । 

त्यसैलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले असोज ९ गते सबै अस्पताल र विभागलाई सोहीअनुरूप सञ्चालन गर्न परिपत्र गर्‍यो । कार्यान्वयन भने भएको छैन । कतिपय अस्पतालहरूले जनशक्ति अभावलगायत कारणहरू देखाएर सेवा दिइरहेका छैनन् भने कतिपयले यसबारे कुनै निर्देशन नआएको बताएका छन् । कतिपय अस्पतालमा भने यही समयावधिलाई बहाना बनाएर उल्टै महँगो ‘पेइङ’ उपचार सेवा थालेका छन् ।  

अस्पतालहरूले ‘जनशक्ति अभाव’ लाई कारण देखाउँदै आएका छन् । ‘१० देखि ५ ओपीडी चलाउन सक्ने अवस्था छैन,’ कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले भने, ‘ल्याब, एक्सरे, काउन्टरलगायत फाँटमा कर्मचारी अभाव छ । नियमअनुसार ८ घण्टा काम गरेकालाई १२ घण्टा लगाउनुपरेपछि अतिरिक्त भत्ता दिन अस्पतालसँग स्रोत छैन ।’ अहिले १० देखि ५ बजेसम्म चलाउने कुनै तयारी नभएको उनले बताए । 

जनकपुर अञ्चल अस्पतालका चिकित्सकको उस्तै जवाफ छ, ‘तयारीबिना ल्याइएको नीति कार्यान्वयन गर्न सकिन्न ।’ अस्पतालका मेडिकल अधिकृत एवं नेपाल चिकित्सक संघ जनकपुरका कामु अध्यक्ष डा।अनिलकुमार ठाकुर यथास्थितिमा नयाँ तालिकाअनुसार सेवा सञ्चालन गर्न नसकिने बताउँछन् । ‘एक त दरबन्दीभन्दा झण्डै आधा चिकित्सक र स्वास्थ्यकर्मी मात्रै छन्,’ उनले भने, ‘अतिरिक्त समय काम गरेको बेग्लै सुविधा दिने प्रावधान छैन । यस्तो अवस्थामा निर्देशन कार्यान्वयन गर्न सकिन्न ।’

दुई सय शय्या क्षमता भएको जनकपुर अञ्चल अस्पताल यस भेगकै ‘रेफरल’ अस्पताल हो । यसमा नेपाल सरकारतर्फ १ सय ३८ चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको दरबन्दी भए पनि हाल ६४ जनामात्र कार्यरत छन् । अस्पताल विकास समितिको १ सय ५२ दरबन्दीमा १ सय २५ पदमात्र छन् । 

निर्देशनै आएन
भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पनि यो सेवा सुरु भएको छैन । मेची अञ्चलका चारवटै जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको यो अस्पतालमा झापाकै सेवाग्राही हत्तपत्त पुग्दैनन् । पुगेकाले पनि भनेजस्तो उपचार पाइरहेका छैनन् । अहिले जम्माजम्मी १ घण्टा जति ओपीडी सञ्चालन हुन्छ । शुक्रबार ११ बजे सुरु भएर १२ बजे बन्द भयो । ‘अञ्चल अस्पतालप्रति बिरामीको विश्वास नै देखिन्न,’ भद्रपुरका एक स्थानीय भन्छन्, ‘त्यही भएर उपचारका लागि हत्तपत्त बिरामी पुग्दैनन् ।’ 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुरले १०–५ बजेसम्म ओपीडी सेवा सञ्चालनका लागि मन्त्रालयबाट कुनै निर्देशन नआइसकेको दाबी गरे । ‘पत्रपत्रिकामा सुनेका हांै,’ उनले भने, ‘आधिकारिक निर्देशन कतैबाट आएको छैन ।’ 

उता राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थामा पनि लागू हुन सकेको छैन । सदरमुकाम राजविराजस्थित अञ्चल अस्पताल र जिल्लामा रहेका ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र र १ सय ११ स्वास्थ्य चौकीमा यो प्रावधान लागू हुन सकेको छैन । 

‘दरबन्दीअनुसार डाक्टर छैन, १० देखि २ बजेसम्मै चलाउन गाह्रो छ,’ अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। दिलीपकुमार साहले भने, ‘थोरै डाक्टरले राउन्ड चलाउनु कि, बहिरंग चलाउनु कि के गर्नु रु’ जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छेदी यादवले पनि स्वास्थ्य संस्थाहरूमा बहिरंग सेवा २ बजेसम्म मात्र सञ्चालन भइरहेको बताए । 

उल्टै महँगो ‘पेइङ’ 
चितवनका सरकारी अस्पतालमा २ बजेपछि सेवा बन्द हुन्छ । भरतपुर अस्पतालमा कर्मचारी अभाव देखाउँदै २ बजेपछि नियमित जाँच बन्द हुने गरेको छ । अस्पतालले १२ बजेसम्म टिकट दिने गरेको छ । टिकट लिएकालाई चिकित्सकले २ बजेसम्म मात्र जाँच गर्छन् । ‘यथास्थितिमा ५ बजेसम्म ओपीडी सञ्चालन गर्न सकिँदैन,’ अस्पताल प्रमुख डा। रुद्र मरासिनीले भने, ‘कर्मचारी अभाव छ, त्यसपछि अस्पतालमा अन्य सेवा सुचारु गर्नुपर्ने हुनाले ओपीडी मात्र सञ्चालन गर्न सकिँदैन ।’ 

भरतपुर अस्पतालले ओपीडी बन्द गरेर २ बजेपछि ‘पेइङ’ सेवा सुरु गरेको जनाएको छ । यो सेवाका लागि बिरामीले २ सय ५० रुपैयाँ तिर्नुपर्छ । ओपीडीका लागि ३० रुपैयाँ मात्र लाग्छ । अस्पतालमा दैनिक ५ सय हाराहारी बिरामी जँचाउन आउँछन् । ६ सय कर्मचारी रहेको अस्पतालमा १ सय ५० सरकारी र बाँकी अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका छन् । ‘यति म्यानपावरले ५ बजेसम्म ओपीडी सम्भव छैन,’ प्रमुख मरासिनीले भने, ‘स्वास्थ्य मन्त्रालयले तोकेको समयसम्म सञ्चालन गर्दा कर्मचारीलाई ड्युटी मिलाउन गाह्रो हुन्छ ।’ 

रत्ननगरस्थित सरकारी अस्पतालमा पनि २ बजेपछि ओपीडी सेवा बन्द हुने गरेको छ । अस्पताल प्रमुख डा। कृष्ण पौडेलले नियमित ओपीडी २ बजेसम्म मात्र सञ्चालन गरेको बताए । ‘हामीले केही दिन हेरौं भनेर २ बजेसम्म सञ्चालन गरेका छौं,’ उनले भने, ‘ठूला अस्पतालहरूमा समेत २ बजेसम्म मात्र गरेकाले त्यहीअनुसार गरेका हौं ।’

दैनिक एक हजारभन्दा बढी बिरामी आउने बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ३ बजेसम्म मात्रै बहिरंग ९ओपीडी० सेवा सञ्चालन हुन्छ । टिकट काट्ने समय ११ बजेसम्म मात्रै हो । त्यसपछि रिपोर्ट जाँचका लागि नाम मात्रको ओपीडी सञ्चालन गरिन्छ । 

कम समय मात्र खुल्दा टाढाबाट आएका बिरामी उपचारबाट वञ्चित छन् । यसले अधिंकाश सरकारीमा मिल्ने निस्शुल्क सेवा छोडेर निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । ‘कम समय ओपीडी सेवा सञ्चालन हुँदा सानो उपचारका लागि पनि २र३ दिन लाग्छ,’ हात भाँचिएर अस्पताल आएका मोतीपुरका गोपाल थापाले गुनासो गरे, ‘डाक्टरलाई जचाउन र एक्सरे रिपोर्ट देखाउन मात्रै ३ दिन लाग्यो ।’

टिकट काटेका बिरामीलाई चिकित्सकले हेर्ने समय मिलाउन नसक्दा ओपीडी सेवा ५ बजेसम्म बनाउन नसकिएको अस्पतालका मेसु डा। विकास देवकोटाले दाबी गरे । अस्पतालका वरिष्ठ चिकित्सकहरू दिउँसो ३ बजेदेखि निजी अस्पताल र क्लिनिकमा पुग्ने गरेका छन् । अञ्चल अस्पताल मात्रै होइन, भैरहवास्थित भीम अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा पनि ओपीडी सेवालाई २ बजेमै सीमित गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चुरामणि भण्डारीले सरकारी निर्देशनअनुसार ओपीडी सेवा ५ बजेसम्म खोल्न स्वास्थ्य केन्द्रहरूलाई आग्रह गरेको बताए । 

तीन नबज्दै ताला
कपिलवस्तुको सिंहोखोरका हरिहर कोरी रगत परीक्षण गर्न तौलिहवा अस्पतालको प्रयोगशालामा बिहीबार अपराहन ३ बजे पुग्दा ढोका बन्द थियो । बल्लतल्ल उनले चिकित्सकसित स्वास्थ्य परीक्षण गराए । रगत परीक्षण गराउन नसक्दा ज्वरोले थलिएका उनी त्यसै फर्किए । 

३ बजे जिल्ला अस्पताल सुनसान थियो । बहिरंग कक्षमा ताला झुन्ड्याइएको थियो । अबेला आएका बिरामी फर्किरहेका थिए । इमर्जेन्सीका २ कर्मचारीबाहेक प्राविधिक कोही थिएनन् । अधिकांश कोठा बन्द थिए । दुई दिनअघि अनुगमन गर्दा गोटिहवा, बैदौली र सोमडिहा स्वास्थ्य चौकी २ नबज्दै बन्द भएको पाइएको थियो । 

मकवानपुरका स्वास्थ्य संस्थाहरूले पनि यसलाई पालना गरेका छैनन् । मकवानपुरगढी, राक्सिराङ, चुरियामाई, पदमपोखरी, बेतिनी, सरिखेत साविकको चुरियामाई गाविसलगायत जिल्लाका अधिकांश स्वास्थ्य चौकी २ बजे बन्द हुने गरेका छन् । 

‘स्वास्थ्य चौकी अहिले ४ बजेसम्म खुल्दैन,’ मकवानपुरगढीका हरि हुमागार्इंले भने । बिहीवार साढे ३ बजे चुरियामाई स्वास्थ्य चौकीमा पुग्दा स्वास्थ्यकर्मी कार्यालय बन्द गरेर घर जान परिसर बाहिर निस्केका थिए । ‘४ बजेसम्म जचाउन आउने बानी परेको छैन,’ अहेब तिलक गौतमले भने, ‘१० देखि १ बजेसम्म बिरामी आउँछन्, त्यसपछि कोही आउँदैनन्, त्यसै भएर साढे ३ बजे स्वास्थ्य संस्था बन्द गरेको हो ।’

पर्सा पकाहामैनपुरका अरुणकुमार तिवारी बिहीबार मध्याहन सवा १२ बजे नारायणी उपक्षेत्रीय अस्पतालको ओपीडी कक्षमा आइपुगे । हाडजोर्नी विशेषज्ञ कुनै चिकित्सक भए पनि उनको आवश्यकता पूरा हुन्थ्यो । तर उनले एउटै हाडजोर्नी विशेषज्ञ भेटेनन् । 

हाडजोर्नी विभागका मात्र नभई अन्य विभागका पनि एउटै पनि चिकित्सक थिएनन् । पूरै विभाग सुनसान देखिन्थ्यो । सामान्यतया यो कक्षमा सबै विभागमा गरी ३० देखि ४० जना चिकित्सकको ड्युटी हुन्छ । 

‘देब्रे खुट्टा भाँच्चिएर करिब ४० दिनदेखि मेरी आमा लालपरीदेवी यसै अस्पतालमा उपचार गराइरहनु भएको छ, आज डिस्चार्जको दिन,’ उनले भने, ‘जाँदाजाँदै हाडजोर्नी विशेषज्ञ चिकित्सकलाई भेटेर केही सल्लाह लिने मनसायले म यहाँ आएको हुँ, तर यहाँ त एउटै चिकित्सक भेटिँदैनन् । सरकारले साँझ ५ बजेसम्म नै सरकारी अस्पतालको ओपीडी सञ्चालन हुन्छ भनी घोषणा गरेको मैले पनि सुनेको र पढेको हुँ, तर यहाँका चिकित्सकलाई यो नियमले छुँदैन क्यारे ।’ 

अस्पतालको टिकट काउन्टरमा ओपीडी कक्षको पुर्जा लिन थुप्रै बिरामी झुम्मिएका देखिन्थे । तर उनीहरू चिकित्सक नभएको थाहा पाए पनि निराश देखिन्थे । ओपीडी कक्षका झ्याल ढोका लगाइरहेका एक कार्यालय सहयोगीले भने, ‘अहिले जाडो बढेकाले बिरामीहरू कम आउँछन्, त्यसैले डाक्टर सा’बहरू पनि १२ बजेसम्म मात्र बस्नु हुन्छ ।’ 

अस्पतालको ओपीडी कक्षमा चिकित्सकहरू ढिलो आउने र चाँडै बाहिरिने गुनासो विगतदेखि नै रहँदै आएको हो । चिकित्सकहरूले सरकारी अस्पतालभन्दा निजी क्लिनिकमा बढी समय दिने गरेको जनगुनासो लामो समयदेखि रहँदै आएको छ । अस्पतालका सूचना अधिकृत रमेशप्रसाद चौधरीले यो समस्या यस अस्पतालको मात्र नभई मुलुकभरिकै अस्पतालमा रहेको जिकिर गरे । 

पाल्पा ख्याहाकी गोमा न्यौपाने दिउँसो ३ बजे स्वास्थ्य चौकी पुग्दा ताला लागेको थियो । निजी क्लिनिकमा पुगेर उपचार गराइन् । ‘सरकारले दिएको निर्देशन पालना गाउँमा भएको छैन,’ उनले भनिन्, ‘२ बजे नै बन्द गरेर कर्मचारी हिँड्छन् । कसैले अनुगमन गर्दैन त्यसैले जनताले दुस्ख पाएका छन् ।’ 

तानसेनकी रमा अधिकारी जिल्ला सरकारी अस्पतालमा २ बजे पुग्दा टिकट बन्द भइसकेको थियो । ४ बजेसम्म टिकट पाएर चेकजाँच गर्न पुगेकी उनलाई कसैले पनि सहयोग गरेन । ‘भोलि आउनुस् भनेर कर्मचारीले फिर्ता पठाए,’ उनले भनिन् । जिल्लाका हुमिन, कोलडाँडा, ख्याहा, बहादुरपुर लगायतका स्वास्थ्य संस्थामा पुग्दा २ बजेदेखि नै ताला लागेको भेटिएको छ । 

‘हामीले असोजमै ४ बजेसम्म ओपीडी सेवा दिनु भनेर निर्देशन पठाएको हो,’ जिल्ला स्वास्थ्यका सूचना अधिकारी माधव ज्ञवालीले भने, ‘कर्मचारीले अटेर गरेकै हुन् ।’ उनी आफैं स्वास्थ्य चौकीमा पुग्दा नखुलेको भेटाएको बताए ।

उता राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ३ बजेसम्म मात्र ओपीडी सेवा सञ्चालन भइरहेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। पदम अधिकारीका अनुसार दुई महिनादेखि बरु सशुल्क क्लिनिक चलाइएको छ । त्यसमा अहिलेसम्म एक जना बिरामीले पनि सेवा लिएका छैनन् । ‘दुई गुणा दरबन्दी थपे मात्र ओपीडीको समय बढाउन सकिन्छ,’ डा। अधिकारीले भने, ‘हामीले दरबन्दी पूर्तिका लागि प्रत्येक महिना दुईवटा पत्र लेख्दै आएका छौँ । माथिल्ला निकायबाट पूर्तिका लागि काम हुँदैछ भन्नेबाहेक अरू जानकारी आउँदैन ।’ 
 
समस्या ठूलैमा 
जिल्ला अस्पताल रुकुमका डा। क्षितिज सापकोटाले सबै स्वास्थ्य चौकीहरूलाई ओपीडीको समय बढाउन निर्देशन दिएको बताए । उनका अनुसार ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा यो सेवा प्रभावकारी भए पनि माथिल्ला तहका अस्पतालमा समस्या भइरहेको जनाए । ‘इमर्जेन्सी, ओपीडी, प्रशासनिक कामलगायत धेरै जिम्मेवारी हुने भएकाले व्यावहारिक समस्या परेको छ,’ उनले भने । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि २ बजेपछि ओपीडी बन्दसरह हुन्छ । ‘मुस्किलले मासिक १०–१२ जना बिरामीले मात्र विस्तारित ओपीडी सेवा लिएका हुन्छन्,’ प्रतिष्ठानका कार्यालय सचिव चेतबहादुर रोकायाले भने, ‘दुई नबज्दै ओपीडी कक्ष सुनसान भइसक्छ ।’ विस्तारित ओपीडी सेवाबारे सर्वसाधारणले पर्याप्त सूचना नपाउँदा भर्नादर घटेको उनको भनाइ छ । 

मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँका मेडिकल रेकर्डर अफिसर विनोद बस्नेतले बहिरंग सेवाको समय बढाएर मात्र जनताले लाभ पाउन नसक्ने बताए । ‘कार्यक्रम राम्रो भए पनि जनता यसबारे सुसूचित हुन पाएका छैनन्,’ उनले भने, ‘धेरैलाई अस्पताल भनेपछि १२ बजेसम्म पुग्नुपर्छ भन्ने चेतना छ । समय घर्कन थाल्यो भने अस्पताल भर्ना हुनै मान्दैनन् ।’

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले कम जनशक्ति र अस्पताल व्यवस्थापन समितिको नेतृत्व अभावमा विस्तारित समयको ओपीडी सेवा प्रवाह गर्न नसकिएको जनाएको छ । ‘थोरै जनशक्ति छ । अस्पताल व्यवस्थापन समितिको नेतृत्व चयन भएपछि यो निर्देशनअनुसार काम अघि बढाइने छ,’ मेडिकल सुपरिटेन्डेन्ट डा। जनार्दन पन्थीले भने । 

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले पनि चिकित्सकको अभाव देखाउँदै मन्त्रालयको निर्देशन अटेर गरेको छ । ‘साँझ ५ बजेसम्म ओपीडी सेवा दिन यो जनशक्तिले कुनै पनि हालतमा सकिँदैन । त्यसैले कार्यान्वयन भएको छैन,’ अञ्चल अस्पतालका प्रमुख डा। वीरेन्द्रबहादुर चन्दले भने । 

अञ्चल अस्पतालमा बिहान साढे ८ बजेदेखि ओपीडी सेवाका लागि पर्चा खुल्छ । पर्चा काट्नैका लागि बिरामीलाई सास्ती खेप्नुपर्ने बाध्यता छ । पर्चा लिएरमात्रै भएन, बिरामीको चापका कारण जाँचका लागि फेरि पालो कुर्नुपर्छ । स्वास्थ्य जाँचका लागि चिकित्सकहरू १० बजे अस्पताल आउनुपर्ने समय तोकिएको छ । तर, जाँच गर्न समय लाग्ने गरेका कारण बिरामीले अढाई बजेभित्रै रिपोर्ट देखाउन पाउँदैनन् । त्यसका लागि अर्को दिन अस्पताल आउनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरूको गुनासो छ । 

महाकाली र सेती अञ्चल अस्पतालमा पनि ओपीडी २ नबज्दै बन्द हुने गरेको छ । ‘१२ बजे नै पर्चा काट्न मानेनन्,’ आमाको उपचार गराउन आएका कैलाली पवेराका दिनेश भट्टले भने, ‘डाक्टर नै छैनन् भने ।’ हसुलियाका धर्म चौधरीले पनि शुक्रबार १ बजे उपचारका लागि पुग्दा बहिरंग सेवा पाउन सकेनन् । ‘१ बजे पुगिसकेको थिए तर चिकित्सक नै नभएको भन्दै पर्चा काटिदिएनन्,’ उनले भने, ‘साँझ ५ बजेसम्म सेवा पाइन्छ भन्ने जानकारीसमेत पाएका छैनन् ।’ 

पश्चिम टुडेका समाचार संयोजक तेजराज भट्टलाई पनि १ नबज्दै बहिरंग सेवा बन्द भएकाले उपचार हुन नसक्ने भन्दै फिर्ता पठाइयो । ‘आमालाई उपचार गर्न जाँदा १ नबज्दै ओपीडी सेवा बन्द भइसकेको थियो,’ उनले भने । चिनजानका स्वास्थ्यकर्मी भेटेर आग्रह गर्दा चिकित्सक नै नआउने भएपछि पर्चासमेत नकाटेको उनले बताए । 

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सूर्यबहादुर गुरुङ लगातार बिदामा बस्दै आएका छन् । निमित्त प्रमुख डा। अशोक श्रीपाइलीले जनशक्ति कम भएका कारण समस्या भएको बताए ।

महाकाली अञ्चल अस्पतालमा न्यूनतम आवश्यक डाक्टरहरूसमेत नहुँदा सरकारको निर्देशनअनुसार सेवा दिन सक्ने अवस्था नरहेको अस्पतालका मेसु डा। श्रीकृष्ण भट्टले बताए । ‘२७ जना डाक्टरको दरबन्दी भए पनि ३ जना डाक्टर छन्,’ डा। भट्टले भने, ‘कसरी १० देखि ५ सम्म ओपीडी सेवा दिन सकिन्छ रु’ उनले विगतकै तालिकाअनुसार १० देखि २ बजेसम्म ओपीडी सञ्चालन भइरहेको बताए । 

कतैकतै कार्यान्वयन
रुघाखोकी निकै सताएपछि उपचारार्थ बिहीबार कुस्मा आएकी देवीस्थानकी राधिका क्षत्रीले साढे ३ बजे जिल्ला अस्पतालको ओपीडीमै नाम लेखाएर जँचाइन् । अस्पतालले ओपीडी सेवाको समय दिउँसो २ बजेबाट बढाएर ४ बजेसम्म पुर्‍याएको छ । ‘यसअघि २ बजेपछि नआए पनि हुन्थ्यो,’ ठूलीपोखरीका शोभाखर लामिछानेले भने, ‘अहिले ४ बजेसम्म आउँदा फर्किनुपरेको छैन ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। फडिन्द्र बरालले तोकिएको समयभित्र आएका बिरामीलाई नफर्काएको बताए । बागलुङ अस्पतालका मेडिकल रेकर्डर तीर्थराज गौतमले तत्काल ४ बजेसम्म ओपीडी सञ्चालन गर्ने योजना रहेको बताए ।

उपक्षेत्रीय अस्पताल डडेलधुराले पनि ४ बजेसम्म ओपीडी सेवा सञ्चालनमा ल्याएको छ । ‘बिरामीहरू कम भएकाले ५ बजेसम्म ओपीडी सेवा पुग्दैन,’ अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले भने, ‘हामीले चाहिँ निर्देशनअनुसार खुला गरेका छौं ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ । 
 

Last modified on 2017-07-09 17:01:44

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts