शुक्रबारबाट सरकारी चिकित्सक संघ पनि आन्दोलनमा
देशभरि शुक्रवार र शनिबार आकस्मिक बाहेकका सेवाहरु बहिष्कार
काठमाडौं, १६ मंसिर । सरकारी चिकित्सक संघ नेपालले डा. गोविन्द केसीको माग र जीवन रक्षाको लागि राज्यपक्ष बढी जिम्मेबार हुनुपर्ने माग गरेको छ । सरकारले माग पुरा गराई डा. केसीको अनशन तोडाउने काम नगरे शुक्रवार र शनिवार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवाहरु बहिष्कार गर्ने जनाएको छ ।
आज विज्ञप्ती निकाल्दै संघले २ दिन बहिरंग सेवाको समयमा अस्पतालहरुको प्राङ्गनमा भेला भई हातमा कालो पट्टि बाँधेर डा. केसीको जीवन रक्षाको माग गर्ने जानकारी दिएको छ । संघले विज्ञप्तीमा आफ्ना सम्पूर्ण सदस्यहरु र अस्पतालका सम्पूर्ण कर्मचारीहरुलाई आन्दोलनमा सहभागी हुन अपिल गरेको छ ।
देशमा निष्ठावान व्यक्तिको खडेरी परेको अहिलेको समयमा डा. केसीको जीवन रक्षाको बिषयले प्राथमिकता पाउनुपर्ने संघको भनाई छ । डा. केसीको मुटुको चाल बिग्रिन थालिसकेपछि संघले सरकारी चिकित्सक पनि बिचलित नभई नियमित बिरामी जाँचीरहन सम्भव नहुने भन्दै डा. केसीको समर्थनमा २ दिन आकस्मिक बाहेकका सेवाहरु बहिष्कार गर्ने भएका हुन् ।