औषधि बिनाका सरकारी फार्मेसी

कान्ति बाल अस्पतालको फार्मेसीमा औषधिको अभाव

What's This?


Download our app to get more features

मंसिर २८, काठमाण्डौं । औषधिमा सर्वसाधारण नागरिक ठगिने प्रवृत्ति बढ्दै गएपछि सरकारले सबै सरकारी अस्पतालमा आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नुपर्ने नीति ल्याएको छ । सरकारको उक्त नीतिको केही अस्पतालहरुले कार्यान्वयन समेत गर्न थालेका छन् । यसैबीच काठमाडौंको महाराजगञ्जमा अवस्थित कान्ति बाल अस्पतालले पनि आफ्नै स्वामित्वमा फार्मेसी खोलेर सञ्चालनमा ल्याएको छ । तर कान्तिको फार्मेसीमा सर्वसाधारणहरुले आवश्यक औषधि नै नपाएको गुनासो गर्न थालेपछि हात्तिको देखाउने दाँत जस्तै बनेको छ ।  

कान्ति बाल अस्पतालमा बिरामी बालकको उपचारमा आएका सिन्धुली हत्पत्ते ८ डांडाटोलका प्रदिप घिमिरेलाई अस्पतालको फार्मेसीमा औषधि नपाउने समस्याले हैरान पारिसक्यो ।  बच्चाको चेकजांच गरेर चिकित्सकले औषधि लेखिसकेपछि अस्पतालकै स्वामित्वमा सञ्चालन भएको फार्मेसीमा औषधि किन्न जाँदा ‘यो औषधि छैन’ भन्ने जवाफ धेरै पटक पाइसकेको गुनासो उनलेसुनाए । त्यसो त सिन्धुली हत्त्पते स्वास्थ्य चौकीमा पनि सरकारले ७२ प्रकारका औषधि निशुल्क भने पनि जीवन जल र सिटामोल समेत पाउन मुस्किल भएको घिमिरेले बताए ।

कान्ति अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी खोले पनि उसको भित्रि नियत भने यसबाट छर्लङ्ग भएको छ । अस्पतालकै स्वामित्वमा खोलिएको फार्मेसी नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन नभई औषधि किन्न बाहिर जानुस् भन्नकै लागि मात्र खोलिएको प्रष्ट भएको पीडितहरुको गुनासो छ ।

गत बर्षको वार्षिकोत्सव पारेर नागरिकलाई सस्तो मुल्यमा औषधि उपलब्ध गराउने उदेश्यले कान्तिबाल अस्पतालले आफ्नै स्वमित्वमा फार्मेसी खोलेको थियो । तर नागरिकले औषधि नपाएको गुनासो बढ्दो छ । चिकित्सकहरुले औषधिको जेनेरिक नेम भन्दा ब्रान्ड नेम लेख्ने हुँदा समस्या देखिएको फर्मसिस्टहरु बताउँछन् । कतिसम्म भने फार्मेसीमा उपलब्ध प्रेस्किप्सनमा लेखेको भन्दा फरक कम्पनिका औषधि दिंदा यो औषधिले निको हुन्न भन्दै चिकित्सकहरुले बिरामीलाई औषधि फिर्ता गर्न लगाउने गरेको फर्मसिस्टहरुले बताए । सार्बजनिक खरिद ऐन अनुसार टेन्डरबाट औषधि खरिद गर्नुपर्ने हुँदा फार्मेसीमा पर्याप्त औषधि नभएको कान्ति बाल अस्पतालका फार्मेसी अधिकृत सुजन नेपालले बताउनुभयो ।  

अस्पतालकै स्वामित्वमा नागरिकलाइ सस्तो मूल्यमा औषधि उपलब्ध गराउने  नीति अनुरुप खोलेका फार्मेसीमा नै औषधि नभएपछि नागरिकले औषधि खोज्दै अस्पताल बाहिरै जानुपर्ने बाध्यता छ । रातिको समयमा औषधि खोज्दै हिड्न अझ सास्ती हुने उनीहरु बताउँछन् । अस्पतालको आफ्नै स्वामित्वमा सञ्चालित औषधि बिनाका फार्मेसीको कारण विरामी र तिनका आफन्तहरुले त दुख पाएका मात्र छैनन्,अस्पतालभित्र हुने अनियमितताको छानविनका लागि मार्ग समेत प्रशस्त गरिदिएको छ ।

Last modified on 2017-07-13 16:41:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts