डा. केसी र सरकाबीचको वार्ता निश्कर्ष नजिक, नौ बुँदे सम्झौताको मस्यौदा बनाइँदै, अपरान्ह सम्ममा अनसन तोडिने
काठमाण्डौ, १७ मंसिर । २० दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शुक्रवार राति अवेरसम्म बसेको बैठक निश्कर्षको नजिक पुगेको छ ।
यसअघिका वार्तामा अड्किएको विषय आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्न वातावरण बनेसँगै वार्ताले सकरात्मक दिशा लिएको हो । नवनियुक्त डीन केपी सिंहले राजीनामा दिएसँगै केसीको माग पूरा गर्न सहज भएको हो । त्यस्तै आइओएममा डीन नियुक्त गर्न त्रिविले केसीले भने झैं स्वतन्त्र विज्ञको नेतृत्वमा आजै सर्च कमिटि बनाएर भोलि बिहानसम्ममा डिन नियुक्ति गर्नेगरी दुईपक्षमा सहमति भएको छ । केसीले डीन नियुक्त नहुँदासम्म अनशन नतोड्ने बताएकाले भोलि नयाँ डिन बनेसँगै अन्तिम सम्झौता हुने बुझिएको छ । यसैका लागि केसी पक्षसँग अन्तिम सम्झौताको मस्यौदा बनाउन त्रिवि उपकुलपति तीर्थ खनियाँ, स्वास्थ्य मन्त्री गगन थापा, वार्ताटोलीका सदस्यहरु शुक्रबार मध्यरातसम्म बैठक बैठक बसेका थिए । त्रिविले हिजै कार्यकारी परिषद्को आकस्मिक बैठक बोलाएर सर्च कमिटिले दिएको नाम मध्ये एकजनालाई डीन बनाउने तयारी गरेको भएपनि डीन नियुक्ति भने हुन सकेन । 'केसीले भनेको जस्तो जेपी अग्रवाललाई डीन बनाउने भन्या यो त्यसैलाई विधिपूर्वक गराउने प्रकृया हो ।' स्रोतले भन्यो ।
स्रोतका अनुसार केसीले अघि सारेका १ नं माग बाहेक अन्यमा सहमतिको आठ बुँदे ड्राफ्ट तयार पारेर केसीलाई देखाउन उनका सहयोगीको एउटा टोली राति अबेर शिक्षण अस्पताल पुगेको थियो । टोलीमा केसी पक्षीय वार्ताटोलीका सदस्य जीवन क्षेत्री, रञ्जन सापकोटा तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष अन्जनीकुमार झा लगायत रहेका थिए । ड्राफ्टमा केसीसँग सरकारले यसअघि सम्झौता गरेकै विषयहरु छन् । 'अख्तियार प्रमुख माथिको महाअभियोग प्रकृयामा रहेकाले कनुै कुरा नै भएन,' वार्ताटोलीका एक सदस्यले भने, 'अरु विषयहरुमा मोटामोटी सम्झौताको ड्राफ्ट बनेको छ ।'
मेडिकल शुल्कको विषय केही दिन अघि आइओएमले सूचना निकालेर यसअघिकै लागू गराइसकेको छ । आइआएमको स्वायत्तता, मेडिकल कलेजका सम्बन्धन लगायतमा यसअघिकै जस्तो सम्झौताको मस्यौदा बनाइएको छ । जयराम गिरी समितिले दोषी ठहराएका आइओएमका पूर्व पदाधिकारीलाई कार्वाही गर्न अख्तियारलाई चिठी लेख्ने सहमति भएको छ । पहिलो नंम्बरको मागका विषयमा भने डीन नियुक्ति भएसँगै केसीले त्रिवि उपकुलपतिलाई बर्खास्त गर्नुपर्ने माग छाड्नुपर्ने सरकारी शर्त छ । यीनै विषयमा केसीलाई फकाउन यसअघिका अनशनमा नेतृत्वदायी भूमिका खेलेका डा. अञ्जनी झा समेत शिक्षण अस्पताल पुगेका छन् ।
मस्यौदा लिएर राति शिक्षण अस्पताल पुगेको वार्ताटोली सँग केसीले पहिलो नम्बरको मागमा सहमति नजुटेसम्म अरु मागमा हस्ताक्षर नगर्ने जवाफ दिएको उनीनिकट स्रोतले जनाएको छ ।। आज माइतिघरमा र्याली गर्ने कार्यक्रम भएकाले केसी अनसन तोडेपनि त्यसपछिमात्र तोड्ने 'मूड'मा रहेको बुझिएको छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।