मुटुरोगीको उपचारका लागि अर्थ सङ्कलन
बाबियाचौर (म्याग्दी), १९ मङ्सिर । मुटुरोगबाट बिरामी भएकी बेनी नगरपालिका–२ की सात वर्षीया अरनिमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ ।
रत्नेचौरको ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको छ । अभिभावकको कमजोर आर्थिक अवस्थाका कारणले उनको उपचारमा समस्या भएपछि कोषले सहयोग जुटाउन पहल थालेको हो । उनको हाल काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । मुटुको शल्यक्रिया गर्न रु चार लाख ५० हजार आवश्यक पर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गरेमा उनको उपचार सफल हुने चिकित्सकको भनाइ छ । छोरीको जीवन बचाइदिन बुबा बुढे दमाईं र आमा निशा नेपालीले अपिल गरेका छन् ।
विपन्न समुदायका उनीहरु ज्याला मजदुरी र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका छन् । सहयोग जुटाउन शान्ति कोषले शुक्रबार उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
नेपालीको उपचारका लागि कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र बेनपा–१ रत्नेचौरका निराजन थापाले रु पाँच–पाँच हजार तथा उपाध्यक्ष गौतम र विद्यार्थी नेता पौडेलले रु दुई–दुई हजार सहयोग गरेका छन् ।
दुई वर्षअघि स्थापित ओमकुमारी शान्ति कोषले हालसम्म २५ जनालाई उपचारका लागि आर्थिक सहयोग जुटाउन समन्वय गरेको छ ।
रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>