द बीएमजेको सल्लाहकारमा डा.ज्ञवाली
काठमाण्डौं २९, मंसिर । विश्वकै पुरानो र प्रसिद्ध मेडिकल जर्नल द बीएमजे (व्रिटिश मेडिकल जर्नल)को सल्लाहकारमा एक नेपाली नियुक्त भएका छन् ।
नागोया विश्वविद्यालयमा क्यान्सर उपचारको विशेषज्ञ तालिम तथा मेडिकल अङ्कोलोजीमा विद्यावाराधि गरिरहेका डा।विशाल ज्ञवालीलाई सो जर्नलले सल्लाहकार नियुक्त गरेको हो ।
’मेरो लागि यो ठूलो जिम्मेवारी हो। विश्वका उत्कृष्ट अनुसन्धानकर्ताको काम हेर्ने यो जिम्मेवारीले नेपालको नामलाई समेत केही हदसम्म चिनाउने विश्वास लिएको छु’, डा।ज्ञवालीले भने । उनी २०५९ सालका एसएलसी बोर्ड टपर हुन् । व्रिटिश मेडिकल एशोसिशएनले प्रकाशित गर्ने यो जर्नल प्रभावका दृष्टिले विश्वकै उत्कृष्टमध्येमा पर्छ ।
सन् १८४० देखि प्रकाशित हुँदै आएको यसले नयाँ खोज, अनुसन्धान तथा प्रमाण आधारित औषधिको वकालत गर्दै आएको छ । जर्नलले विश्वभरिबाट पाँच सल्लाहकार छानेको हो । स्वास्थ्यसम्बन्धी अनुसन्धान जर्नलमा प्रकाशित हुनुभन्दा अघि त्यसको गुणस्तर तथा प्रभाव मूल्याङ्कन हेरेर सम्पादकलाई सल्लाह दिनु उनको जिम्मेवारी हुनेछ । बिएमजेमा सन् २००५ देखि फियोना गोड्ली सम्पादक छिन् ।
Reporter
View Other Stories by Author >>