डा. केसीको जीवन रक्षार्थ बुधवारबाट देशव्यापी आन्दोलन थालिने
काठमाडौं, १४ मंसिर । चिकित्सकहरुको विभिन्न संघ संस्थाले बुधवारबाट देशव्यापी आन्दोलन गर्ने तयारी गरेका छन् । स्वास्थ क्षेत्र र मेडिकल शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको दसौं अनसनको १७औं दिनसम्म पनि माग सम्वोधनमा सरकार जिम्मेवार नदेखिएको भन्दै बुधवारबाट निर्णायक आन्दोलनको तयारी गरेका हुन् ।
सरकार अनेक बाहाना गर्दै पन्छिरहँदा डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको र उनको जीवन रक्षासँगै डा. केसीको माग पुरा गराउन ससक्त आन्दोलन गर्नुपर्ने आवश्यक रहेका निष्कर्ष निकालेका हुन् ।
नेपाल रेसिडेन्ट डक्टर एशोसिएसन्,रेसिडेन्ट्स एशोसिएसन् अफ न्याम्स, जुनियर रेसिडेन्ट्स वेलफेयर सोसाईटी, नेपाल मेडिकल स्टुडेन्ट्स सोसाईटी, नेशनल डक्टर्स एशोसिएसन् नेपाल, डक्टर्स सोसाईटी अफ नेपाल लगायत ९ भन्दा बढी चिकित्सा क्षेत्रका संघ संगठनहरुले आन्दोलनमा सहभागी जनाउने भएका छन् । ती संघ संगठनहरुले नेपाल चिकित्सक संघलाई पनि ससक्त आन्दोलनका लागि आफ्नो भूमिका निर्वाह गर्न माग गरेका छन् ।