डा. केसीको समर्थनमा देशभरका चिकित्सक, स्वास्थ्य संस्था चिकित्सक बिहीन हुँदै (फोटो फिचर)
काठमाण्डौं, १७ मंसिर । २० दिनदेखि आमरण अनसनरत शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षार्थ देशका विभिन्न स्थानका प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
सबै सरकारी अस्पताल, शिक्षण अस्पतालका चिकित्सक आन्दोलित भएपछि स्वास्थ्य संस्थाहरु विस्तारै चिकित्सक विहीन भएका छन् ।
सरकारसँग पटक पटक वार्ता हुदा पनि केसीका मागका विषयमा सहमति नजुट्दा केसीको स्वास्थ्य अवस्था नाजुक हुदै बन्दै गएको छ ।
केसीको समर्थनमा हिजोयतामात्र प्राथमिक स्वास्थ्य चौकी धादिङ्ग, प्राथमिक स्वास्थ्य चौकी सल्यानटार धादिङ्ग, चितवन, जिल्ला अस्पताल धनकुटा, जिल्ला अस्पताल कपिलवस्तु, उदयपुर, जनकपुर, अछाम जिल्ला अस्पताल, बझांग जिल्ला अस्पताल, अर्घाखाचीँ लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीले काम छाडिसकेका छन् ।
त्यसैगरी मकवानपुर, गोरखा जिल्ला अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर, मेडिकल अफिसर एसोशियसन कास्की, लम्जुङ्ग, दमौली अस्पताल तनहुँ लगायत देशका धेरै जिल्लामा पनि कडा विरोध सुरु भएको छ । केसीको समर्थनमा विरोधमा उत्रने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या थपिदै गएका छन् ।
डा. केसीको जीवन अत्यन्त गम्भीर मोडमा पुगिसकेको अवस्था पनि राज्यलगायत सम्बद्ध पक्षमा आवश्यक संवेदनशीलता नदेखिनु विडम्बना भएको भन्दै जीवनरक्षाका लागि उनीहरु आन्दोलित भएका हुन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>