एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा



Download our app to get more features

पर्वत, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् भनेर । तर यस्तै बज्रपात परेको छ पर्वतको कुर्घा गाविसका त्रिलोचन शर्माको परिवारमा । 

कुर्घा गाविस–२ का त्रिलोचन शर्माको घरमा चारजना मिर्गौला रोगले आक्रमण गरेको हो । शर्माकी माइली छोरी, कान्छा छोरा र श्रीमती मिर्गौला रोगबाट ग्रसित छन् भने जेठा छोराको ज्यान गइसकेको छ । शर्माले आफ्नो मिर्गौला माइली छोरीलाई, जेठी छोरीको मिर्गौला कान्छो छोरामा प्रत्यारोपण गरिसकेका छन् । अहिले माइली र कान्छो दुवैलाई पुनः समस्या बल्झिएको छ–त्रिलोचन शर्माले भने । 

एकपछि अर्को गरी परिवारका चार सदस्यको मिर्गौलाले काम गर्न छाडेपछि अहिले परिवार बिचल्लीमा परेको छ । उपचारकै क्रममा एक छोरा गुमाएँ । अहिले उनकी श्रीमती प्रेमकुमारीको डायलासिस गरेर समय काटिरहेकी छन् । माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या फेरि बल्झिएको छ । अहिले उनी सहयोग जुटाएर थप उपचार गर्ने आशमा सहयोगको याचना गर्दै भौँतारिरहेका छन् ।  

भारत मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आउनुभएका उनले एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएको गुनासो गरे । छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, खेतबारी सबै बिक्री भइसकेको छ । अहिले त्रिलोचन सहयोगको याचना गर्दै सदरमुकाम कुश्माबजार आइपुगेका छन् । 

‘उपचार गर्दागर्दै घरघडेरी, खेतबारी सबै सकियो’, त्रिलोचनले भने, ‘संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस् ।’ अहिलेसम्म डेढ करोड रुपैयाँभन्दा बढी उपचारकै क्रममा सकिएको उनको भनाइ छ । 

जेठो छोरा प्रकाश मिर्गौला खराबीकै कारण भारतको मुम्बईमा १० वर्षअघि बितेका थिए । कान्छो छोरा र माइली छोरीको मिर्गौला प्रत्यारोपण गरे पनि अझै ठीक भएको छैन । उनीहरू नियमित चिकित्सककै निगरानीमा छन् । गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे । 

जेठो छोरो बितेपछि माइली छोरीलाई त्रिलोचनले एउटा मिर्गौला दिएका थियो । बाबुको एउटा मिर्गौला प्रत्यारोपण गरे पनि छोरीको समस्या बल्झिएको छ । त्यही समयमा कान्छो छोरो दीपकमा समेत मिर्गौलाकै समस्या देखियो । जचाउँदा मिर्गौलाले काम नगरेको पाएपछि जेठी छोरी शारदाले भाइ दीपकलाई मिर्गौला दान गरेको त्रिलोचनले जानकारी दिए । 

‘ऋणधन र खेतबारी बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक सङ्कटमा परेको छु’ उनले रुँदै भने ‘मासिक रु ४० हजार उपचारमै खर्चनु परेको छ ।’ कान्छा छोरा प्रकाशको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट चर्को मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहनुपर्ने अवस्था रहेको छ । 

कान्छी छोरी कमलाबाहेक एकपछि अर्को गरी सबैको मिर्गौलाले काम गर्न छाडेको त्रिलोचनले बताए । त्रिलोचनकी श्रीमती प्रेमकुमारीको हप्तामा दुईपटक नियमित डायलासिस गर्नुपर्छ । सरकारले डायलासिस निःशुल्क गरिदिन्छ तर एकपटक डायलासिस गर्दा रु दुई हजारको औषधि र सुई किन्नुपर्ने उनको भनाइ छ । 

‘रोग निको हुने कुनै ग्यारेन्टी छैन, खर्च बढिरहेको छ’, त्रिलोचनले भने ‘अब कतै जाने ठाउँ छैन, कसैले सहयोग दिए मात्रै हो ।’

उनले सांसद अर्जुनप्रसाद जोशीलाई भेटेर सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन् । सांसद जोशीले परिवारका चारैजनाको मिर्गौला खराब भएको जानकारी अहिले मात्रै पाएको भन्दै सरकारी निकायमा पुगेर झक्झकाउने प्रतिबद्धता जनाए । 

परिवारका सबै सदस्यमा मिर्गौला रोगको समस्या देखिएर आर्थिक समस्या परेपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले त्रिलोचनका कान्छा छोरा दीपकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जागिरको व्यवस्था मिलाइदिएका छन् । उनले आफूलाई जागिर लगाइदिए पनि आफूले त्यो रकमबाट औषधि मात्रै खान पुग्ने भन्दै अन्य सहयोगी निकायसमक्ष थप सहयोगका लागि अपिल गर्नुभएको छ । 

उपचारकै लागि गाउँमा रहेको घरघडेरी सबै साहुले लिएपछि अहिले उनीहरु पोखरामा बस्दै आएका छन् । पूर्णरुपमा निको नभए पनि कुनै निकायबाट सहयोग पाए दुःखसुख जीवन बिताउन सहज हुने थियो, त्रिलोचनले गुनासो गरे । रासस 
 

Last modified on 2017-07-13 16:49:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts