सत्ताइस हजार किलो अवैध जडीबुटी बरामद
बाजुरा, ३० मङ्सिर । उत्तरी बाजुराको कोल्टीका विभिन्न बजारबाट अवैधरुपमा सङ्कलित करिब २७ हजार किलोग्राम जडीबुटी प्रहरीले बरामद गरेको छ ।
स्थानीयवासीहरुले अवैधरुपमा सामुदायिक वन र राष्ट्रिय वनहरुबाट सङ्कलन पुर्जीभन्दा बढी सङ्कलन गरी बजारमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम विभिन्न जडिबुटी बरामद गरी इलाका वन कार्यालय कोल्टीमा बुझाएको बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए । स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले बुधबार ती स्थानमा छापा मारेर जटामसी, चिराइतो र कटुकी जस्ता जडीबुटी बरामद गरेको हो ।
यता, जिल्ला वन कार्यालय बाजुराका जिल्ला वन अधिकृत बेसेन्द्रराज सुवेदीले अवैधरुपमा सङ्कलित जडीबुटीको पूर्जी छानविन गर्न बाँकी रहेकाले यसबारे अहिले नै केही भन्न नमिल्ने बताए । जिल्लाका कोल्टी, विच्छ्या रुगिन, दहकोट लगायतका गाविसबाट जडीबुटी सङ्कलन हुने गरेको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>