डा. केसीको माग सम्वोधन नभए बिहीबारबाट आकस्मिक बाहेक सबै सेवा ठप्प

स्वास्थ्य र शिक्षा मन्त्री मेडिकल माफियाको  पक्षपोषणमा लागेको चिकित्सकहरुको आरोप



Download our app to get more features

चितवन, १४ मंसिर । 
स्वास्थ्य र शिक्षा मन्त्री मेडिकल माफियाको  पक्षपोषणमा लागिपर्दा डा. गोविन्द केसीको माग सम्वोधन गर्न नसकेको भन्दै चितवनको भरतपुर चिकित्सक र औषधि व्यवसायीहरुले प्रदर्शन गरेका छन् । भरतपुरबाट निकालिएको ¥यालीमा डाक्टर, नर्स, सर्वसाधारण, औषधि व्यवसायी, एम आर, नर्सिङका विद्यार्थीलगायतका व्यक्तिहरु साइकल, मोटरसाइलक, कार लिएर ¥यालीमा सहभागी भएका थिए । भरतपुरको गेष्ट हाउस चौरबाट सुरु भएको ¥याली चौबिसकोठी, लायन्सचोक, शहीदचोक हुँदै पुलचोक पुगेर पुनः शहीदचोक, लायन्सचोक, चौबिसकोठी हुँदै पूरानो मेडिकल कलेज परिक्रमा गरेर भरतपुर अस्पतालमा पुगेर सभामा परिणत भएको थियो । 

भरतपुर अस्पतालमा भएको सभालाई सम्बोधन गर्दै राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रीय सदस्य डाक्टर कृष्ण प्रसाद पौडेलले  अन्धो भएर बसेकाले सरकारले गोविन्द केसीको आन्दोलनको बेवास्ता गरेको बताए । पौडेलले भने, ‘सरकार, स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीहरु नेपालीको मन्त्री नभइ माफियाको मन्त्री भएकोले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि पनि आफूहरुले आन्दोनल थाल्नु परेको हो’ । शिक्षण अस्पताल काठमाडौँका प्राध्यापक डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै ऐक्यवद्धता जनाउनेहरुको संख्या चितवनमा बढ्दै गइरहेको छ । डाक्टर केसीले सुरु गरेको आन्दोलनमा चितवनका चिकित्सकहरुले सुरु गरेको ऐक्यवद्धतामा मंगलबारसम्म  विभिन्न पेशागत तथा स्वतन्त्र संगठनहरुले समर्थन जनाइसकेका छन् । 

त्यस्तै नेपाल औषधि विक्री प्रतिनिधि संघ चितवनका अध्यक्ष किरण श्रेष्ठले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि चिकित्सकहरुले गरेको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएको छ । त्यस्तै आरएएनका जिल्ला अध्यक्ष विष्णु भण्डारीले डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै आफूहरुले ओपिडीमा बिरामी नजाँच्ने बताए । डाक्टर गोविन्द केसीले सबै नेपालीको हितलाई ध्यानमा राखेर आफ्नो जीवन दाउमा राख्दै अनसन बसेका कारण उनको जीवन जोखिममा परेकोले उनको जीवन रक्षाको लागि सबैले पहल गर्नुपर्ने भएकाले देश भरिका चिकित्सकले डा. केसीको आन्दोलनलाई साथ दिने बताए ।

चिकित्सक संघ नेपाल चितवनका अध्यक्ष डाक्टर प्रकाश खतिवडाले राष्ट्र र स्वास्थ्यका लागि आन्दोलन गर्ने व्यक्तिको जीवन जोखिममा परेका कारण सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलित बनेको बताए । आन्दोलनरत चिकित्सकहरुले केसीको माग सम्बोधन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । माग सम्वोधन नभए बिहीबारदेखि भरतपुर अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने बताएका छन् । 

Last modified on 2017-07-31 13:56:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts