वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित
वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् ।
त्यस्ता रोगीलाई छुट्टै कोठामा राखी उपचार गराई रहेको वीरगन्ज कारागार प्रमुख चक्रपाणि गौतमले बताए।
लामखुट्टेको बढ्दो प्रकोप, खानेपानी तथा ढलको उपयुक्त निकास नहुनु र अव्यवस्थित फोहर व्यवस्थापन जस्ता कारणले वीरगन्ज कारागारका बन्दीकैदी विभिन्न रोगका सङ्क्रमणबाट ग्रसित हुँदै आएका छन् ।
एक सय वर्षभन्दा लामो इतिहास बोकेका सो कारागार मर्मत सम्भारका अभावमा जीर्ण बन्दै गएको छ । एक हजार बन्दीकैदी अटाउने क्षमता भएका सो कारागारभित्र हाल महिला पुरुष तथा आश्रित बालबालिकासमेत गरी एकहजार एक सय ८६ बन्दीकैदी रहेका छन् ।
पर्याप्त बजेट र कर्मचारी आभाव जस्ता समस्या खेप्दै आइरहेका यो कारागारभित्र सबै भन्दा बढी पाँचसय ७ जना लागु औषधका कैदीबन्दी तथा थुनुवा रहेका छन् ।
त्यस्तै कर्तव्य ज्यान मुद्दामा बन्दीकैदी तथा थुनुवा गरी दुईसय ३१ जना रहेका छन् । अपहरण मुद्दामा चारजना महिलासहित ६४ जना र जबर्जस्तीकरणी मुद्दामा एक सय १५ जना बन्दीकैदी कारागारभित्र रहेका छन् ।
यसैगरी विभिन्न मुद्दामा कारागारभित्र रहेका दुईसय विदेशी नागरिकमध्ये एक सय ९९ भारतीय तथा एकजना बङ्गलादेशी नागरिक रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका आठजना आश्रित बालबालिकमध्ये ६ जना भारतीय र दुईजना नेपाली रहेका छन् । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>