डा. केसीको समर्थनमा चितवनमा लालटिन र्याली
आजदेखि कडा आन्दोलन
चितवन, १५ मंसिर । डाक्टर गोविन्द केसीको मागको समर्थन तथा उनको जीवन रक्षाको माग गर्दै चितवनमा डाक्टरहरुले लालटिन र्याली निकालेका छन् । मेडिकल शिक्षामा सुधारको माग गर्दै १० औँ पटक अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदा समेत सरकारले उनको माग सम्बोधन गर्न ध्यान नदिएको भन्दै चितवनका डाक्टरहरुले बुधबार बिहान लालटिन र्याली निकालेका हुन् ।
पछिल्लो पटक डाक्टर केसी अनसन बसेको १८ दिन भैसक्दा समेत सरकारले उनको मागका सम्बन्धमा वास्ता नगरि सरकार अन्धो भएकाले सांकेतिक रुपमा लालटिन ¥याली गरिएको राष्ट्रिय चिकित्सक संघ नेपाल चितवन शाखाका अध्यक्ष डाक्टर प्रकास खतिवडाले बताए । सम्पूर्ण स्वास्थ्यकर्मी, नागरिक समाजको अगुवाईमा भरतपुरको चौबिसकोठीबाट भरतपुर अस्पतालसम्म लालटिन ¥याली निकालिएको थियो ।
आजैदेखि कडा आन्दोलन गर्ने
र्यालीका सहभागीहरुले टर्च, इमरजेन्सी लाइट तथा मोबाइलको फ्ल्यास बालेर सरकारको विरोध गरेका थिए । बिहीबारदेखि भरतपुरका अस्पतालमा ओपीडी सेवा बन्द गरेर आन्दोलन गर्ने कि अस्पताल बाहिर ओपीडी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रीय कार्यसमितिसँग छलफल भइरहेको राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रीय सदस्य डाक्टर कृष्ण प्रसाद पौडेलले बताए । केन्द्रको निर्णय अनुसार जिल्लामा समेत आन्दोलन गरिने डाक्टर पौडेलको भनाइ छ । निरन्तर अनसन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा पनि सरकारले उनले राखेका माग सम्बोधन गर्न ध्यान नदिएकोले बिहीबारदेखि कडा रुपमा आन्दोलन गर्ने राष्ट्रिय चिकित्सक संघ नेपाल चितवन शाखाका सचिव डाक्टर भोजराज अधिकारीले बताए ।
आकस्मिक बाहेकका सबै सेवा बहिस्कार
त्यस्तै, रेजिडेन्ट डक्टर्स एशोसिएसन (आरएएन) चितवनले आजैदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरि आन्दोलनमा उत्रिएका छन् । आरएएन चितवनसँग आवद्ध सम्पूर्ण डाक्टरहरुले आकस्मिक सेवामा काम गर्दा समेत विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेको डाक्टर विष्णु भण्डारीले जानकारी दिए । डा. केसीले आफ्ना १०औँ अनसनका क्रममा चिकित्सा शिक्षामा सुधारको लागि त्रिवि उपकुलपति डा. तीर्थ खनिया र आइओएमका डिन डा. केपी सिंहलाई पदबाट हटाउनुपर्ने लगायतका १० बुँदे माग राख्दै आएका छन् । डा. केसीले आफ्ना माग पुरा नभएसम्म अनसन नतोड्ने अडान राख्दै आएका छन् ।